१६ वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

सूचीकृत नभएका रेफ्री, प्रशिक्षकलाई खेल सञ्चालन र प्रशिक्षणमा रोक

गण्डकी खेलकुद परिषदले आयोजना गरेको छलफलमा सहभागि विभिन्न खेलसंघका पदाधिकारीहरु। तस्बिरः नागरिक

जिल्ला खेलकुद विकास समिति कास्की प्रशिक्षकविहीन हुँदै गएको छ। राष्ट्रिय खेलकुद परिषदबाट नियुक्त भएका प्रशिक्षकहरु अवकाश प्राप्त हुँदै गएपछि प्रशिक्षणमा समस्या भएको छ।

कास्कीमा अब केवल तीनजना मात्रै प्रशिक्षक बाँकी छन्। तीनमध्ये भारोत्तोलन प्रशिक्षक बखतमान श्रेष्ठ पनि आगामी फागुनमा अवकाश हुदैं छन्। सहायक प्रशिक्षकद्वय सुरेन्द्र गुरुङ(सितेरियो कराँते) र जीवन घिमिर (शारीरिक सुगठन) मात्रै छन्। तेक्वान्दोका प्रशिक्षक सुनबहादुर लामा अहिले कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका छन्।  

खेलकुदको उर्वर शहर कास्की खेलकुद प्रशिक्षक विहीन बन्दै गएको छ। खेल संघले स्वयं सेवक प्रशिक्षककै भरमा खेलकुद धान्दै आएका छन्। २०८१ मंसिरको पहिलो साता कर्णाली प्रदेशमा (सुर्खेतको विरेन्द्रनगर) दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैं छ। प्रदेश खेलकुद परिषद गण्डकीले सबै खेल संघहरुलाई नयाँ परिपत्र गरेको छ।  

परिपत्र अनुसार स्वयं सेवक प्रशिक्षक तथा रेफ्री, अम्पायरलाई अनिवार्य सूचीकृत गर्नुपर्ने प्रावधान बनाएको छ। ‘प्रदेश र जिल्लास्तरमा सञ्चालन हुने प्रतियोगिता प्रदेश खेलकुद परिषदमा सूचीकृत भएका रेफ्री, अम्पाएर र प्रशिक्षकले मात्रै खेल तथा प्रशिक्षण सञ्चालन गर्न पाउने छ,’ प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले भने, ‘सूचीकृत नभएकोले खेलाउन र प्रशिक्षण गराउन रोक लगाउने निर्णय भएको छ।’  

उनले सूचीकृत नभएका रेफ्री, अम्पाएर, प्रशिक्षकहरुलाई सबै प्रकारका प्रतियोतिगा र प्रशिक्षणमा रोक लगाउने बताए। उनका अनुसार प्रदेशको आयोजना, प्रदेशले आर्थिक सहयोग गरेका प्रतियोगिता तथा अनुमति नलिई सञ्चालन भएका प्रतियोगितामा सूचीकृत नभएका प्रशिक्षक, रेफ्री तथा अम्पायरलाई रोक लगाउने निर्णय गरिएको छ। 

परिषदले प्रतियोगिता सञ्चालनको समयमा रेफ्री तथा प्रशिक्षक एवं अम्पायरको पारिश्रमिक(भत्ता) सम्बन्धीत संघले नै तोक्ने छ। अन्यथा परिषदले तोक्ने समेत सदस्य सचिव शर्माको भनाई थियो। केही समय अघि मात्रै पोखरा रंगशालाभित्र खेल संघहरुले प्रशिक्षार्थीसँग शुल्क उठाउने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। उजुरी परेपछि नियमन निकाय प्रदेश खेलकुद परिषदले सबै खेल संघ मार्फत स्वयं सेवक प्रशिक्षक, रेफ्री तथा अम्पाएरलाई सूचीकृत हुनुपर्ने कडाई गरेको हो।  

कास्की जिल्ला खेलकुद विकास समितिमा ५३ वटा संघ आवद्ध रहेको कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुनबहादुर लामाले जानकारी दिए। ‘संघमा आवद्ध प्रशिक्षक, रेफ्री, अम्पायर तथा जुरी एवं खेल सञ्चालक गरी शुक्रबारसम्म दुईसय १० जनाले सूचीकृत गरेका छन्’– उनले जानकारी दिए । सूचीकृत हुन आवेदकले एक हजार रुपैयाँ शुल्क तिरेका छन्। 

सूचीकृत भएका रेफ्री, प्रशिक्षक, अम्पायर तथा जुरीले तिरेको शुल्क खेलाडी कल्याणकारी कोषमा जम्मा गरिने छ। कल्याणकारी कोष मार्फत जोखिम विमा गरिने प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको छ। गण्डकी प्रदेश सरकारले पनि विमाको लागि दशलाख रुपैयाँ छुट्टाएको छ।  

प्रकाशित: ८ भाद्र २०८० ०९:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App