१० असार २०८१ सोमबार
image/svg+xml
खेल

एथलेटिक्समा फितलो प्रदर्शन

१० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठ । तस्बिर/ नागरिक

१३औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठ र सोमबहादुर कुमालले जारी १९औं एसियाली खेलकुदको एथलेटिक्समा आशातीत प्रदर्शन गर्न सकेनन्।

हानझाउ ओलम्पिक स्पोर्टस सेन्टरमा शुक्रबार सम्पन्न १० हजार मिटर दौडमा सन्तोषीले र चार सय मिटर दौडमा सोमबहादुरले आफ्नै उत्कृष्ट समय पनि निकाल्न सकेनन्। कुल आठ जना सहभागी १० हजार मिटरको दौडमा सन्तोषी छैटौं स्थानमा रहिन्। उनले ३८ मिनेट ४०.१५ सेकेन्डमा दौड पूरा गरिन्। यससँगै उनले आफ्नै ३५ मिनेट ७.९४ सेकेन्डको समय पनि भेट्टाउन सकिनन्। उनले सन् २०१९ मा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा यो समय निकालेकी थिइन्।

एसियाली खेलकुदलाई लक्षित गर्दै सन्तोषीले इथोपिया र युरोपमा प्रशिक्षण गरेकी थिइन्। तर, उनकोे प्रदर्शन सुधारिएन। सन्तोषीले पनि लक्ष्यअनुरूप प्रदर्शन गर्न नसकेको बताइन्। ‘अहिलेसम्मकै राम्रो गर्छु भन्ने लक्ष्य थियो। तर, ‘एन्कल’ मा चोटले गर्दा धेरै समस्या भयो र राम्रोसँग दौडिन नै सकिनँ,’ सन्तोषीले भनिन्, ‘जसरी पनि पार गर्छु भनेर दौड पूरा गरेकी हुँ।’ यसअघि उनलाई चोटले सताए पनि रिकभर भइसकेको थियो।

फेरि, यसै एसियाली खेलकुदबाट समस्या आएको उनी बताउँछिन्। सन्तोषीले आगामी मंगलबार पाँच हजार मिटर दौडमा पनि प्रतिस्पर्धा गर्दै छिन्। तर, चिकित्सकको सल्लाहअनुरूप मात्र सो विधामा प्रतिस्पर्धा गर्ने सन्तोषीले बताइन्। हानझाउमा यस विधामा स्वर्ण विजेता बहराइनकी मोतोसियो किलेन्जोले स्वर्ण, जापानकी हिरोनाकाले रजत र काजखस्तानकी कारोलिन चेपकोइचले कांस्य पदक जिते। मोतोसियाले ३१ मिनेट ४३.७३ सेकेन्डको समय निकालेकी थिइन्।

नेपालका सोमबहादुर कुमालले पनि चार सय मिटर दौडमा हिट चरण नै पार गर्न असफल रहँदा आफ्नो उत्कृष्ट समय पनि निकाल्न सकेनन्। सात खेलाडी सहभागी हिटमा उनी ४८.६८ सेकेन्डको समय निकाल्दै पाँचौं स्थानमा रहे। यस क्रममा उनले दक्षिण कोरिया र किर्गिस्तानका खेलाडीलाई पछि पारे। यद्यपि, उनले सन् २०२३ मा बैंककमा सम्पन्न एसियन च्याम्पियनसिपमा निकालेको ४८.३३ सेकेन्डको समय पनि भेटाउन सकेनन्।

सोमबहादुरले आगामी सोमबार अब आठ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछन्। सोमबहादुरले पनि आफ्नो लक्ष्यअनुरूप प्रदर्शन गर्न नसकेको बताए। ‘काठमाडौंमा नै प्रशिक्षणको समय डेंगी लाग्यो। त्यसपछि शरीरमा केही समस्या पनि भयो। तर, पनि कम्तीमा राष्ट्रिय कीर्तिमान पार गर्छु भन्ने लक्ष्य थियो। तर, सोचेअनुरूप नतिजा आएन,’ सोमले भने।  

