१४ असार २०८१ शुक्रबार
image/svg+xml
खेल

‘हार नै जित निकाल्ने प्रेरणा’

श्रीलंका क्रिकेट टोलीका प्रशिक्षक क्रिस सिल्भरउडले एसिया कप फाइनलमा भारतसँगको लज्जास्पद हार नै आफ्नो टोलीका लागि आयोजकविरुद्ध विश्वकपमा जित निकाल्ने मुख्य प्रेरणा बन्ने धारणा राखेका छन् ।

श्रीलंकाले जारी विश्वकप क्रिकेटमा बिहीबार अपराजित टोली भारतसँग मुम्बईमा सामना गर्दै छ । क्षेत्रीय प्रतियोगिता एसिया कप फाइनलमा गत सेप्टेम्बरमा भारतसँग प्रतिस्पर्धा गर्दा श्रीलंका ५० ओभरको खेलमा ५० रनमा नै समेटिँदा १० विकेटको लज्जास्पद हार सामना गर्न बाध्य भएको थियो । जारी विश्वकपमा श्रीलंकाले ६ खेलमा दुई जित मात्र निकालेको छ । पछिल्लो खेलमा अफगानिस्तानसँग नतिजा सुम्पिएको श्रीलंकाले आयोजक राष्ट्रसँग खेल्न लागेको हो । यता, आयोजक भारतले भने जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

६ खेलमा नै अपराजित भारतलाई यस पटक बलियो दाबेदारका रूपमा हेरिएको छ । यस क्रममा भारतले पछिल्लो खेलमा डिफेन्डिङ च्याम्पियन इङ्ल्यान्डमाथि नै रबाफिलो जित निकालेको थियो । त्यसैले श्रीलंकाविरुद्ध भारत उच्च मनोबलका साथ उत्रनेछ । त्यो खेलमा भारतलाई हराउनु श्रीलंकाका लागि निकै चुनौती रहनेछ । यद्यपि, श्रीलंकाका प्रशिक्षक सिल्भरउडले भने गत एसिया कप फाइनलमा बेहोरेको हार नै श्रीलंकाका लागि जितको प्रेरणा बन्न सक्ने विश्वास प्रकट गरे ।  

‘यसपटक केटाहरू एसिया कप फाइनलमा बेहोरेको हारबाट बाहिर आउनेछन् । त्यो हारबाट प्रेरणा लिएर लड्ने आशा गरेको छु,’ सिल्भरउडले भने, ‘उच्च मनोबलले भारतमाथि दबाब बनाउनेछ ।’ भारत अहिले निकै बलियो टोली भएकाले उनीहरूलाई हराउँदै आफूलाई प्रमाणित गर्न श्रीलंकासँग पनि ठूलो अवसर रहेको उल्लेख गरे । ‘भारत धेरै बलियो टोली हो भन्ने हामी सबैलाई थाहा छ । जारी विश्वकपमा भारतको उत्कृष्ट क्रिकेट सबैले देखेका छन्,’ श्रीलंकन प्रशिक्षक सिल्भरउडले भने, ‘त्यसैले यसपटक उनीहरूविरुद्ध उत्कृष्ट क्रिकेट खेल्दै आफूलाई प्रमाणित गर्न श्रीलंकासँग अवसर छ ।’

श्रीलंका सन् १९९६ को विश्वविजेता हो । त्यसयता श्रीलंकाले सन् २०११ को विश्वकप फाइनल खेले पनि महेन्द्रसिंह धोनीको नेतृत्वमा रहेको भारतसँग वाङ्खडे स्टेडियममा पराजित भएको थियो । त्यसबाहेक भने श्रीलंकाका लागि विश्वकप यादगार बन्न सकिरहेको छैन । जारी विश्वकपमा पनि श्रीलंकाले खराब प्रदर्शन गरिरहेको छ । सन् २०११ को फाइनल हारेको स्टेडियममा नै श्रीलंकाले बलियो टोली भारतसँग सामना गर्दै छ । सिल्भरउडले आफ्नो विश्वकप इतिहासबारे टोली राम्रोसँग जानकार रहेको उल्लेख गर्दै सोही इतिहासलाई स्मरण गर्दै आफ्ना खेलाडीहरू उत्प्रेरित हुने विश्वास गरेको छ ।  

‘खेलाडीहरू आफ्ना विगतका इतिहासबारे राम्रोसँग जानकार छन् । यसबारे उनीहरू कुरा पनि गर्छन् । श्रीलंकाका लागि वाङ्खडे यादगार स्टेडियम हो । तर, यहाँ बिहीबार खचाखच घरेलु दर्शक पनि हुनेछन्,’ श्रीलंकाका प्रशिक्षक सिल्भरउडले भने, ‘जब खेलाडीहरू यो स्टेडियमको मध्य भागमा उभिनेछन् र त्यहाँ इतिहास सम्झेर नै आफूलाई उत्प्रेरित गर्नेछन् ।’ अफगानिस्तानसँग हार बेहोर्नुअघि श्रीलंकाले पनि डिफेन्डिङ च्याम्पियन इङ्ल्यान्डमाथि आठ विकेटको रबाफिलो जित निकाल्दै आफ्नो उत्कृष्टता प्रदर्शन गरेको थियो । यद्यपि, अफगानिस्तानसँग पनि नतिजा सुम्पिन बाध्य भयो ।

अफगानी टोलीले श्रीलंकालाई २४१ रनमा अलआउट गर्दै मात्र तीन विकेटको क्षतिमा २८ बलअगाडि नै नतिजा निकाल्यो । श्रीलंकाको सेमिफाइनलमा सम्भावना झीनो छ । बिहीबार भारतलाई हराउँदै श्रीलंका त्यो झीनो आशालाई जीवन्त राख्ने प्रयासमा हुनेछ । ‘अफगानिस्तानसँगको नतिजाले हामी सबै निरास रह्यौं । किनकि त्यो खेलमा हामी कुनै पनि पक्षमा पनि सुखद रहेनौं,’ सिल्भरउडले भने,‘त्यो हारबारे हामीले ड्रेसिङ रुम, अभ्यास गर्ने मैदानमा कुरा गर्यौँ। गल्तीहरू पनि सुधारेका छौं । त्यसैले बिहीबारको खेलका लागि हामी तयार छौं ।’ श्रीलंकाका लागि सदिरा समाराविक्रमाको प्रदर्शनमा एकरूपता छ । जारी विश्वकपमा उनले एक शतक र दुई अर्धशतकसहित कुल ३३१ रन जोडेका छन् । 

प्रकाशित: १६ कार्तिक २०८० ०१:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App