१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

पिएनजी ट्वान्टी–२० विश्वकपमा छनोट

घरेलु मैदानमा फिलिपिन्समाथि रवाफिलो जित निकाल्दै पपुवा न्युगिनी(पिएनजी) ले मेन्स ट्वान्टी–२० विश्वकप क्रिकेट २०२४ मा स्थान बनाएको छ।

आफ्नो देशको राजधानी पोर्ट मोरस्बीमा शुक्रबार भएको खेलमा फिलिपिन्समाथि एक सय रनको फराकिलो जित जितसहित इस्ट एसिया प्यासिफिक क्षेत्रबाट पिएनजीले विश्वकपमा स्थान बनाएको हो। चार टोली समावेश इस्ट एसिया प्यासिफिक क्षेत्रबाट अपराजित पिएनजीले पाँच खेलबाट १० अंक बटुल्यो। समूहको अन्तिम खेलमा शनिबार जापानसँगको खेल बाँकी छँदा नै पिएनजीले आगामी ट्वान्टी–२० विश्वकपमा स्थान बनाएको छ। पिएनजीलाई विश्वकप यात्रा तय गराउन फिलिपिन्सविरुद्ध टोनी उरा, असाद भाला र चाल्र्स अमिनीले यादगार प्रदर्शन गरे।  

यी तीन खेलाडीको आक्रामक अर्धसतक प्रेरणामा पिएनजीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२९ रनको विशाल योगफल बनाएको थियो। जबाफी लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभर नै खेले पनि सात विकेटको क्षतिमा १२९ रन मात्र बनाउन सक्यो। यता, जापान भने चार खेलबाट ६ अंक बटुल्दै दोस्रो स्थानमा छ। जापानले शुक्रबार भनुआटुलाई हराएको भए विश्वकपमा छनोट हुने सम्भावना जीवन्त रहन्थ्यो। भनुआटुका नलिन निपिकोको अलराउन्ड प्रदर्शनमा जापानले पाँच विकेटले हार बेहारेको थियो। नलिनले चार विकेट र अविजित ७४ रनको योगदान दिएका थिए।

उनको प्रदर्शन भनुआटुले पाँचौं खेलमा पहिलो जित निकाल्यो। सन् २०२४ को ट्वान्टी–२० विश्वकप वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्दै छ। उक्त विश्वकपमा २० राष्ट्रले चुनौती प्रस्तुत गर्नेछन्। चार समूहमा विभाजन हुने टोलीले पहिलो चरणमा प्रतिस्पर्धा हुनेछन्। प्रत्येक समूहका शीर्ष दुई टोलीले सुपर एटमा प्रतिस्पर्धा गर्ने तय छ। सुपर एट पनि दुई समूहमा विभाजन गरिनेछ। अहिलेसम्म १२ टोलीले विभिन्न क्षेत्रबाट छनोट हुँदै आगामी ट्वान्टी–२० विश्वकपमा स्थान बनाइसकेका छन्। 

प्रकाशित: १३ श्रावण २०८० ०३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App