१० श्रावण २०८१ बिहीबार
image/svg+xml
कला

हली

कथा

टाढाटाढासम्म बाले आँखा बिछ्याउँदा मात्र सुख पाउने सपना देख्थेँ। सपना उनको थियो तर सूर्यास्तसँगै उनको सपना अस्ताउँथ्यो। कर्मले साथ नदिएर हो कि भाग्यमा विश्वास गर्ने भएर हो? उनको इच्छाले साकार रूप कहिल्यै लिएन। जर्जर स्थिति र बर्बरताबीच निराधार उनी उभिइरहन्थे।

उनको हृदय ऐनाजस्तै सफा छ। उनको हृदयमा म सजिलै चियाउन सक्थेँ। उनी झुटो बोलेको मैले कहिल्यै सुनिनँ। छलकपट गरेको कहिल्यै देखिनँ। कसैबारे कुभलो सोचेको कहिल्यै चाल पाइनँ। उनलाई मैले सधैं सरल, सिधा मात्र पाएँ।

मेरा बा हली हुन्। उनी प्रत्येक दिन बिहानै उठेर हलो काँधमा बोकी गोरुलाई डोर्‍याउँदै खेत पस्छन् । चरचर फुटेको तलुवा र चाउरिएको अनुहार बोकेर दिनभरि ‘आ बरहे! ह! ह!’ भन्दै गोरुलाई हकार्दै खेत जोत्छन्।

एक दिन सुख पाउने आशामा उनी दिनभरि गोरुसँग पर्ती खेतमा घुम्दै थिए। उनको निधारबाट चुहिएको पसिना र परिश्रमको रगत हाम्रो जिउमा बगेको थियो। परिवार पाल्ने जिम्मेवारी उनको काँधमा थियो। उनी कर्तव्यको बोझैबोझ बोकी जीवन गुडाइरहेका थिए। ‘ऐया ! जीवन झेल्न गारो भयो, आत्था! दुःखले कति पिरोलेको’ भनेर उनले गुनासो गरेको कहिल्यै सुनिनँ। उनी आफ्ना लागि कहिल्यै बाँचेनन्। आफ्ना लागि कहिल्यै खुसी किनेनन्। सबै थोक हाम्रा लागि गर्थे। उनको छाति, काँध र मुटु यति धेरै बलियो देखेँ कि उनी जुनसुकै सङ्घर्षलाई सजिलै चपाउन सक्थे।

घाँस काट्न गएकी म (सीमा) बाको अवस्था देखेर घाँस काट्न रोकिएँ। आलीमा बसेर बातिर हेरेँ। बा गोरुको सुरमा पर्ती खेतमा हलोको लगना (बिँड) समातेर घुम्दै थिए। एक पातर (हलोले रेखा कोर्दै जोत्नु) जोतिसकेपछि अर्को पातर फेरि काट्थे।

 पातर काट्दै हलो जोतिरहेका थिए। उनी हलोको लगाना बेस्सरी थिचेर हलो जोतिरहेका थिए। लगना बेस्सरी थिच्दा फार खेतको जमिनमुनिसम्म धस्थ्यो। बाले भन्थे, ‘जमिनमुनिसम्म फार धसाएर खेत जोत्दा धेरै दिनसम्म ओसिलो  रहने सम्भावना हुन्छ। हलोको लगना थिचिरहेका उनी गोरुको खुट्टामा फार लागेर गोरुहरू घाइते नहून् भनेर धेरै सचेत पनि देखिन्थे। उनी पटक पटक हलोको ठेकी (हलोको फार राखिएको ठाउँ) र गोरुको खुट्टातिर पनि हेरिरहेका थिए।

उनका आँखा बाँझो खेतमा बाली फलाउने सपना देख्न व्यस्त थिए। चाउरी परेको उनको अनुहार पसिनाले निथ्रुक्क भिजेको थियो। मैलो गन्जी, धोती भिरेका उनी  गम्छा कम्मरमा बाँधेका थिए। उनका धुलाम्मे खुट्टाका नसाहरू बाक्ला देखिएका थिए।

