१९ असार २०८१ बुधबार
image/svg+xml
खेल

पौडेल र ऐरीको साझेदारीमा नेपालको सुखद सुरुआत

युएईविरुद्ध बलिङ गर्दै नेपालका कुशल मल्ल।

कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीको महत्त्वपूर्ण साझेदारी प्रेरणामा नेपालले बुधबार संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले हराउँदै त्रिदेशीय ट्वान्टी–२० शृंखलामा सुखद सुरुआत गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । यस क्रममा कप्तान रोहित र दीपेन्द्रले ९३ रनको साझेदारी गर्दै सात बलअगावै जित सुरक्षित गराए । ८.५ ओभरमा नेपाल ५१/३ को अवस्थामा थियो । तर, त्यसपछि क्रिज समालेको यो जोडीले समालिएर ब्याटिङ गर्यो । रोहितले ५१ रन र दीपेन्द्रले ३४ रनको अविजित इनिङ खेले । रोहितले ४० बलमा पाँच चौका र दीपेन्द्रले २३ बलमा तीन चौका र एक छक्का प्रहार गरे । मोहम्मद जवादउल्लाहको बलमा रोहितले विजयी चौका प्रहार गरेका हुन् । उनी खेलको म्यान अफ दी म्याचसमेत भए ।  

त्यसअघि मध्यम लक्ष्य पछ्याएको नेपालको सुरुआत खासै सुखद भने रहेन । ओपनर कुशल भुर्तेल १४ रनमा आउट भए । उनलाई निलन्स केशवानीले अली नासिरबाट क्याचआउट गराए । पहिलो विकेट पतन हुँदा नेपाल ४.२ ओभरमा २४/१ को अवस्थामा थियो । त्यसपछि आएका कुशल मल्ल पनि ११ रनमा नै रनआउट हुन पुगे । उनलाई अली नासिरले रनआउट गरेका हुन् । ६.६ ओभरमा नेपाल ४५/२ को अवस्थामा पुग्यो । खातामा थप ६ रन जोड्दा नेपालले तेस्रो विकेट पनि गुमायो । अर्का ओपनर आसिफ २३ रनमा आउट भए । नासिरको बलमा आउट हुनुअघि उनले दुई चौका र एक छक्का प्रहार गरे । तेस्रो विकेट गुमाएपछि नेपालको रनको गति सुस्त भयो ।

१३ ओभर समाप्तिसम्म नेपाल ८३/ को अवस्थामा थियो । तर, १४औं ओभरपछि नेपालले आक्रामक ब्याटिङ सुरु गर्यो। यस क्रममा नेपालले ५.५ ओभर खेल्दा ६१ रन बटुल्दै सात बलअगावै खेल आफ्नो बनायो । युएईको बलिङमा निलन्स केसवानी र नासिरले समान एक विकेट लिए पनि अन्य बलर विकेटविहीन भए । १३ ओभरसम्म नेपाललाई दबाबमा राखेका युएईका बलर रोहित र दीपेन्द्रसँग निरास भए । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निकै खराब सुरुआत गर्यो ।

यद्यपि, मध्यक्रमका ब्याटर बसिल हामिद र मोहमेद फराजुद्दिनले युएईको इनिङलाई सम्मानजनक योगफलतर्फ अग्रसर गराएका हुन् । २० ओभरमा सात विकेट गुमाउँदा युएईले १४१ रनको योगफल बनाए पनि त्यो जितका लागि पर्याप्त बनेन । निकै खराब सुरुआत गरेको युएईले इनिङको छैटौं बलमा नै ओपनर खालिद शाहलाई शून्यमा नै गुमायो । चौथो ओभरमा युएई दोस्रो विकेट पनि गुमाउन पुग्यो । अलिसान सरफुले ६ रनमै पभेलियन फर्किए । तीव्र गतिका बलर सोमपाल कामी र करण केसीले पहिलो दुई विकेट लिँदै नेपाललाई राम्रो सुरुआत दिलाए ।

नेपालका बलरले सुरुदेखि नै दबाब बनाए । यद्यपि, कप्तान मुहम्मद वासिमले इनिङ समाल्ने प्रयास गरे । तर, उनी पनि १७ रनमा तेस्रो विकेटका रूपमा आउट हुन पुगे । त्यससँगै युएई ६.१ ओभरमा युएई ३६/३ को अवस्थामा पुग्यो । थप १४ रन जोड्दा युएईले चौथो विकेट पनि गुमायो । युवा बलर गुल्सन झाले अर्का अनुभवी ब्याटर आसिफ खानलाई १५ रनमा आउट गर्दै नेपाललाई चौथो सफलता दिलाए । तर, पाँचौं विकेटका लागि नासिर र बसिलले ५६ रनको साझेदारी गर्दै युएईको इनिङ उकासे ।

बसिल ५१ रनको अर्धशतकीय इनिङ खेले । नासिरले ३२ रन जोडे । अन्तिम ओभरमा आउट हुनुअघि बसिलले ३८ बलमा एक चौका र ४ छक्का प्रहार गरे । नासिरको इनिङमा तीन चौका र एक छक्का रह्यो । करण केसीले तीन विकेट तथा गुल्सन झाले दुई विकेट लिँदै किफायती बलिङ गरे । सोमपाल र अविनाश बोहोराले समान एक विकेट लिए । नेपालका बलरले युएईलाई मध्यम योगफलमा रोक्दै जितको आधार बनाए ।  

ब्याटिङमा पनि साथ पाएपछि नेपालले सहज जित निकाल्यो । नेपालले अब दोस्रो खेल बिहीबार नै हङकङसँग खेल्दै छ । आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको एसियाली क्वालिफायरको तयारीमा रहेको नेपालले यो शृंखला उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो दाबेदारी प्रस्तुत गर्न चाहन्छ ।  

प्रकाशित: २ कार्तिक २०८० ००:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App