१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

गृहमन्त्रीलाई पौडेलको प्रश्न: सबै सांसद जेल जाने तीन फाइल खोई ?

‘यो सरकार भ्रष्टाचारका प्रमाण लुकाउनका बनेको हो’

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई सबै सांसद् जेल जाने तीनवटा फाइलबारे प्रश्न सोधेका छन्।

शनिबार कांग्रेस काठमाडौं–६ (ख) को एक कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले यस्तो चुनौती दिएका हुन्। ‘कसैले तीनवटा फाइल खोलेपछि संसद्मा भएका सबै मान्छे जेल जान्छन् भनेको हामीले सुन्यौं,’ पौडेलले भने, ‘फाइल खोल्ने ठाउँमा पुगेपछि ती तीनवटा फाइल कुन हुन ? केही कुरा आएको छैन। फाइल नै खोल्न तयार नभएपछि को-को जेल जान्छन् भनेर थाहा हुने कुरै भएन।’

त्यो अभिव्यक्ति ‘स्टन्ट’ निर्माण गर्नका निम्ति मात्रै रहेको सांसद पौडेलले बताए। यस्तै भनाईले ‘राजनीति भनेको भाषण गर्ने, आफुले भनेको कुरा लागु नगर्ने’ भन्ने कुरा चरितार्थ गरिरहेको उनले दाबी गरे।

‘आफ्ना अभिव्यक्ति के हुन् ? कुनै कुरा किन भनिएको हो ? आज सरकारको मन्त्री उपप्रधानमन्त्रीले संसद्को रोष्टममा उभिएर म उपप्रधानमन्त्री हुँ, उपप्रधानमन्त्री पदको गरिमा राख्नुपर्छ भन्ने स्थिती पनि छैन,’ नेता पौडेलले भने।

भ्रष्टाचारका फाइल खोल्ने नै हो भने गृहमन्त्री लामिछानेलाई गिरिबन्धु टी–इस्टेटको फाइल खोल्न पौडेलले चुनौती दिए। ‘अरु विषय त छानबिन हुन बाँकी छन्, ती विषयहरू उठेजस्तै हुन भन्न सकिन्न। तर गिरिबन्धु टी–इस्टेटलाई त अदालतले फैसला गर्दिसकेको छ,’ उनले भने, ‘भ्रष्टाचारको फाइल खोल्छु भन्नेहरुलाई त्यो फाइल खोल्न के गाह्रो भयो ?’ 

यद्यपि गृहमन्त्री लामिछानेले गिरिबन्धुको फाइल खोल्न खोजे गृहमन्त्री पद नै जाने पौडेको दाबी छ। उनले भने, ‘अब त्यो फाइल खोल्ने होइन, त्यो खोल्यो भने त अहिलेको गठबन्धनको सबैभन्दा ठूलो पार्टीले सरकारको समर्थन फिर्ता लिन्छ। त्यो भयो भने प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री जान्छ। भ्रष्टाचारको फाइल खोल्छु भनेको सत्तामा जानु हो, सत्तामा गएपछि सत्ता नै ढल्नेगरी फाइल खोल्नेवाला छैन।’

सकेसम्म सत्ताले ती प्रमाणहरू लुकाउने पनि उनले दाबी गरे। ‘किनभने यो सरकार भ्रष्टाचारका प्रमाण लुकाउनका लागि बनेको हो,’ पौडेलले भने।

प्रकाशित: ८ असार २०८१ १९:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App