गोरुको सुरमा घुमिरहेका उनी पटक पटक पर्ती खेततिर हेर्थे। निधारको पसिना औंलाले पुछेर फाल्थे। घरि गोरुलाई ‘आ बरहे’ भन्दै गाउँतिर हेर्थे। थकाइले उनको ओठ, मुख सुकिसकेको थियो। मुखमा थुक नभए पनि जबर्जस्ती थुक निल्ने प्रयास गरिरहेका थिए। उनलाई भोक लागेको थियो सायद। थुक निल्दै बडो आशाले गाउँतिर फर्किंदै हेर्थे।

जब आमाले जलखै लिएर आइन्। बडो आशाका साथ उनी आमातिर हेर्दै हलो जोत्न रोकिए। कलौ खान आलीमा आए। कमण्डलुमा भएको पानीले हात धोए। हातबाट धमिलो र मैलो पानी निस्कियो। हात धोएर जलखैको पोटली खोले। जलखैमा गहुँको रोटी, नुन, बुकनीसँगै प्याजको चटनी थियो।

बिहानैदेखि भोक, तिर्खा मारेर भित्र धसेको गाला र दयालाग्दा आँखाले उनी रोटीतिर हेरे। थुक निले। रोटी टुक्रा पारे। रोटीको टुक्रामा चटनी मखाउँदै (चटनीमा चोपेर खानु) खान थाले। नुन, रोटीको प्रत्येक टुक्रा उनले मिठो मान्दै खाए । नुन रोटी खान्नँ भनेर न गुनासो पोखे न रिसाए।

मध्य दिन भइसकेको थियो। सबै हलीहरू घर फर्किरहेका थिए। उनी पनि हलो जोत्दै सूर्यतिर हेरे। दुब्लो जिउ भएका उनी दयालाग्दो देखिएका थिए। हलो खोलेर अर्को खेतको आलीको गरामा राखिएको चौकी (जोतिएको खेतको माटो सम्याउन बनाइएको काठको लामो वस्तु) ल्याए। उनी हलो खोलेर छेउको पर्ती खेतमा हलो राखे।

गोरुलाई काँधमा भिराइएको पालोमा (हलो जोत्न गोरुको काँधमा राखिएको काठको वस्तु) रसीसहितको चौकी लगाए। गोरुलाई हकार्दै चौकी लगाएर उनी चौकीमा चढे। हलो जोत्ने बेला निस्केका माटाका डल्लाहरू सम्याउन थाले। चौकी दिएर जतनका साथ गोरुहरूलाई फुकाए।

गोरुहरूलाई घरतिर पठाए। हलो काँधमा बोकी गोरुको पछि पछि उनी घर फर्किंदै थिए। टन्टलापुर घाम थियो। उनको पिठ्युभरि घमौरा निस्केको थियो। गोरु धपाउन हातमा बोकेको लट्ठीले उनी पटकपटक पिठ्युको घमौरा कन्याइरहेका थिए। गाउँबाहिरको पोखरीमा गोरुहरूलाई पानी खुवाए।

पानी खुवाएर गोरुहरूलाई घरतिर पठाए। हलो पोखरीको डिलमा राखेर आफू पोखरीमा नुहाउन पसे। मैलो धोती काँचो (साबुन नलगाईकन) पानीमा धोए। गम्छा बेरेर हलो बोकी घर फर्के।

उनको सिप भन्नु नै किसानी गर्नु थियो, गर्जो टार्नु थियो, जीवन धान्नु थियो। जहाँसम्म जीवन चल्थ्यो, त्यहाँसम्म चलाउनु थियो। उनी एक सफल नायक स्वयं थिए तर नौटङ्की अरूका लागि  गर्थे। उनको जीवन उनकै हातमा थियो तर डोरी अरूलाई समात्न किन दिएका थिए? उनी त्यस्तो जीवित पात्र थिए जहाँ उनको वश थियो तर इसारा अरूको।

गाउँछेउको बजारमा मेला लागेको थियो। उनी मलाई बेलुकी मेला घुमाउन लगे। मेलामा उनले मेरा लागि पकौडा र ढुङ्ग्री किने तर म दोकानमा भएको जेरीतिर हेरिरहेकी थिएँ। मैले जेरीतिर हेर्दै गर्दा उनले सोधे, ‘जिलेबी खाइले मन लागलछौ?’

