१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

सिंगापुरमाथि नेपालको शानदार विजय

सिंगापुरको विकेट लिएपछि नेपाली खेलाडी। तस्बिर :क्यान

सन् २०१४ पछि ट्वान्टी–२० विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपालले सोमबार सिंगापुरमाथि आठ विकेटको जित निकाल्दै आइसिसी ट्वान्टी–२० विश्वकप छनोटअन्तर्गत एसिया क्वालिफायरमा सुखद सुरुआत गरेको छ।

नेपाली क्रिकेटको सबैभन्दा यादगार क्षण बंगलादेशमा सन् २०१४ मा सम्पन्न ट्वान्टी–२० विश्वकप खेल्नु हो। त्यसयता, सम्पन्न तीन संस्करणमा भने नेपाल छनोट हुन असफल रह्यो। तर, १० वर्षपछि फेरि नेपालले छोटो फरम्याटको विश्वकपमा छनोट हुने लक्ष्य राखेको छ। पछिल्लो समय विश्व क्रिकेटका ठूला प्रतियोगिताका साथै विश्वस्तरीय राष्ट्रसँग खेलेकाले नेपालको दाबेदारी बलियो पनि देखिन्छ। आइसिसी विश्वकप लिग–२ को शीर्ष तीन स्थानमा रहँदै विश्वकप छनोट खेलेको नेपालले त्यसलगत्तै एसिया कपमा पनि स्थान बनाएको थियो।

नेपालले एसिया कप डेब्युमा नै आफ्नो प्रदर्शनबाट विश्व क्रिकेट जगत्मा केही छाप छोडेको छ। भारतीय प्रशिक्षक मोन्टी देसाईको आगमनपछि उकालो लागेको नेपाली क्रिकेटको तेस्रो लक्ष्य हो, सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजले संयुक्त रूपमा आयोजना गर्ने ट्वान्टी–२० विश्वकपमा छनोट हुनु। नेपालको लक्ष्यमा घरेलु मैदान महŒवपूर्ण कारक पनि बन्न सक्छ। किनकि नेपालले विश्व लिग–२ र एसिया कपको यात्रा घरेलु मैदानमा नै सम्पन्न छनोटबाट प्राप्त गरेको हो। घरेलु मैदानमा नेपालको प्रदर्शनमा आत्मविश्वास देखिने गर्दछ।

नेपाली दर्शक । 

प्रतियोगिताअगाडि नै नेपालका कप्तान रोहित पौडेलले जसरी पनि विश्वकपमा छनोट हुने लक्ष्य रहेको उल्लेख गरेका थिए। सिंगापुरसँगको जितपछि नेपालका अलराउन्डर गुल्सन झाले पनि शतप्रतिशत नै विश्वकपमा छनोट हुने विश्वास व्यक्त गरेका छन्। नेपाली क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले पनि हरेक खेल फाइनलसरह नै खेल्ने उल्लेख गर्दै आत्मविश्वास देखाए। त्यसैले सिंगापुरसँगको सहज जित नेपालका लागि सुखद संकेत पनि हुन सक्छ। सोमबार जित निकालेपछि कुशलले सबै खेल फाइनलसरह नै खेल्ने प्रतिक्रिया दिएका हुन्।

‘पहिलो खेलमा सबैले राम्रो खेल्यौं। हामीले हरेक खेल फाइनल जसरी खेल्छौं,’ कुशलले भने, ‘आगामी खेल पनि त्यही अनुसार खेल्नेछौं।’ कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा १४५ रनको लक्ष्य नेपालले १६.३ ओभरमा मात्र दुई विकेटको क्षतिमा पूरा गर्दै जारी विश्वकप छनोटमा सुखद सुरुआत गरेको थियो। नेपालले २१ बलअगावै यो सफलता पाएको हो। नेपालको जितमा कुशलले ४८ बलमा ७५ रन बनाए। उनको इनिङमा आठ चौका र दुई छक्का रह्यो। नेपाललाई जितका लागि पाँच रन आवश्यक हुँदा उनी अन्ततः कृष्णको बलमा आउट भए।  

