२४ पुस २०८१ बुधबार
image/svg+xml
खेल

गण्डकी र एपिएफको विजयी सुरुआत

गण्डकी प्रदेश भलिबल टोली र एपिएफले हेटौंडामा सुरु भएको राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन्।

मंगलबार भएको उद्घाटन खेलमा गण्डकीले घरेलु टोली मकवानपुरलाई ३–० को सोझो सेटमा हराउँदै सुखद सुरुआत गरेको हो। गण्डकीले मकवानपुरमाथि २५–१८, २५–१७ र २५–१९ को सोझो सेटमा जित निकाल्यो। गण्डकीका सन्तोष थापामगर म्यान अफ दी म्याच भए। दोस्रो खेलमा एपिएफले झापाको पाथीभरा भलिबल टोलीलाई ३–१ को सेटमा हरायो। एपिएफले पाथीभरालाई २५–२२, २५–१६, २३–२५, २५–२३ को सेटमा हराएको हो। नयाँ खेलाडीलाई प्रोत्साहनसँगै खेलाडीबीच भ्रातृत्व सम्बन्ध स्थापनाका लागि केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान र मकवानपुर जिल्ला भलिबल संघको संयुक्त आयोजनामा राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको हो।  

हेटौंडा–४ स्थित हुप्रचौरमा सुरु भएको प्रतियोगितामा नेपालका १० टोलीको सहभागिता रहेको छ। हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले उक्त प्रतियोगिताको उद्घाटन गरेकी थिइन्। उनले उपमहानगरपालिकाले सबै खेललाई उत्तिकै महत्व दिँदै बजेटको व्यवस्था गर्दै आएको बताइन्। यस प्रतियोगिताले नेपालको भलिबल खेलमा विशिष्ट योगदान पु¥याएका राष्ट्रिय प्रशिक्षक केशवलाल श्रेष्ठको सम्मान हुने उनको भनाइ थियो। प्रतियोगितामा विजेताले दुई लाख तथा उपविजेताले एक लाख रूपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै सेमिफाइनल पुग्ने २ टोलीले ५०÷५० हजार रूपैयाँ, सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार र विधागत उत्कृष्ट हुने खेलाडीलाई जनही नगद ५÷५ हजार रूपैयाँसहित ट्रफी प्रदान गरिने आयोजक केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टले जानकारी दिए।  

प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी, एपिएफ र नेपाल प्रहरीसहित बाग्मती प्रदेश भलिबल टोली, मधेश प्रदेश भलिबल टोली, मणिमुकुन्द भलिबल टोली बुटवल, गण्डकी प्रदेश भलिबल टोली, वालिङ भलिबल टोली स्याङ्जा, पाथीभरा भलिबल टोली झापा र आयोजक मकवानपुर जिल्ला भलिबल संघको सहभागिता रहेको छ।  

प्रकाशित: १७ जेष्ठ २०८० ०१:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App