‘हँ, मन लागल छै।’

मेरो कुरा सुनेर उनले दुकानदारलाई अराउँदै भने, ‘हमर बेटीके दहै एक पौवा जिलेवी।’

उनको कुरा सुनेर दुकानदारले एक पाउ जेरी तौलेर प्लास्टिकको सानो झोलामा दियो। बाले त्यो जेरीको पोको मेरो हातमा थमाए। उनले खल्तीबाट पैसा झिकेर गने। मैले पोकोबाट एउटा जेरी झिकेर खान खोज्दा उनले फेरि अर्को खल्ती छाम्दै भने, ‘रह अखैन नैखो!’

‘कथिले?’ बाको हतासिएको कुरा सुनेर मैले सोधेँ।

‘पैसा नै पुगतै।’

पैसा पुग्दैन भन्ने सुनेर म जेरी खान रोकिएँ। मुख नजिक लगेको जेरी जस्ताको त्यस्तै पोकामा राखेँ। उनले दोकानदारतिर हेर्दै भने, ‘पैसा नै पुगैछै रौ। उधारी दहै जिलेबी।’

‘उधारी नै हेतौ। नै बेचैचियै उधारी।’

उधारो बेचेको छैन भन्ने सुनेर बाको अनुहार उदास भयो। उनले उदास अनुहारले मतिर हेर्दै भने, ‘फिर्ता दहै जिलेबी। पैसा हेतै ताब किन देबौ।’

बाको कुरा सुनेर मैले खान मुखनजिक लगेको जेरी पोकोमा राखेर दोकानदारलाई फिर्ता दिएँ।

मैले दोकानदारलाई जेरी फिर्ता दिँदा उनी धेरै उदास भए। यति विधि दुःखी भएको उनलाई कहिल्यै देखेकी थिइनँ। उनको अनुहारमा हेरेँ। उनका गह भरिएका थिए। उनी मेरो हात समातेर घर फर्किरहेका थिए। उनी मौन थिए। उनी पटकपटक थुक निल्दै आँसु चपाइरहेका थिए।

मेरो सानो इच्छा पूरा गर्न नसक्दा उनको चित्त यति धेरै दुखेको थियो भने आफ्नो इच्छाअनुसार मेरा आवश्यकताहरू पूरा गर्न नसक्दा मेरा बाको मुटु हरेक पल झन कति दुख्दो हो ? उनी कति तडपिँदा हुन्?

घर फकिँदा आमाको हातको कुहिना दुखिरहेको थियो। उनी तामाको एउटा चुरा कुहिनामा लगाइरहेकी थिइन्। तामाको चुरा दुखेको ठाउँमा लगाए दुखाइ सन्चो हुन्छ भन्ने मान्यता बा र आमाको थियो।

भोलिपल्ट अचानक  बाको कुहिना पनि दुख्न थाल्यो। तामाको चुरा एउटा मात्र थियो। बाको कुहिना दुख्न थालेपछि आमाले आफ्नो कुहिनाको चुरा फुकालेर बालाई लगाउन दिइन्। बाले त्यो चुरा कुहिनामा अड्काएर लगाए।

भोलिपल्ट आमाले बालाई सोधिन्, ‘केहनी लरम भेलौं?’

