२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कोलम्बियालाई बलियो समर्थन

कोलम्बियाले अस्ट्रेलियामा जारी विश्वकपमा महिला फुटबललाई नयाँ उचाइमा पुर्याइरहँदा उनीहरूका हजारौं समर्थकले पनि आफ्नो भूमिका निर्वाह गरेका छन्।

१८ वर्षीया लिन्डा काइसेडो प्रेरित कोलम्बियाले सोही समर्थककै साथमा विपक्षीलाई निराशापूर्ण नतिजा सामना गर्न बाध्य बनाउँदा आइतबार सिड्नीमा जर्मनीलाई २–१ ले हराएको थियो। ९७औं मिनेटमा म्यानुइला भेनेगसको हेडर प्रेरणामा कोलम्बियाले विश्वकपकै उत्कृष्टमध्ये एक टोली जर्मनीलाई स्तब्ध बनाएको हो। यो नतिजासहित अन्तिम १७ को यात्रा तय गरेको कोलम्बियाले पहिलो पटक विश्वकप जित्ने सपना पनि देखेको छ। कोलम्बियाले यसअघि दुई पटक सन् २०११ र २०१५ मा विश्वकप खेलेको छ।  

यद्यपि, दक्षिण अमेरिकी टोली पहिलो पटक अन्तिम १६ मा पुगेको हो। चार वर्षअगाडि भने कोलम्बिया विश्वकपमा नै छनोट हुन असफल भएको थियो। अब समूहको विजेता बन्न कोलम्बियालाई मोरक्कोविरुद्धको खेलमा बराबरीको नतिजा पनि पर्याप्त हुनेछ। ४० हजार दर्शक रहेको सिड्नी फुटबल स्टेडियम अधिकांश जर्मन समर्थकले भरिएको थियो। यद्यपि, काइसेडोप्रेरित कोलम्बियाले जर्मनीमाथि जित निकाल्यो। पहेंलो जर्सीमा सजिएका कोलम्बियन खेलाडीले सबै जर्मनलाई अभिवादन गरेका थिए। जर्मनीका स्टार लिना ओबेरडर्पmले कोलम्बियाले आफ्नो घरमा खेलेको जस्तो महसुस गराएको बताएकी थिइन्।  

उनले त्यो खेललाई जर्मनीले युरो कप फाइनलमा आयोजक इङ्ल्यान्डसँग वेम्बलेमा खेलेको जस्तो महसुस भएको उल्लेख गरेकी हुन्। त्यति बेला करिब ९० हजार दर्शक रहेको वेम्बलीमा इङ्ल्यान्डले जर्मनीलाई २–१ ले हराएको थियो। ‘कोलम्बियासँगको खेल युरो कप फाइनल जस्तै लाग्यो। अस्ट्रेलियामा कोलम्बियाविरुद्ध खेल्दा कसैले पनि त्यो परिस्थितिको कल्पना पनि गर्न सक्दैन,’ जर्मन मिडफिल्डर लिनाले भनिन्, ‘जसरी कोलम्बियाका समर्थक टाढाबाट आफ्नो टोलीलाई समर्थन गर्न आइपुगे, त्यसले पनि कोलम्बियामा महिला फुटबलको विकास भएको बुझ्न सकिन्छ।’  

यता, जर्मनीको टोली भने अझै पनि अन्तिम १६ पुग्छ कि पुग्दैन भन्नेबारे दुबिधा नै छ। कोलम्बियन अस्ट्रेलियामा नै बसेका पनि हुन सक्छन्। किनकि एउटा महादेश नै पार गरेर आफ्नो देशलाई हौसला बढाउन उनीहरूका लागि केही महँगो नै हुन्छ। टिमका प्रवक्ता कार्लोस लाजुडले पनि केही विद्यार्थी रहेको र केही कामको सिलसिलामा लामो समयदेखि अस्ट्रेलियामा नै बसोबास गरेका मानिस रहेको उल्लेख गरे। सन् २०२१ को तथ्यांकले पनि ३५ हजार कोलम्बियन अस्ट्रेलिया आएको सार्वजनिक गरेको थियो।  

सोहीअनुसार स्टेडियम पनि कोलम्बियाका समर्थकले भरिएको थियो। ‘हामीले कोलम्बियाको महिला फुटबललाई सहयोग गर्नुपर्छ। किनकि उनीहरू देशमा धेरै सहयोग पाउँदैनन्,’ एक पुरुष समर्थकले भनेका थिए,‘त्यही समर्थनका कारण नै उनीहरूले आफ्नै घरेलु मैदानमा खेलेजस्तो महसुस गरे र हामीले जित्यौं पनि।’

प्रकाशित: १६ श्रावण २०८० ०१:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App