१४ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

मनसुनजन्य विपद् रोक्न तयारीमा जुट्यो सशस्त्र

सशस्त्र प्रहरी बल नेपालले मनसुनको समयमा बाढी, पहिरो, डुवान तथा विपद्मा परेकाहरुको उद्धारका लागि सम्पूर्ण कार्यालयहरूमा मनसुन प्रतिकार्य टोली तयारी अवस्थामा राखेको छ।

सम्भावित जोखिम क्षेत्रहरूमा गस्ती र आवश्यक समन्वयका लागि ‘डिजास्टर फोकल पर्सनहरू’ तोकिएकाे सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए।

उनका अनुसार देशभर स्थापना भएका राष्ट्रिय, प्रदेश, र जिल्ला आपतकालिन कार्य संचालन केन्द्रहरूमा तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरू खटाइएको छ। ३९ जिल्लामा ५९ वटा कार्यालयमा १२० वटा मोटर बोट र र्‍याफ्ट बोटहरू तयारी अवस्थामा राखिएको छ।

९१ जना गोताखोरलाई आवश्यक उपकरणसहित सातै प्रदेशका बाहिनी मुख्यालयहरू, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, उपत्यकास्थित विपद् उद्धार गण सिनामंगल, कालिका गण कास्की, र सिन्धुलीको खुर्कोट बेसमा तैनाथ गरिएको उनले सुनाए।

यसैगरी धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, मकवानपुरको कुलेखानी, म्याग्दीको नारच्याङ, दाङको भालुवाङ, सुर्खेतको चिप्ले र डडेलधुराको अमरगढीमा नौ वटा विपद् व्यवस्थापन बेस स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएकाे छ।

महानिरीक्षक न्यौपानेले बताए अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा हस्तान्तरण गरिएका ८ वटा मास क्याजुल्टी भेहिकल र ८ वटा ए क्लास एम्बुलेन्सहरू सुनसरी, महोत्तरी, कुरिनटार, पोखरा, रुपन्देही, सुर्खेत, कैलाली, र काठमाडौँमा तयारी अवस्थामा छन्।

शुद्ध पिउने पानीको अभाव पूर्ति गर्न अमेरिकी दुतावासद्वारा निर्मित डिप ट्युवेल काठमाडौंको ७ स्थानसहित कास्की, नवलपरासी, बाँके, र कैलालीमा तयारी अवस्थामा छन्।

देशभरका सशस्त्र प्रहरी बलका कार्यालयहरूमा २४ सैं घण्टा स्ट्यान्डबाई रहने गरी बाहिनी मुख्यालय, शिक्षालय तथा गणहरूमा सिनियर अफिसरको कमाण्डमा १ प्लाटुन, जिल्लास्थित गुल्ममा जुनियर अफिसरको कमाण्डमा २० जना, अन्य गुल्महरूमा जुनियर अफिसरको कमाण्डमा १५ जना, बीओपी तथा सुरक्षा बेसहरूमा जुनियर अफिसरको कमाण्डमा १० जनाको टोली खटाइएको छ।

झापा, सप्तरी, बारा, चितवन, रुपन्देही, बाँके, कैलाली, भक्तपुर, मकवानपुर र तनहुँमा रहेका १० वटा सशस्त्र प्रहरी बलका इमिडियट रेस्पोन्स टिम पोस्ट तथा सबै प्रदेशमा रहेका १३ वटा हेभि इक्विपमेन्टहरू तयारी अवस्थामा छन्।

सशस्त्र प्रहरी बलले विपद् जोखिम न्यूनीकरणका लागि विभिन्न संघसंस्थासँग समन्वय गरी सचेतनामूलक तालिम र कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। २०८० सालमा देशभरका विभिन्न विद्यालय र समुदायमा १ लाख ४३ हजार १ सय ९८ जनालाई विपद् जोखिम न्यूनीकरण तालिम प्रदान गरिएको थियो।

सशस्त्र प्रहरी बल नेपालले मनसुन अवधिभर विभिन्न विपद्को प्रतिकार्य र व्यवस्थापनका लागि तयारी अवस्थामा रही विभिन्न प्रशिक्षण र अभ्यासहरू गर्दै आएको छ। विपद् जोखिम न्यूनीकरणका लागि आगामी दिनहरूमा पनि समुदाय लक्षित कार्यक्रमहरू सञ्चालन गरिनेछ।

प्रकाशित: ९ असार २०८१ १९:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App