ब्याडमिन्ट : प्रिन्स सम्मिलित नेपाल पराजित  

प्रिन्स दाहाल सम्मिलित नेपालको पुरुष ब्याडमिन्टन टोली हानझाउमा जारी १९औं एसियाली खेलकुदको पुरुष टिम प्रतिस्पर्धाबाट बाहिरिएको छ।

बिनजियाम जिम्न्याजियममा शुक्रबार भएको क्वार्टरफाइनलमा नेपाली टोली भारतसँग २–० को सोझो सेटमा पराजित हुँदै बाहिरिएको हो। पहिलो खेलमा माल्दिभ्सलाई हराउँदै भारतसँग भेट पक्का गरेको नेपाली टोलीको प्रदर्शन सन्तोषजनक रहेन। यु–१९ विश्व वरीयतामा पूर्व नम्बर एक खेलाडी प्रिन्सको टोलीले निरीहपूर्ण प्रदर्शन ग¥यो। सबैभन्दा पहिला खेलेका प्रिन्स भारतका लक्ष्य सेनसँग २१–५ र २१–८ ले पराजित भए। दोस्रो सेटमा सुरुआती अग्रता लिएका प्रिन्सले त्यसलाई कायम राख्न सकेनन्।

उक्त सेट पनि उनले सहजै गुमाउन पुगे। दोस्रो खेल खेल्न आएका सुनील जोशीको प्रदर्शन पनि निराशापूर्ण रह्यो। उनले श्रीकान्त किदाम्बीसँग पहिलो सेट २१–४ ले सहजै गुमाए। दोस्रो सेटमा उनले सुधारिएको खेल देखाए पनि आफ्नो पक्षमा पार्न सकेनन्। उक्त सेट पनि सुनीलले २१–१३ ले गुमाएपछि नेपालको हार पक्का भयो। तेस्रो खेलमा विष्णु कटुवालले मिथुन मन्जुनाथसँग २१–२ र २१–७ ले हार बेहोरेपछि नेपालले मेन्स टिम प्रतिस्पर्धा ३–० ले गुमायो।  

गल्फ: नेपालको कमजोर प्रदर्शन  

१९औं एसियाली खेलकुदअन्तर्गत गल्फ खेलमा नेपालले प्रदर्शन कमजोर बनेको छ।  

पार–७२ को वेस्टलेक इन्टरनेसनल गल्फ कोर्समा भएको पुरुष व्यक्तिगत स्पर्धामा शुक्रबहादुर राईबाहेक अन्य खेलाडीले अघिल्लो चरणमा स्थान बनाउन सकेनन्।  दोस्रो दिन शुक्रबार तीन अन्डर ६९ खेलेका शुक्रको ३६ होलमा पाँच अन्डर एक सय ३९ स्कोर छ। पहिलो दिन शुक्रले दुई अन्डर ७० को स्कोर कार्ड राखेका थिए। उनी समग्रमा २९औं स्थानमा रहँदै फाइनल राउन्डमा प्रवेश गरेका छन्।

नेपालले पदकको आशा गरेका सद्भाव आचार्य र सुवास तामाङको प्रदर्शन भने सोचेजस्तो भएन। समग्रमा इभन पार एक सय ४४ खेलेका सुवास र दुई ओभर एक सय ४६ खेलेका सद्भाव व्यक्तिगत स्पर्धाबाट बाहिरिएका छन्। अर्का सहभागी युवराज भुजेल समग्रमा ११ ओभर एक सय ५५ खेल्दै बाहिरिए। नेपाल एसियाड गल्फको पुरुष र महिला टिम स्पर्धाबाट पनि बाहिरिएको छ। महिलातर्फ टिम स्पर्धामा नेपालकी सुष्मा सिग्देल र कश्मिरा शाहले ३६ होलमा समग्रमा ६६ ओभर तीन सय ५४ स्कोर खेले।

