६ श्रावण २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखरा महानगरले ल्यायो पर्यटनमैत्री नीति तथा कार्यक्रम

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पोखरा महानगर प्रमुख धनराज आचार्य।

पोखरा महानगरपालिकाले पर्यटनमैत्री नीति तथा कार्यक्रम ल्याएको छ। महानगरपालिकाको १५ औं नगर सभामा प्रमुख धनराज आचार्यले पर्यटनमैत्री नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

पोखरा महानगरपालिकाले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा गत चैतमा पोखरालाई पर्यटनको राजधानी घोषणा गरेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालबाट घोषणा गराइएको पर्यटनको राजधानीलाई आवश्यक पर्ने पूर्वाधार निर्माणसँगै ब्राण्डिङदेखि प्रचारप्रसार गर्नेसम्मका कार्यक्रमहरु नीति तथा कार्यक्रममा समेटिएका छन्।

पोखरा महानगरपालिकाले नीति तथा कार्यक्रम समाजवाद उन्मुख बनाउने घोषणा गरेको छ। जसका लागि समाजवाद उन्मुख कार्यक्रमको पहिचान गर्दै समन्वयात्मक रुपमा कार्यान्वयन प्रक्रिया अघि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ।

महानगरले पर्यटन राजधानी पोखरा एकीकृत रणनीतिक कार्ययोजना बनाउने भएको छ। एक वडा एक विशिष्ट कार्यक्रम पनि कार्यान्वयन गर्ने महानगरले जनाएको छ।

महानगरले सन् २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गर्ने भएको छ। पोखरा भ्रमण वर्ष सफल बनाउन संघ, प्रदेश सरकार र निजी क्षेत्रसँग सहकार्य गर्दै पोखरामा पर्यटक आगमन संख्या कम्तीमा पन्ध्र लाख पुर्‍याउने पोखरा महानगरपालिकाले नीति लिएको छ।

महानगरले नेपालमा आउने बाह्य पर्यटकहरू मध्ये कम्तीमा पनि ६० प्रतिशत पोखरा आउने वातावरण बनाउने जनाएको छ। जसका लागि सोही अनुरुपको रणनीति अवलम्बन गरिने उल्लेख छ। यसलाई सफल बनाउन महानगरले पार्श्वचित्र अर्थात् टुरिजम प्रडक्ट प्रोफाइल निर्माण गर्ने तथा त्यसको प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

पोखरा महानगरपालिकाले पर्यटनको राजधानीमा पर्यटकीय पूर्वाधार निर्माणका लागि लगानी बैठक आयोजना गर्ने भएको छ। स्वदेशी तथा विदेशी लगानीकर्तालाई सम्भाव्य परियोजनाहरूमा लगानीका लागि प्रोत्साहित गर्न यस्तो बैठक गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। जसका लागि आवश्यक नीतिगत तथा प्रक्रियागत सुधार गरिने पनि जनाइएको छ।

महानगरले प्रमुख पर्यटकीय गन्तव्यहरूको आधिकारिक विवरण तयार गरी महानगर पर्यटकीय गन्तव्य प्रोफाइल बनाउने भएको छ।

फेवातालको उत्तर पश्चिमी खण्डमा मडड्याम निर्माण गर्ने, हर्पनखोला र फेवातालको संगममा फेवाबिच निर्माण गर्ने पनि जनाइएको छ। महानगरले फेवाताल जाने सडकको सहिदचोकदेखि हल्लनचोक सडक खण्डमा र सिद्धार्थचोकदेखि विन्ध्यवासिनी सम्मको सम्पदा बस्ती क्षेत्रमा वैकल्पिक यातायात व्यवस्थापन गर्ने जनाएको छ।

सो क्षेत्रमा हाल रहेको सडकलाई भने पैदलिकरण लागू गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। पोखरा–१ स्थित सीमपानीमा काली गंगा तथा सेती गंगाको जलसिंचित शालिग्राम सहितको “मुक्ती क्षेत्र प्रवेशद्वार” निर्माण गर्ने जनाइएको छ।

महानगरले रत्नमन्दिर र सो परिसरलाई प्यालेस म्युजियमको रूपमा विकास गर्ने नीति लिएको छ। पर्यटन राजधानीको समग्र विकासको लागि पूर्वाधार सुशासन कायम गर्दै पर्यटन पूर्वाधार विकासमा जोड दिइनेपनि महानगर प्रमुख धनराज आचार्यले बताए।

पृथ्वी राजमार्गको पोखरा प्रवेश विन्दु वडा नं-३२ कोत्रे मजुवामा वहुसुविधायुक्त इन्ट्रान्स पार्क निर्माण गरिने उनले उल्लेख गरे। सो पार्क सार्वजनिक निजी साझेदारी अवधारणा अनुसार बनाइने उनको भनाई छ।

पोखरा महानगरपालिकाले पोखराको पुराना बस्तीहरु रामकृष्ण टोल, गणेश टोल, तेर्सापट्टी, भैरव टोल, मोहोरिया टोल, विन्ध्यवासिनी आदि बस्तीहरूलाई सम्पदा बस्ती (हेरिटेज साईट) बनाउने भएको छ।

