१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

क्यान अध्यक्षमा चन्द निर्विरोध,पारस सचिवमा निर्वाचित

 कार्यवाहक पूर्वसचिव प्रशान्तविक्रम मल्ललाई हराउँदै नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का नेपाल क्रिकेट संघ (क्यान) को सचिवमा निर्वाचत भएका छन्।

शनिबार बानेश्वरमा सम्पन्न निर्वाचनमा पूर्वकप्तान पारसले एक समय राष्ट्रिय खेलाडीसमेत रहेका मल्ललाई पराजित गरेका हुन्। पारसले ४८ मत ल्याउँदा मल्लले ३७ मत पाए। शनिबार सचिव र सदस्य पदमा मात्र निर्वाचन भएको थियो। अध्यक्षसहित उपाध्यक्ष र कोषाध्यक्ष भने भने निर्विरोध भएका थिए। अध्यक्षमा चतुरबहादुर चन्द सर्वसम्मत भए।अध्यक्ष पदमा चन्दको मात्र उम्मेदवारी परेपछि उनी लगातार दोस्रो पटक सो पदमा निर्वाचित भएका हुन्। समग्रमा चन्द तेस्रो पटक क्यानको अध्यक्ष चुनिए। पहिलोपटक निर्वाचित हुँदा आन्तरिक द्वन्द्वका कारण क्यान प्रतिबन्धमा पर्‍यो।

पछिल्लो कार्यकालमा निर्वाचित हुँदा आफैंले पराजित गरेको गुटसहित यस पटक निर्वाचनमा होमिएका चन्दले उनकै निकट मानिएका मल्लको साथ छाडेका थिए। चन्दको पछिल्लो चार वर्षे कार्यकालमा मल्ल र उपाध्यक्षमा निर्विरोध भएका रोशनबहादुर सिंह प्रमुख सारथि हुन्। यद्यपि, पछिल्ला ६÷७ महिनादेखि नै उनी पारसलाई सचिव ल्याउने योजनासहित अगाडि बढेका थिए। अध्यक्ष पदमा चन्दलाई चुनौती दिने चर्चा चलाइएका सिंह निर्वाचनअगावै पछि हटेका थिए।

चन्दलाई बर्दिया जिल्लाका विनयराज भण्डारीले चुनौती दिने घोषणा गरेका थिए। तर, भण्डारीले अन्तिममा नाम फिर्ता लिएका हुन्। क्यानको शक्तिकेन्द्रमा रहिरहन सिंह कोषाध्यक्ष पदमा दोहोरिन सक्ने आकलन गरिए पनि उनले उपाध्यक्ष पद रोजे। जहाँ उनी सर्वसम्मत पनि भए। अर्को पटक अध्यक्ष पदमा चन्दले सघाउने आश्वासन पाएकाले सिंहले उपाध्यक्ष पद रोजेका हुन सक्ने आकलन गरिएको छ। यद्यपि, सिंहले आफू काम गर्ने मान्छे भएको र काम गर्न जुन पद भए पनि फरक नपर्ने प्रतिक्रिया दिएका छन्।

त्यस्तै कोषाध्यक्ष पदम खड्का पनि निर्विरोध भए। सचिवसहित सदस्य पदमा निर्वाचन भएको थियो। सदस्यमा धीरेन्द्र साउद (५९), दुर्गाराज पाठक(५४) आयुस श्रेष्ठ (५१), वीरेन्द्र चन्द (३४) र करन महत्रा (२६ गोला प्रथाबाट) विजयी भए। महत्रा र ऋषिराम गौतमको समान मत आएपछि गोलाप्रथाबाट विजेता चुनिएको हो। कोसीबाट अर्जुन पौडेल ४७ मतका साथ विजयी भए। उनका निकटम प्रतिद्वन्द्वी सुनिल पौडेलले ३४ मत प्राप्त गरे। महिला सदस्यमा दार्चुलाकी जयन्ती देवी भट्ट र प्रदेश सदस्यमा कर्णालीका श्रीधर केसी र लुम्बिनीका प्रदीप मजगैंया निर्विरोध चयन भएका छन्।

त्यस्तै मधेशतर्फको सदस्य पदमा पनि माधव कर्माचार्यले गोला प्रथाबाट जिते। मोहम्मद अन्सारीसँग समान ४२ मत नै प्राप्त गरेपछि गोलाप्रथाको अधारमा उनी विजयी भएका हुन्। बाग्मतीमा सुदीप पियालाई हराउँदै दिवाकर घले विजयी भए। घलेले ४६ र पियाले ३६ मत प्राप्त गरे। गण्डकीमा सुदीप शर्मा ५२ मतका साथ विजयी भए। उनका प्रतिद्वन्द्वी देवेन्द्र प्रजुले २८ मत पाए। सुदूरपश्चिममा हरि रेग्मीलाई पछि पार्दै विक्रम विष्ट विजयी भए। विष्टले ४९ मत र रेग्मीले ३१ मत पाए।  

प्रकाशित: ७ आश्विन २०८० ०१:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App