दोस्रो दिन शुक्रबार कश्मिराले ११ ओभर ३ र सुष्माले १६ ओभर ८ खेलेका थिए। नेपाल महिला टिम स्पर्धामा १३औं भयो। १४ टोली सहभागी टिम इभेन्टमा नेपालले मंगोलियालाई पछि पारेको हो। एसियाड गल्फको पुरुषतर्पm हङकङका कहो ताइची कुल २२ अन्डर एक सय २२ स्कोरका साथ शीर्ष स्थानमा छन्।  

ई–स्पोर्ट्स: पब्जी मोबाइल प्रतिस्पर्धाको सेमिफाइनलमा

नेपाल हाङझाउमा जारी १९औं एसियाली खेलकुदमा ई–स्पोर्ट्सको पब्जी मोबाइल प्रतिस्पर्धाको सेमिफाइनलमा प्रवेश गरेको छ।

शुक्रबार भएको एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो। सोही समूहबाट हङकङ पनि सेमिफाइनलमा पुगेको छ। नेपालले प्रतिस्पर्धा गरेको समूहमा हङकङ, प्यालेस्टाइन र साउदी अरेबिया थिए। हङकङ शीर्ष स्थानमा रहँदा नेपालले प्यालेस्टाइन र साउदीलाई पछि पार्न सफल भयो। हङकङको ५१ मिनेट ९.९८३ सेकेन्ड, नेपालको ५४ मिनेट ४.८४२ सेकेन्ड, प्यालेस्टाइनको एक घण्टा ४९.५२७ सेकेन्ड र साउदी अरेबियाको एक घण्टा ३ मिनेट ४५.१०७ सेकेन्डको समय रह्यो।

समूह ‘ए’ बाट दक्षिण कोरिया र थाइल्यान्ड सेमिफाइनलमा पुगे। समूह ‘बी’ बाट आयोजक चीन र चाइनिज ताइपेई तथा समूह ‘डी’ बाट जापान र इन्डोनेसियाले सेमिफाइनलमा स्थान बनाएका छन्। अब चार समूहका शीर्ष दुई टोलीबीच दुई समूहमा सेमिफाइनल हुनेछ। सेमिफाइनलको दुवै समूहमा ४÷४ टोलीबीच प्रतिस्पर्धा हुने तय छ। यीमध्ये समूहका शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्। फाइनल चरणमा पनि चार टोलीबीच प्रतिस्पर्धा हुनेछ। फाइनल चरणमा शीर्ष तीन स्थानमा रहने टोलीको पदक पक्का हुनेछ।

आशा गरिएको अधिकांश खेल पदकविहीन रहँदा ई–स्पोर्ट्सबाट भने पदक जित्दै नेपाल सन् १९८६ पछि पहिलो पटक खाली हात फर्कनबाट जोगिन चाहन्छ। पदकको आशा गरिएको पब्जीको नेपाली टोलीमा कप्तान सुविन महर्जन, दीपेश गुरुङ, सागर भण्डारी, समीर गुरुङ र संगिन भट्टराई छन्। नेपाली टोलीका कप्तान सुविन महर्जनले वरीयता पाएको राष्ट्रलाई हराउँदै अगाडि बढ्दा निकै खुसी लागेको बताए। उनले आफ्नो समूहका सबै सहभागी टोली बलियो भएको बताए। ‘हाम्रो टोलीमा सहभागी सबै राम्रा थिए, हामीले वरीयता प्राप्त प्यालेस्टाइनलाई पछि पार्न सफल भयौँ,’ उनले भने, ‘अर्को चरणमा निकै कठिन प्रतिद्वन्द्वी छन्।’

