७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

प्रिन्सले गरे उपाधिमा ह्याट्रिक

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट पुरस्कार ग्रहण गर्दै प्रिन्स दाहाल। तस्वीर: नागरिक

नेपाल पुलिस क्लबका प्रिन्स दाहाल आइतबार १२औं पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिताको उपाधि जित्न सफल भएका छन्।

विराटनगरमा भएको प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फ उनले लगातार तेस्रो संस्करणमा पनि जित निकाल्दै उपाधिमा ह्याट्रिक गरेका हुन्। नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरीयताभित्र पुरुष एकलतर्फ पुलिसका प्रिन्सले आर्मीका प्रफुल महर्जनलाई २१–१४, २१–१७ ले पराजित गरे। प्रिन्सले नगद ५० हजार, प्रफुलले ३० हजार र तृतीय भएका विष्णु कटुवाल र रुकेश महर्जनले क्रमश १४ हजार र १२ हजार ५ सयसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

महिला शीर्ष १२ वरीयताभित्रको एकलतर्फ आर्मीकी अनुमाया राईले एक साताअघि इटहरीमा भएको प्रतियोगिताको विजेता एपिएफकी जेसिका गुरुङलाई १८–२१, २१–१७, २१–६ ले पराजित गर्दै उपाधि जितिन्। अनुमायाको पुष्पलाल स्मृतिमा यो दोस्रो जित हो। राष्ट्रिय च्याम्पियन आर्मीकी रसिला महर्जन र प्रार्थना देउवा तेस्रो भए। विजेताले ५० हजार, उपविजेता जेसिका गुरुङले २८ हजार ५ सय, तृतीय भएकी रसिलाले १२ हजार ५ सय र प्रार्थनाले ११ हजार रूपैयाँका साथ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

शीर्ष १६ वरीयताबाहेकको पुरुष एकलमा एपिएफका सुजन थापाले आर्मीका पविन लिनथेपलाई २१–१५, २१–१३ ले हराउँदै उपाधि जिते। आर्मीका हिमाल चन्द र एपिएफका प्रनिशसिंह ठकुरी तृतीय भए। महिला शीर्ष १२ देखि बाहेकको एकलतर्फ आर्मीकी विष्णा विष्टले झापाकी अञ्जना राईलाई १९–२१, २१–१९, २१–१९ ले हराइन्। पाँच थरकी रिना तामाङ र आर्मीकी टिशा रानी शाक्य तृतीय भए।

पुरुष यु–१७ तर्फ एपिएफका रोशन साउदले आर्मीका अनिल मल्ललाई २१–११, २१–१५ हराउँदै उपाधि जिते। आर्मीका कविर केसी र दाङका सनौला रैनी तृतीय भए। महिला यु–१७ तर्फ आर्मीकी रिहाना शेरचनले आर्मीकै टिशारानी शाक्यलाई २१–१०, २१–१६ हराइन्। कास्कीकी निभा राई र ताप्लेजुङकी नुमा लिम्बु तृतीय भए।

पुरुष युगलतर्फ आर्मीका विष्णु कटुवाल र पुलिसका प्रिन्स दाहालको जोडीले एपिएफका विजित थापा मगर र पुलिसका जीवन आचार्यको जोडीलाई १४–२१, २१–९, २१–१७ ले हराउँदै उपाधि जित्यो। आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी तथा कास्कीका विधान अधिकारी र पविन लिनथेपको जोडी तृतीय भए।

महिला युगलतर्फ त्रिभुवन आर्मीकी प्रार्थना देउवा र अनुमाया राईको जोडीले एपिएफकी शोभा गौचन र पुलिसकी नीता लम्सालको जोडीलाई २१–१२, २१–१९ ले पराजित गर्‍यो। एपिएफकी जेसिका गुरुङ र सुनयना मुखियाको जोडी तृतीय भयो।

नेपाल खेलकुद महसंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजना तथा मोरङ जिल्ला ब्याडमिन्टन संघको सहआयोजना प्रतियोगिता भएको हो। यस प्रतियोगितामा कुनै एक खेलाडीले लगातार ३ संस्करण जिते राष्ट्रिय ब्याडमिन्टन संघ नेपालले स्कुटर प्रदान गर्ने घोषणा गरेअनुसार १३औं संस्करणमा प्रिन्सलाई स्कुटर प्रदान गर्ने जनाएको छ। 

प्रकाशित: ८ फाल्गुन २०७९ ०१:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App