बाले टाउको हल्लाउँदै जवाफ दिए, ‘हँ, कनहिक लरम लागैछै।’

चुरा लगाएर बिरामी सन्चो हुने आशामा बस्नु आर्थिक अभावले पीडा लुकाउनु त हो। मेरा बा पनि आर्थिक अभावको सिकार भएका थिए। उनी आफ्नो जिउको पीडा लुकाइरहेका थिए।

बा सधैं तामाको चुरा कुहिनामा लगाएर हलो जोत्न जान्थे।

छिमेकीहरू कयौं सुखद क्षणहरू बिताउँथे तर मेरा बाका लागि रमाइला क्षण भनेको के थियो? कस्तो हुन्छ? कहाँ किन्न पाइन्छ? कसरी आउँछ? उनले कहिल्यै अनुभव गरेनन्।उनको कुहिनो दुखिरहेकै थियो। जिउमा फेरि अर्को दुखाइ थपियो। उनको घुँडा पनि दुख्न थाल्यो। उनी कुहिनाको दुखाइ जसोतसो पचाइरहेका थिए तर घुँडाको दुखाइ झेल्नु बडो सकस थियो।

गोरुसँग बिहानदेखि मध्यदिनसम्म विश्राम नगरी खेत जोत्नु कुनै खेल थिएन। हलोको लगना थिच्दा, थिच्दा उनको हातमा फोकासँगै बाक्लो ठेला उठेको थियो। खुट्टा दुखेर कयौं रात छटपटाउँदै निदाउँथे। उनको थकाइले विश्राम नलिँदै भोलि बिहानै फेरि काँधमा हलो बोकेर खेत जोत्न निस्कन्थे। आजीवन हलो जोतेर जीवन बिताउन बाध्य उनलाई अरूका आँखाले जेसुकै देखून् तर मेरा उनी सर्वश्रेष्ठ नायक थिए।

उनको घुँडा पनि दुख्न थालेकाले उपचार नगराई भएन। तथापि घुँडाको दबाई गराउन आमाको चाँदीको मोठा (बाक्लो चुरा) लिएर उनी बजार गए। बजारको सुन, चाँदी पसलमा मोठा बन्धक राखे। एक हजार रूपैयाँ बोकेर घर फर्के। उनलाई  खेतमा काम गर्न जान ढिला भइरहेको थियो। उनी काँधमा कोदालो बोके। धोतीमा गाठो पारी बाँधेर राखिएको पैसा गाठो फुकाउँदै आमातिर फाल्दै भने, ‘ले, यी पैसा राख्। काइल दबाई किनैले जेबै।’

आँगन बढार्न व्यस्त थिइन् आमा। आमाको छेउमा आँगनमा ढाकीमा भएको घाँस कालो खसीले खाइरहेको थियो। बाले पैसा फालेको देखेर भुइँमा फालिएको पैसा आमाले टिप्नुभन्दा अगाडि खसीले लम्केर टिपेर खायो। सयको नोट थियो। यो देखेर बा कोदालो हतपत भुइँमा फाल्दै भने, ‘सार, खसी पैसा ख्यालेलकै।’

खसीले पैसा खाएको देखेर आमाले क्रोधित हुँदै बालाई भनिन्, ‘मार खसीके। कथिले भुइँयामे पैसा फेकलिही?’

‘हमरा खेत जाइले हतार छेलै।’आमाको कुरा सुनेर बा खसीलाई समाते। खसीको मुख अँठ्याउँदै पैसा खसीको मुखभित्र हेरे। बासँगै मैले पनि खसीको मुखभित्र हेरेँ । खसीको मुखभित्र जिब्रो र दाँत मात्र देखियो। मुख खाली थियो। खसीले पैसा चपाएर निलिसकेको थियो।

पैसा खसीले खाएको देखेर आमाले भनिन्, ‘आब कोन पैसासे दबाई किनबिही?

बा केही बोलेनन्। खसीतिर क्रोधित दृष्टिले हेरे। उदास अनुहार लिएर कोदालो काँधमा बोकी खेततिर लागे।  

प्रकाशित: ८ असार २०८१ १०:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App