१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले १४औं साफ च्याम्पियनसिप २०२३ को तयारीका लागि फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार बसेको आपत्कालीन बैठकले साफ च्याम्पियनसिपको तयारीका लागि नेपालको फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्ने निर्णय गरेको हो। यस संस्करणको प्रतियोगिता आगामी जुन २१ देखि जुलाई ४ सम्म भारतको बैंगलुरुमा हुँदै छ। उक्त प्रतियोगितामा दुई आमन्त्रित राष्ट्र लेबनान र कुवेतसहित कुल आठ देशले चुनौती प्रस्तुत गर्दै छन्। सोमबारको एन्फा बैठकले मैत्रीपूर्ण खेलसहित विभिन्न १० विषयमा निर्णय गरेको हो। जसअन्तर्गत महिला विश्वकप मिसन २०२७÷०३१ लक्षित गर्दै उपाध्यक्ष दीपक खतिवडाको नेतृत्वमा समिति गठन गरेको छ।  

सो समितिमा एन्फा सदस्य पेमा डोल्मा लामा र सरिला श्रेष्ठ छन्। एन्फाले यु–१६ ‘ए’डिभिजन लिगका लागि क्लबहरूसँग छलफल गर्ने समेत भएको छ। सहिद स्मारक ‘ए’डिभिजन लिगको १६औं चरणको खेल चलिरहँदा एन्फाले लिग संयोजक तोकेको छ। एन्फाले उक्त जिम्मेवारी एन्फा उपाध्यक्ष विराटजंग शाहीलाई सुम्पिएको हो। त्यस्तै एन्फाले स्थानीय सरकार र सरोकारवालासँगको सहकार्यमा तीनवटा महिला एकेडेमी, दुई वटा पुरुष एकेडेमी र ६ वटा क्लबले सञ्चालन गरेको एकेडेमीलाई निरन्तरता दिने निर्णयसमेत गरेको छ।

एन्फाले सन् २०२३ को आफ्नो बजेट परिमार्जन गर्दै ६७ करोड आठ लाख १५ हजार दुई सय २९ रूपैयाँ पारित गरेको जनाएको छ। बैठकले सहमहासचिवको तलब ७५ हजार बनाउने निर्णय गरेको सार्वजनिक भएको थियो। त्यसबारे भने एन्फाले सार्वजनिक गरेको छैन। एन्फाका प्रवक्ता सुरेश साहले पनि सो विषयमा छलफल भए पनि निर्णय नभएको दाबी गरे। एन्फा सहमहासचिवमा अरूणमान जोशी, बद्री भट्टराई र वसन्त अर्याल छन्। साफको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित सुन्दरनरसिंह जोशीलाई उक्त बैठकले बधाई दिएको थियो।  

प्रकाशित: २६ वैशाख २०८० ०१:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App