परम्परागत पहिचान र विशिष्टता संरक्षण तथा संवर्द्धन गर्न सम्पदा बस्ती बनाउने र सो का लागि सो सम्बन्धी छुट्टै कानुन निर्माण गरी कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

महानगरपालिकाले महानगर भित्र पर्ने प्रमुख पर्यटकीय गन्तव्य, साइकल मार्ग र पदमार्गहरूको अभिलेख तयार गरी नक्साङकन गर्ने जनाएको छ।

रोयल ट्रेकलाई पुनः रेखाङ्कन गरी विकास तथा प्रवर्द्धन गर्नुका साथै “लेक टु लेक”, “केभ टु केभ”  तथा “कोट टु कोट” पदमार्ग निर्माणका लागि आवश्यक अध्ययन गरी कार्यान्वयन गर्ने उल्लेख छ।

पोखरा महानगरपालिकाले महानगरका ३३ वटै वडामा कम्तीमा एक पर्यटकीय गन्तव्यको पहिचान, विकास तथा प्रवर्द्धन गर्ने नीति लिएको छ। साथै सार्वजनिक निजी साझेदारी अवधारणा अनुरूप अघि बढाइएका पातले छाँगो, सिसा पुल निर्माण तथा पूर्वाधार विकास आयोजना, सेती नदीको खोँच पर्यटन पूर्वाधार विकास आयोजना, मोरेखोरे आयोजना, फेवातालका श्रोतनदीमा चेकड्याम निर्माण आयोजना, पोखरा महानगरपालिका फोहोर मैला प्रशोधन केन्द्र लगायतका आयोजना कार्यान्वयन गर्ने पनि जनाइएको छ।

महानगरले धार्मिक, सांस्कृतिक सम्पदायुक्त, शान्त, सुन्दर पोखरा उपत्यकालाई अध्यात्म केन्द्रका रुपमा विकास गर्ने भएको छ। जसका लागि सम्भाव्यता अध्ययन गरी प्रतिवेदन तयार गर्ने र त्यसको कार्यान्वयन गर्ने जनाएको छ।

पोखरा लेकसाइडस्थित कोमागाने पार्क, बसुन्धरा पार्क लगायतका सार्वजनिक पार्कहरूको सौन्दर्यीकरण गरी संरक्षण, विकास तथा प्रवर्द्धन गर्ने उल्लेख छ।

पोखराको पर्यटन प्रवर्द्धनमा छुट्टै पहिचान बनाएका रोपाइँ महोत्सव, स्ट्रिट फेस्टिभल, ड्रागन बोट रेस, क्रस कन्ट्रिरेस, ट्रायथलन, पोखरा म्याराथन, आहा ! रारा पोखरा गोल्डकप, राष्ट्रिय भलिबल खेल लगायत अन्य खेलकुद, फुड फेस्टिभल, हेमजा आलु महोत्सव, लेखनाथ महोत्सव, पोखरा महोत्सव, ढुंगेसाँघु मेला, प्याराग्लाइडिङ महोत्सवलगायतका कार्यक्रममा सहकार्य गर्ने जनाइएको छ।

पोखरा महानगरपालिकाले करिब चार दशकसम्म बनाउने भन्दै बनाउन नसकेको पोखरा बसपार्क निर्माणलाई यस पटकको नीति तथा कार्यक्रमलेपनि समेटेको छ। विन्ध्यवासिनी बसपार्कको स्तरोन्नति गर्ने तथा पोखरा–३२ लामेआहालमा क्षेत्रीय बसपार्क निर्माण कार्य अघि बढाउन समन्वय गर्ने पनि उल्लेख छ।

व्यस्त सहरीक्षेत्रस्थित केआइ सिंङ पुल, महेन्द्रपुल जस्ता पुलहरूको वैकल्पिक पुल निर्माण सम्बन्धमा अध्ययन गर्ने भएको छ। महानगरले पोखरामा बहुतले पार्किङस्थल निर्माण प्रक्रिया अघि बढाउने, मेट्रो ट्याक्सी सञ्चालनको व्यवस्था मिलाउने, अन्तर्राष्ट्रिय सभा सम्मेलन केन्द्र बनाउने जनाएको छ।

त्यस्तै, रानीपौवा शोभा भगवतीस्थान नजिक रहेको पोखराको पुरानो नगरपालिका कार्यालय भवनलाई पोखरा स्मृति सङ्ग्रहालयको रूपमा विकास गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

महानगरले सडकको क्षेत्राधिकार भित्र परेका वर्कसप, पेट्रोल पम्प जस्ता व्यवसाय तथा विपद् जोखिम संवेदनशील संरचनालाई हटाइ अन्यत्र स्थानान्तरण गर्ने नीति लिएको छ। हालको नयाँ बजारलगायतका क्षेत्रमा रहेका यी व्यवसायका कारण पोखरा कुरूप देखिएको तथा यसका कारण जोखिम निम्तिएको भन्दै आलोचना भएपछि महानगरले स्थानान्तरण गर्ने नीति लिएको हो।

