७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

लुम्बिनीद्वारा उपाधिमा ह्याट्रिक

एथलेटिक्सको छात्र ४ गुणा ४ सय मिटर रिलेमा जुनियर राष्ट्रिय कीर्तिमान रचेको सुदूरपश्चिमका खेलाडी। तस्बिर: राखेप

लुम्बिनी प्रदेशले आइतबार १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ। लुम्बिनीले २० स्वर्ण, ८ रजत र ५ कांस्य पदक जित्दै उपाधिमाथि ह्याट्रिक गर्‍यो। लुम्बिनीले ११औं संस्करणमा २० स्वर्ण तथा १२औं संस्करणमा १६ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको थियो।

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा बाग्मती प्रदेश १० स्वर्ण, १६ रजत र १३ कांस्यसाथ दोस्रो भयो। तेस्रो स्थानको कोसी प्रदेशले ७ स्वर्ण, ५ रजत र ११ कांस्य हात पार्‍यो।

सुदूरपश्चिम प्रदेश ६ स्वर्ण, ११ रजत र १८ कांस्यसहित चौथो, कर्णाली प्रदेश ४ स्वर्ण, ३ रजत र १० कांस्यसहित पाँचौं तथा गण्डकी प्रदेश ३ स्वर्ण, ६ रजत र ५ कांस्यसहित छैटौं स्थानमा रहे। सातै प्रदेश सहभागी प्रतियोगितामा स्वर्णविहीन मधेस प्रदेश सातौं भयो। मधेसले २ रजत र ६ कांस्य हात पार्‍यो।

लुम्बिनी प्रदेशले आइतबार १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ।

विजेतालाई राखेपका उपाध्यक्ष शिव कोइराला, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य-सचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद परिषद्, गण्डकी प्रदेशका सदस्य-सचिव घनश्याम पौडेल, राखेपका सदस्य प्रकाश कुसारी, जनक बर्तौला, चन्द्राबदना राई, खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ल लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

तीन दिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो। ६ खेलमा सातै प्रदेशका ६ सय ५८ खेलाडी सहभागी थिए। एथलेटिक्सतर्फ छात्रछात्रामा समान १३–१३, भलिबल र कबड्डीतर्फ छात्रछात्रामा समान १–१, करातेतर्फ छात्रछात्रामा समान ४–४ तथा उसु र तेक्वान्दोतर्फ छात्रछात्रामा समान ३–३ स्वर्ण गरी जम्मा ५० स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न राखेपका सदस्य-सचिव टंकलाल घिसिङको संयोजकत्वमा ११ सदस्यीय प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको थियो। व्यक्तिगत, समूहगत र शीर्ष तीन स्थान हात पार्नेलाई नगद पुरस्कार प्रदान गरिएको थियो।

कुल पुरस्कार राशि ८ लाख ८५ हजार रूपैयाँ वितरण गरियो। जुनियर राष्ट्रिय कीर्तिमानका लागि छुट्टै १५ हजारका दरले नगद पुरस्कार प्रदान गरियो।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न राखेपका सदस्य-सचिव टंकलाल घिसिङको संयोजकत्वमा ११ सदस्यीय प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको थियो।

सुदूरपश्चिम प्रदेशले १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र ४ गुणा ४ सय मिटर रिलेमा आइतबार जुनियर राष्ट्रिय कीर्तिमान बनाएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चन्द्र बोहरा, अमित आउजी, कविर कामी र शुकवीर पोखरेल सम्मिलित सुदूरपश्चिमको टोलीले ३ मिनेट ३१.०० सेकेन्ड समयमा निर्धारित दूरी तय गर्दै नयाँ जुनियर राष्ट्रिय कीर्तिमान बनाएको हो।

लुम्बिनी प्रदेशका सिमन पाण्डे, लेखनाथ महरा, वेद ओली र श्रवण केवतले २०७६ सालमा बनाएको ३ मिनेट ३२.३ सेकेन्डको कीर्तिमान सुदूरपश्चिमले भंग गरेको हो। प्रतियोगितामा योसहित जम्मा ३ जुनियर राष्ट्रिय कीर्तिमान बने। अघिल्लो दिन लुम्बिनीका सुदीप थारूले छात्र लङजम्प तथा सुदीप नै सम्मिलित सुजल डाँगी, तुलसीराम थारू र रोशन थारूको टोलीले ४ गुणा १ सय मिटर रिलेमा कीर्तिमान बनाएका थिए।

प्रकाशित: १८ वैशाख २०८० ०१:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App