पौडी: सबै हिटबाटै बाहिरिए

पौडीमा शुक्रबार नेपालका नासिर याहा हुसेन हिट चरणबाटै बाहिरिएका छन्।  

हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर अक्वाटिक एरेनामा पुरुष चार सय मिटर फ्रिस्टाइलको हिट–२ मा उनले निर्धारित दूरी चार मिनेट २२.०२ सेकेन्डमा पूरा गरे। उनी आफ्नो हिटमा चौथो भएका थिए। उनी २५ मध्ये २२औं स्थानमा रहे। नासिरको इभेन्ट्ससँगै १९औं एसियाडमा नेपाली खेलाडीको चुनौती समाप्त भएको छ। पौडीमा नेपालबाट चार खेलाडीले आठ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए।

महिला बास्केटबल: नेपाल समूहचरणमा नै सीमित

महिला थ्री बाई थ्री बास्केटबलमा नेपाल समूह चरणको सबै खेलमा पराजित भएको छ।

जिओग्राफिक इन्फर्मेसन पार्क बास्केटबल कोर्टमा समूह ‘बी’ को अन्तिम खेलमा नेपाल चाइनिज ताइपेईसँग २२–२ को फराकिलो अन्तरले पराजित भयो। नेपालले प्रतियोगितामा सबैभन्दा कम स्कोर यही खेलमा ग र्‍यो। नेपालका लागि कप्तान श्रेया खड्का र मीना गुरुङले समान एक स्कोर गरे। यसअघि नै जापान र कजाखस्तानसँग पराजित भएको नेपाल लगातार तेस्रो हारसंगै प्रतियोगिताबाट बाहिरिएको छ। नेपाल पहिलो खेलमा जापानसँग २२–४ तथा दोस्रो खेलमा कजाखस्तानसँग १७–१० ले पराजित भएको थियो।

ह्यान्डबल: नेपाल हङकङसँग स्तब्ध

नेपालले एसियाली खेलकुदअन्तर्गत महिला ह्यान्डबलमा हङकङसँग हार बेहोरेको छ।  

समूह ‘बी’ मा नेपाली महिला टोलीले उपाधि दाबेदार हङकङसँग २७–१८ ले पराजित भएको हो। नेपालले हङकङलाई पहिलो हाफमा रोक्न सकेन। हङकङले पूर्ण रूपमा खेल नियन्त्रणमा राख्दा नेपालविरुद्ध १४–६ को प्रदर्शन ग र्‍यो। दोस्रो हाफमा नेपाली महिला खेलाडीले सुधारिएको प्रदर्शन गरेर हङकङलाई कडा चुनौती दिएका थिए। हङकङको कमजोरीको फाइदा लिए पनि नेपाल १३–१२ ले पराजित भयो।

बक्सिङ: चन्द्रकला पहिलो चरणमै पराजित

१९औं एसियाली खेलकुदको बक्सिङमा नेपालकी चन्द्रकला थापा शुक्रबार पहिलो चरणमै पराजित भएकी छन्।

हानझाउ जिम्न्याजियममा भएको महिला ५७ केजीमुनी तौलसमूहको अन्तिम १६ को खेलमा चन्द्रकला पोर्नतिप बुपासँग ५–० ले पराजित भइन्। १९औं एसियाडमा पदक जित्ने सबैभन्दा बढी अपेक्षासहित प्राथमिकतामा रहेको बक्सिङले निराशाजनक प्रदर्शनमा निरन्तरता दिएको छ। नेपालले बक्सिङबाट पदक जित्ने सम्भावना न्यून छ। पदकको अपेक्षा गरिएको सुष्मा तामाङसहित अहिलेसम्म नेपालका १२ खेलाडी पराजित भइसकेका छन्।

त्यसमध्ये रविन थापाले एक खेल जिते पनि दोस्रो खेलमा उत्तर कोरियाली बक्सरसँग पराजित भए।अब बक्सिङमा नेपालकी सरस्वती राना मगरले शनिबार महिला ७५ केजीमुनि तौल समूहमा क्वार्टरफाइनलमा दिएम क्युन लुसँग प्रतिस्पर्धा गर्नेछिन्।

प्रकाशित: १३ आश्विन २०८० ०१:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App