आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोट आजबाट काठमाडौँमा सुरु हुँदैछ। ८ टोली सहभागी हुने छनोटको उद्घाटन खेलमा आज नेपाल र सिङ्गापुरबीच प्रतिस्पर्धा हुँदैछ।
किर्तिपुरस्थित त्रिवि मैदानमा हुने आजको खेल बिहान ९ बजे सुरु हुनेछ। पछिल्लो समय शानदार प्रदर्शन गर्दै आएको नेपाली टोलीले आफ्नो घरेलु मैदानमा जितका लागि हरेक प्रयास गर्ने बताएको छ।
यस्तै युएई र बहराइनबीचको खेल पनि बिहान ९ बजे नै सुरु हुनेछ। युएई र बहराइनबीचको खेल मूलपानी क्रिकेट मैदानमा हुनेछ।
आजकै अन्य खेलमा ओमान र माल्दिभ्स तथा हङकङ र कुवेतबीच प्रतिस्पर्धा हुनेछ। ओमान र माल्दिभ्सबीचको खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ः १५ बजे सुरु हुनेछ भने हङकङ र कुवेतबीचको खेल सोही समयमा मूलपानी मैदानमा हुनेछ।
समूह ‘ए’ मा नेपालसहित मलेसिया, ओमान र सिङ्गापुर रहेका छन् भने समूह ‘बी’ मा युएईसँगै बहराइन, हङकङ र कुवेत छन्। एसियाली छनोटका खेलहरू मूलपानी माथिल्लो मैदान र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछन्।
समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनलमा पुग्ने दुई राष्ट्र आगामी सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन्। आफ्नै भूमिमा आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा स्थान बनाउने नेपालको लागि यो सुनौलो मौका हो।
प्रकाशित: १३ कार्तिक २०८० ०१:४९ सोमबार