तर, लगत्तै ब्याटिङ गर्न आएका कुशल मल्लले पहिलो बलमा नै छक्का प्रहार गर्दै जित सुरक्षित गराए। ओपनर भुर्तेलले प्रशिक्षक मोन्टी देसाईको लगातारको भरोसालाई सही साबित गर्न सकेकोमा खुसी लागेको बताए। ‘मूलपानीमा पछिल्ला खेलहरू मेरा लागि राम्रो भइरहेको थिएन। मैले राम्रो रन बनाउन सकिरहेको थिइनँ,’ कुशलले भने, ‘तर, मोन्टी सरले ममाथि विश्वास गरिराख्नुभयो। त्यो विश्वासअनुरूप गत त्रिकोणात्मक शृंखलाको फाइनल र आज केही गर्न सकेँ। त्यसैले खुसी लागेको छ।’

कुशलले सिंगापुरविरुद्ध ७४ रनको अर्धशतक प्रहार गरेका थिए। गत त्रिकोणात्मक शृंखलाको फाइनलमा पनि उनले संयुक्त अरब इमिरेट्स (युएई)सँग ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए। लगातार अर्धशतक प्रहार गरेका कुशलले डेढ वर्षपछि पहिलो विकेटका लागि आसिफ सेखसँग ८४ रनको अर्धशतकीय साझेदारी पनि गरेका छन्। कुशलले आसिफ शेखसँग पछिल्ला २÷३ वर्षदेखि नियमित ओपनिङ गरिरहेकाले एकअर्काप्रति राम्रो कम्युनिकेसन हुने गरेको बताएका छन्।

अर्धशतक बनाएपछि कुशल भुर्तेल ।  

सिंगापुरसँगको खेलअगाडि नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी घाइते हुन पुगेका थिए। अभ्यासका क्रममा गोलीगाँठोमा चोट बोकेका दीपेन्द्रको पुनरागमनबारे अहिले नै केही भन्न नसकिने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। कुशलले वर्षको अन्तिम प्रतियोगिताका रूपमा रहेको विश्वकप छनोटमा नेपालका महŒवपूर्ण अलराउन्डर दीपेन्द्रसिंह चोटग्रस्त हुँदा निकै दुःख लागेको बताए।

बिहान फिल्डिङ गर्दा दीपेन्द्रको एन्कलमा चोट लागेको थियो। नेपाली राष्ट्रिय टोलीका अलराउन्डर गुल्सन झाले आफूहरू शतप्रतिशत विश्वकपमा छनोट हुने बताएका छन्। नेपालको इनिङमा आसिफले २७ रन र कप्तान रोहित पौडेलले २४ बलमा ३५ रन बनाएपछि नेपालले सहज जित निकालेको थियो। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रनको मध्यम योगफल खडा गर्‍यो।

खराब सुरुआत गरेको सिंगापुरका लागि ओपनर रोहन रंगराजनले सर्वाधिक ४६ रनको योगदान दिए। मनप्रीत सिंहले २४ रन र आर्यावीर चौधरीले ३७ रन जोडे। त्यसबाहेक अन्य ब्याटर भने क्रिजमा जम्न सकेनन्। नेपालको इनिङमा अविनाश बोहोराले तीन विकेट तथा सन्दीप लामिछाने, गुल्सन झा र करण केसीले समान दुई विकेट लिए। समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल जित्दै सुखद सुरुआत गरेको छ। यो समूहमा नेपालसहित मलेसिया, ओमान र सिंगापुर छन्।

यो समूहको बलियो दाबेदार मानिएको ओमानले मलेसियामाथि ३२ रनको जित निकाल्दै सुखद सुरुआत गरेको छ। नेपालले आफ्नो दोस्रो खेल मलेसियासँग खेल्नेछ। यो खेल जित्दै नेपाल सेमिफाइनलका लागि बलियो दाबेदारी प्रस्तुत गर्न चाहन्छ।समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनलमा पुग्ने दुई राष्ट्रले आगामी सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन्।  

प्रकाशित: १४ कार्तिक २०८० ०१:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App