२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
खेल

सप्तरी र सर्लाहीबीच उपाधि भिडन्त

नारदमुनि गोल्डकप

यहाँ जारी ‘नवौँ नारदमुनि राई स्मृति गोल्डकप प्रतियोगिता’को उपाधिका लागि बाग्मती र सप्तरीबीच प्रतिस्पर्धा हुने भएको छ। अघिल्लो दिउँसो सकिएको अन्तिम सेमिफाइनलमा त्रियुगा न्यु  स्पोटर्स सप्तरी र दुई दिनअघिको पहिलो सेमिफाइनलमा बाग्मती फुटबल क्लब विजयी भएपछि उपाधिमा यी दुई क्लबको भिडन्त हुन लागेको हो।

असोज २७ देखि चौदण्डीगढी नगरपालिका ४ बसाह बर्खेडाँडास्थित नारद स्मृति रंगशालामा भइरहेको प्रतियोगिताको अन्तिम सेमिफाइनलमा उदयपुरको कटारी फुटबल क्लबलाई पराजित गर्दै त्रियुगा न्यु स्पोटर्स क्लब सप्तरी फाइनलमा प्रवेश गरेको हो। कटारीलाई ३–० को अन्तरले पराजित गर्न सप्तरीका खेलाडीहरू फोफोना र फोफोना इब्राहिमले गोल गरेका थिए।

खेल सुरु भएको छैटौं मिनेटमै सप्तरीको तर्फबाट विदेशी खेलाडी फोफोनाले पहिलो गोल गरेका थिए भने २५औं मिनेटमा दोस्रो गोल गर्ने फोफोना इब्राहिमले ३७ औं मिनेटमा तेस्रो गोल गरेका थिए।

मध्यान्तरअघि नै ३ गोल गरिसकेको सप्तरीविरुद्ध कटारीले निकै प्रयास गर्दा पनि गोल गर्न सकेन। जितको पर्याप्त आधार बनाइसकेको सप्तरीले मध्यान्तरपछिको मिहिनेत कटारीलाई गोल गर्नबाट रोक्नमै बिताउँदै विपक्षीलाई स्तब्ध बनाउन सफल भयो।

दुई दिनअघिको पहिलो सेमिफाइनल खेलमा बाग्मती फुटबल क्लब सर्लाही फाइनल प्रवेश गरिसकेको छ। बुधबार भएको खेलमा आयोजक बसाहा क्लबलाई २–० गोलले पराजित गर्दै बाग्मतीले फाइनल यात्रा तय गरेको हो। बाग्मतीका लागि दीपेश चामलिङ राई एक्लैले ३१ र ३७ औँ मिनटमा २ गोल गरेका थिए।

२००७ सालका क्रान्तियोद्धा स्वर्गीय नारदमुनि राईको स्मृतिमा विगत ९ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगिताको यो संस्करणमा देशका विभिन्न ८ खेलसमूहको सहभागिता रहेको छ। उपाधि विजेता क्लबले ट्रफीसँगै ४ लाख १ हजार नगद पुरस्कार पाउने आयोजक बसाहा क्लबका अध्यक्ष गौतम राईले बताए। उनका अनुसार उपविजेतालाई २ लाख १ हजार नगदसहित विभिन्न विधागत पुरस्कार पनि वितरण गरिनेछ।

प्रकाशित: ४ कार्तिक २०८० ०५:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App