७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

खेलकुद संघ गठनमा परिषद्को बलमिच्याँई

नेपालको खेलकुद संघ राजनीतिको उल्झन फसेको छ। एकै प्रकृतिका दुई संघलाई एउटै बनाई अगाडि बढ्ने निर्देशन राष्ट्रिय खेलकुद परिषदको छ। तर परिषदले बलमिच्याँई ढंगले आफनो अनुकुल हुने गरी संघ गठन गर्ने प्रवृत्ति देखिएको छ। यसको पछिल्लो उदाहरण हो नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ।  

नेपालमा दुई वटा शारीरिक सुगठन थिए। अन्तर्राष्ट्रिय शारीरिक सुगठन तथा फिटनेस महासंघ(आईएफबीबी) र विश्व शारीरिक सुगठन तथा फिटनेस महासंघ(डब्लुएफबीबी) थिए। नेपालमा ती दुवैका संघ थिए। अन्तर्राष्ट्रिय मान्यता प्राप्त र राष्ट्रिय खेलकुद परिषदमा आवद्धता भएको दुई संघलाई एउटै बनाउनुपर्ने आवाज उठ्दै आएको थियो। उठेको आवाज अनुसार एउटै बनाउनुपर्ने राखेपको निर्देशन अनुसार नेपाल शारीरिक सगुठन तथा फिटनेस महासंघ गठन गरिएको छ।  

नवगठित महासंघमा राष्ट्रिय खेलकुद परिषदले गुटको आधारमा आफना आसेपासेलाई मात्रै राखेको नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ(एनएफबीएफ)ले आरोप लगाएको छ। शिवलाल श्रेष्ठको अध्यक्षतामा गठित हिमालयन किङडम नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ एण्ड फिटनेस दर्ता भएको थियो। राष्ट्रिय खेलकुद विकास ऐन २०४८ को दफा १५(१) बमोजिम २०७३ साल भदौ २४ गते दर्ता (१६५ नम्बर) कायम भएको थियो। जुन दर्ता भएको संस्था आईएफबीबी तथा ओलिम्पक काउन्सिल अफ एशिया(ओसिए)बाट मान्यता प्राप्त हो। अर्को वल्र्ड बडिविल्डिङ एण्ड फिजिक स्पोर्टस फेडेरेशन (डब्लुबीपीएफ) रहेको थियो। डब्लुबीपीएफमा आवद्ध नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ(एनबीबीएफए) हो। जसको नेतृत्व राजेशवावु श्रेष्ठले गरेका थिए। श्रेष्ठले नेतृत्व गरेको संघ ओसिएमा आवद्धता थिएन।  

एकै प्रकृतिका दुई वटा राष्ट्रिय संघहरु समानान्तर रुपमा कायम रहन नसक्ने जिकिर परिषदको थियो। उनै राजेशबावु श्रेष्ठले नेतृत्व गरेको संघलाई २०७४ पुष १२ गते नै रिट निवेदन खारेज भएको थियो। उच्च अदालत पाटनमा परेको रिट निवेदनलाई खारेज गरेपछि एनबीबीएफएको औचित्य समाप्त भएको थियो।  

नयाँ बनेको राष्ट्रिय खेलकुद ऐन २०७७ को दफा २६को उपदफा ५ र ६ मा व्यवस्था भएबमोजिम दुवै खेल संघलाई समायोजन गर्न परिषदका उपाध्यक्ष शिव कोईरालाको संयोजकत्वमा समिति गठन गरिएको थियो। छलफलको क्रममा पछि दर्ता भएको १६५ को दर्ता खारेजी गरी आईएफबीबी सँगको आवद्धतामा दर्ता रहेको दुवै संघको नाम नरहने गरी नयाँ नाम ‘नेपाल बडिबिल्डिङ तथा फिटनेस महासंघ (नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ) रहने सहमति भएको थियो। 

सहमति अनुसार २०७९ पुष ५ गते मन्त्रीस्तरीय निर्णयबाट तीन महिनाभित्र विधान तयार गर्ने, जिल्ला संघ गठन गर्ने र नव गठित महासंघको झण्डा बनाउने सर्त सहित राजेशबावु श्रेष्ठको अध्यक्षतामा दर्ता नं  १६५ रहेको नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ एण्ड फिटनेसका संस्थापक अध्यक्ष शिवलाल श्रेष्ठको संरक्षकत्वमा तदर्थ समिति गठन गरिएको थियो।  

तर नव गठित तदर्थ समितिले दुवै संघलाई मान्यता हुने गरी बनाउने भनिएपनि परिषदको राजनीतिक दबावमा समिति बनाइएको आरोप नेप्लिज बडिबिल्डिङ एण्ड फिटनेस संघ(एनएफबीएफ)का केन्द्रीय उपाध्यक्ष नुना गुरुङको छ। ‘नव गठित तदर्थ समितिमा नेप्लिज फेडेरेशन अफ बडिबिल्डिङ एण्ड फिटनेस संघलाई कुनै जानकारी नै नदिई गठन गरिएको छ। त्यसमा हाम्रो आपत्ति हो,’ उनले मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हाम्रो आपत्तिसहितको पत्र परिषदलाई समेत दिएका छौं। त्यसको सुनुवाई भएको छैन्। हाम्रो पत्रको जवाफ परिषदले दिनुपर्छ।’  

उनले गुटकै आधारमा आफना नजिकका मानिसलाई राखेर शारीरिक सुगठन खेलको खिल्ली उठाएको जिकिर गरे। उनले राष्ट्रिय खेलकुद परिषदले मिलाएर तदर्थ समिति गठन गर्ने भन्दापनि आफनो अनुकुलका व्यक्तिलाई मिलाएर गठत गरेको ठहर गरे। ‘परिषदले सबैलाई सम्बोधन हुने गरी तदर्थ समिति गठन हुन्छ भन्ने विश्वासमा थियौं तर परिषदले राजनीतिक दबावमा आफनालाई समेट्दै समिति गठन गर्यो,’ उनले भने, ‘जुन हामीलाई स्वीकार्य हुने छैन्। कानून बमोजिम अगाडि बढ्छौं।’  

उनले नव गठित तदर्थ समितिले कास्की बडिबिल्डिङ एण्ड फिटनेस संघ(एनएफबीएफ)लाई जानकारी नै नदिई रातारात एकपक्षीय भेला मार्फत जिल्ला तथा प्रदेश समिति गठन गरिएको समेत घोर भत्र्सना गरेका छन्। ‘जिल्ला तथा प्रदेशको आधिकारीक पत्र विना केन्द्रीय कमिटिमा भाग लिनेसम्मको गैरकानूनी कार्य भएका छन्,’ उनले भने–‘यसको घोर भत्सर्ना गर्छौ।’ एनएफबीएफ कास्कीले जिल्ला तथा प्रदेशको कार्यसमिति पुर्नगठनको लागि समेत माग गरेको छ। पत्रकार सम्मेलनमा कास्की जिल्ला खेलकुद विकास समितिका कार्यबहाक अध्यक्ष विजयबहादुर भण्डारीको समेत उपस्थिति थियो।  

प्रकाशित: ३० जेष्ठ २०८० १०:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App