महानगरले उज्यालो पोखरा अभियानलाई निरन्तरता दिने बताएको छ भने अव्यवस्थित तारलाई हटाउँदै लैजाने नीति लिएको छ। साथै स्मार्ट स्ट्रिट लाइट, ट्राफिक सिग्नल र हाइमास्ट निर्माणलाई प्राथमिकतामा राख्नेपनि उल्लेख छ।

महानगरले दीर्घ रोगी, अपाङ्गता भएका व्यक्ति र ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई घर-घरमा गई निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने जनाएको छ।

महानगरले आदिकवि भानुभक्त आचार्य तथा कवि शिरोमणि लेखनाथ पौड्यालको सालिक निर्माण गर्ने जनाएको छ। नीति तथा कार्यक्रममा सालिक निर्माण गर्ने भनिएपनि ठाउँ भने तोकिएको छैन। महानगरले पोखरेली प्रतिभाहरूलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ।

महानगरले पोखरालाई खेलकुदको सहरका रुपमा विकास गर्ने तथा साहसिक खेल प्रवर्द्धन गर्ने नीति लिएको छ। खेलकुद विकासका लागि पोखरा–२० र २३ मा हाइ अल्टिच्यूड खेल मैदान निर्माण गर्न आवश्यक अध्ययन गर्ने पनि जनाइएको छ।

महानगरले पोखरालाई स्वच्छ हराभरा बनाइ हरित सहरको रूपमा विकास गर्न क्लिन सिटी, ग्रीन सिटीको अवधारणा अघि सारेको छ। जसलाई सफल बनाउन महानगरले विभिन्न प्रजातिका दुई लाख भन्दा बढी बिरुवा रोप्ने र त्यसको संरक्षण गर्न अभियान सञ्चालन गर्ने जनाएको छ। त्यस्तै, सहरी वन संरक्षण तथा प्रवर्द्धन कार्यक्रमलाई प्रभावकारी बनाउने जनाइएको छ।

महानगरले बेरुजु खर्च प्रतिशत घटाउने नीति लिएको छ। पछिल्लो समय बेरुजु खर्च बढेको भन्दै आलोचना भएपछि महानगरले त्यसलाई घटाउने नीति अवलम्बन गरेको हो। जसका लागि बेरुजु सम्परीक्षण कार्यदल गठन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। महानगरले नगर प्रहरीको लागि छुट्टै ब्यारेक बनाउने पनि घोषणा गरेको छ।

महानगरले विकास खर्चलाई रोजगारीसँग आबद्ध गर्ने जनाएको छ। सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण गर्न तथा अतिक्रमण हटाउन विशेष अभियान सञ्चालन गर्ने जनाएको छ भने सार्वजनिक जग्गाको अभिलेखीकरण गरी संरक्षण गर्ने उल्लेख छ।

महानगरले मितेरी सहरहरुसँगको सम्बन्धलाई थप प्रगाढ र उच्चस्तरको बनाइराख्न महानगरपालिकामा अन्तर्राष्ट्रिय सम्बन्ध तथा समन्वय ब्युरो स्थापना गर्ने जनाएको छ।

महानगरले पोखरामा छोटो वा लामो समय स्वयंसेवक भई काम गर्न चाहने विदेशी स्वयंसेवकहरूको रोष्टर तयार गरी परिचालन गर्ने नीति लिएको छ। महानगरले नव–प्रवर्तन तथा स्टार्टअप उद्यम/व्यवसायको विकास तथा प्रवर्द्धनका लागि बिजनेस इन्क्यूवेशन सेन्टर स्थापना गर्ने भएको छ।

त्यस्तै, पोखरा आइडिया मार्ट, उद्यम क्लिनिक, वृत्ति परामर्श तथा रोजगार मेला र स्टार्टअपमा प्रोत्साहन जस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउने उल्लेख छ।

महानगरले पोखराको पहिचान बनाउँदै आएका जेठोबुढो धान, उखु, मह, कफी लगायतका स्थानीय मौलिक उत्पादनको विस्तार, व्यवसायीकरण बजारीकरणमा प्रोत्साहन गर्ने नीति लिएको छ।

दिगो कृषिको आधार प्राङगारिक खेतीको विस्तार अभियान अन्तरगत प्राङगारिक पकेट क्षेत्र घोषणा गरी वातावरणमैत्री सहरी कृषिलाई प्रवर्द्धन गर्ने महानगरले जनाएको छ। त्यस्तै, ‘खेतीयोग्य गह्राः पारौँ हराभरा’ अभियान सञ्चालन गरी हिउँदे बालीको क्लष्टरमा कृषि खेती प्रवर्द्धन गर्ने नीति महानगरको नीति छ। महानगरले ‘मेकइन पोखरा: मेडइन पोखरा’ लाई प्राथमिकतामा राखी स्थानीय उत्पादनको विकास, विस्तार र प्रवर्द्धन गर्ने भएको छ।

महानगरले विगत ५ वर्षदेखि बनाउने भनेर बनाउन नसकेको पोखरामा आधुनिक पशु वधशाला निर्माण प्रक्रिया सुरु गर्ने जनाएको छ।

प्रकाशित: ९ असार २०८१ २०:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App