१ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

केन्याली स्टेफनद्वारा पोखरा म्याराथनको उपाधि रक्षा, महिला हाफ म्याराथनमा पुलिसकी प्रसाईद्वारा ह्याट्रिक

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १७ औं संस्करणको उपाधि केन्याली धावक स्टेफन कोसगेईले उपाधि रक्षा गर्दा नेपाल पुलिसकी राजपुरा प्रसाईले महिला हाफ म्याराथनको उपाधिमा ह्याट्रिक गरेकी छन्। कोसगेईले १६ औं संस्करणको पोखरा म्याराथनमा सहभागिता जनाउँदै गत वर्ष पहिलो पटक उपाधि उचालेका थिए।

शनिबार पोखरामा आयोजित म्याराथनमा उनले दोस्रो पटक उपाधि रक्षा गरेका हुन्। १६औं उनले कीर्तिमानी समय९२ घण्टा १९ मिनेट०सहित उपाधि जितेका थिए। त्यसभन्दा अघिको वर्ष जापानीज धावक योसुके ताकानासीले उपाधि जितेका थिए। केन्याली धावक कोसगेईले २ घण्टा २० मिनेट ०७ सेकेण्डमा पुरा गर्दै पाँच लाख नगद राशीसहितको पुरस्कार प्राप्त गरे। उनले गत वर्ष राखेको समय भने तोड्न सकेनन्। गत वर्ष उनको समय २ घण्टा १९ मिनेटको थियो।  

खुल्ला म्याराथनकै दोस्रो पुरस्कार पनि केन्याली धावकको नाममा लेखियो। दोस्रो स्थानमा केन्याली धावक जुलियस मोरियकी आए। उनले दुरीलाई २ घण्टा २० मिनेट ३७ सेकेण्ड पुरा गरे। जुलियसले नगद ३ लाख रुपैयाँ प्राप्त गरे।  तेस्रो स्थानमा भने नेपाली सेनाका धावक होमलाल श्रेष्ठ आए। उनले दुरी २घण्टा २५ मिनेट १४ सेकेण्डमा पुरा गर्दै नगद २ लाख रुपैयाँ प्राप्त गरे। तेस्रो स्थानमा भने केन्याली धावक सिमिओन किप्लागात आउँदै सान्त्वना पुरस्कार रकम थापे। उनी १६ औं संस्करणमा उपविजेता समेत हुन्। उनले ले २ घण्टा २९ मिनेट ३५ सेकेण्डमा पुरा गर्दै ३० हजार रुपैयाँ प्राप्त गरे। मञ्चले पहिलो पटक म्याराथनमा ‘चिप’को प्रयोग गरेको थियो।  

महिला हाफ म्याराथनमा राजपुराको ह्याट्रिक  

महिला तर्फको हाफ म्याराथनको उपाधि प्रसाईले उचाल्दै पोखरामा ह्याट्रिक गरिन्। महिला हाफ म्याराथनमा ह्याट्रिक गर्ने उनी पहिलो धाविका समेत हुन्। राजुपुराले १ घण्टा २३ मिनेट ०६ सेकेण्डको समय लगाउँदै पुरा गरिन।  

गत वर्षको उनको समय १ घण्टा २१ मिनेट २६ सेकेण्डको थियो। दोस्रो स्थानमा रहेकी सशस्त्र प्रहरी बलकी बृन्दा श्रेष्ठले १ घण्टा २६ मिनेट २७ सेकेण्डको समय लगाइन्। नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपानेले १ घण्टा २६ मिनेट ४९ सेकेण्डको समयमा पुरा गर्दै तेस्रो स्थानमा रहिन्। विजेता महिला हाफ म्याराथन विजेताले १ लाख ५० हजार, १ लाख रुपैयाँ र ७५ हजार रुपैयाँ प्राप्त गरे।  

म्याराथनमा १६ देशका २९ विदेशीसहित २ सय भन्दा बढी धावकले ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को टाइटलको लागि प्रतिस्पर्धा गरेका थिए। महिला हाफ म्याराथनमा एक सय धाविकाले प्रतिस्पर्धा गरेका थिए। उनीहरुलाई विभिन्न व्यक्तित्वले पुरस्कार प्रदान गरेका थिए। दौडमा केन्या, फ्रान्स, अमेरिका, बेलायत, भारत, अष्ट्रेलिया लगायतका देशका धावकको सहभागिता रहेको आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले जनाएको छ। मञ्चका अनुसार म्याराथनमा अन्तर्राष्ट्रिय म्याराथन सञ्जाल ‘एशोसिएसन अफ इन्टरनेशनल म्याराथन सोसाईटी’ (एम्स) को मान्यता पाएपछि विदेशी धावकको संख्या बढेका हुन्।  

लमजुङका बस्नेत गण्डकी प्रदेश च्याम्पियन  

१७ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा गण्डकी प्रदेशस्तरीय प्रतिस्पर्धामा लमजुङका रमजी बस्नेतले उपाधि जितेका छन्। उनले २ घण्टा ४१ मिनेट ३२ सेकेण्डको समयमा पुरा गरेका थिए। बस्नेतले नगद ५० हजार राशि प्राप्त गरे।  

गोरखाका निरज भट्ट क्षेत्री दोस्रो स्थानमा रहे। उनले निर्धारित दुरीलाई २ घण्टा ४५ मिनेट १३ सेकेण्डमा पुरा गर्दै नगद ३० हजार प्राप्त गरे। गोरखाकै श्याम मगरातीले २ घण्टा ५० मिनेट १३ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा रहे। उनले नगद २० हजार प्राप्त गरे। त्यसैगरी कास्की अन्नपूर्ण गाउँपालिकाका सरोज शर्मा भने चौथो स्थानमा आएका छन्। शर्माले २ घण्टा ५० मिनेट ३८ सेकेण्डको समय लगाए।  

१० किमी महिला/पुरुष  

पोखरा म्याराथन अन्तर्गत १० किलोमिटर महिला तर्फको इभेण्टको उपाधि सशस्त्र प्रहरी बलकी आशा रावतले प्राप्त गरिन्। रावतले ५० मिनेट १२।३ सेकेण्डमा पुरा गर्दै उपाधि आफ्नो नाममा लेखाइन्।  

नेपाल पुलिसकी धाविका बृष्मा कुमालले ५० मिनेट २९.६४ सेकेण्डको समय लगाउँदै दोस्रो स्थानमा रहिन्। नेपाली सेनाकी कल्पना खड्का तेस्रो स्थानमा रहने क्रममा ५१ मिनेट ०६.७७ सेकेण्डको समय लगाएकी थिइन। उनीहरुलाई क्रमश ३०, २० र १५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो।  

पुरुष तर्फको १० किलोमिटर दौडको पुरस्कार नेपाली सेनाका धावक सन्जय श्रेष्ठको नाममा लेखियो। श्रेष्ठले ३६ मिनेट २९.९ सेकेण्डको समय लगाउँदै उपाधि आफ्नो नाममा बनाएका हुन्। त्यस्तै नेपाली सेनाकै धावक सुवास कार्की दोस्रो स्थानमा आए। कार्कीले ३६ मिनेट ५४।९ सेकेण्डमा पुरा गरेका थिए। तेस्रो स्थानमा भने पाँचथरका दिपक सुहाङ आए। उनले ३७ मिनेट ००.८ सेकेण्डमा पुरा गरे। विजेता धावकहरुले पनि क्रमश ३०, २०, १५ हजार नगद पुरस्कार प्राप्त गरे।  

प्रकाशित: ६ फाल्गुन २०७९ ०८:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App