१ पुस २०८२ मंगलबार
image/svg+xml
खेल

केन्याली स्टेफनलाई १७ औं पोखरा म्याराथनको उपाधि

महिला हाफ म्याराथनको उपाधि पुलिसकी प्रसाँईद्वारा ह्याट्रिक

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १७ औं संस्करणको उपाधि केन्याली धावक स्टेफन कोसगेईले जितेका छन्। उनले १६ औं संस्करणमा सहभागिता जनाउँदै पहिलो पटक उपाधि उचालेका थिए। पोखरामा आयोजित म्याराथनमा उनले दोस्रो पटक रक्षा गरेका हुन्। महिला तर्फको उपाधि भने नेपाल प्रहरीकी राजपुरा प्रसाईंले उपाधि रक्षा गर्दै ह्याट्रिक गरिन्। महिला हाफ म्याराथनमा ह्याट्रिक गर्ने उनी पहिलो धाविका समेत हुन्।

नेपालमा पहिलो पटक सहभागिता जनाएका केन्याली धावक कोसगेईले १६औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा किर्तिमान बनाउँदै उपाधि आफनो बनाएका हुन्। उनी पोखरा म्याराथन जित्ने दोस्रो विदेशी धावक हुन्। १४ औं संस्करणमा जापानीज धावक योसुके ताकानासीले उपाधि जितेका थिए।  केन्याली धावक कोसगेईले २ घण्टा २० मिनेट ०७ सेकेण्डमा पूरा गर्दै पाँच लाख नगद राशीसहितको पुरस्कार प्राप्त गरे। उनले गत वर्ष राखेको समय भने तोड्न सकेनन्। गतवर्ष उनको समय २ घण्टा १९ मिनेटको थियो।

खुल्ला म्याराथनकै दोस्रो पुरस्कार पनि केन्याली धावकको नाममा लेखियो। दोस्रो स्थानमा केन्याली धावक जुलियस मोरियकी आए। उनले दूरीलाई २ घण्टा २० मिनेट ३७ सेकेण्ड पूरा गरे। जुलियसले नगद ३ लाख रुपैयाँ प्राप्त गरे।  तेस्रो स्थानमा भने नेपाली सेनाका धावक होमलाल श्रेष्ठ आए। उनले दूरी २ घण्टा २५ मिनेट १४ सेकेण्डमा पूरा गर्दै नगद २ लाख रुपैयाँ प्राप्त गरे।

महिला तर्फको हाफ म्याराथनको उपाधि प्रसाईंले उचाल्दै पोखरामा ह्याट्रिक गरिन्। प्रसाईंले १ घण्टा २३ मिनेट ०६ सेकेण्डको समय लगाउँदै पूरा गरिन्। गत वर्षको उनको समय १ घण्टा २१ मिनेटमा २६ सेकेण्डको थियो। दोस्रो स्थानमा रहेकी सशस्त्र प्रहरी बलकी बृन्दा श्रेष्ठले १ घण्टा २६ मिनेट २७ सेकेण्डको समय लगाइन्। नेपाली सेनाकी पूर्णलक्ष्मी न्यौपानले १ घण्टा २६ मिनेट ४९ सेकेण्डको समयमा पूरा गर्दै तेस्रो स्थानमा रहिन्। विजेता महिला हाफ म्याराथन विजेताले १ लाख ५० हजार र दोस्रोले १ लाख रुपैयाँ र ७५ हजार रुपैयाँ प्राप्त गरे।

म्याराथनमा १६ देशका २९ विदेशीसहित २ सय भन्दा बढी धावकले ‘पोखरा अन्तराष्ट्रिय म्याराथन’को टाईटलको लागि प्रतिस्पर्धा गरेका थिए। उनीहरुलाई विभिन्न व्यक्तित्वले पुरस्कार प्रदान गरेका थिए। दौडमा केन्या, फ्रान्स, अमेरिका, बेलायत, भारत, अष्ट्रेलिया लगायतका देशका धावकको सहभागिता रहेको आयोजक भूतपूर्व खेलाडी मञ्च नेपालले जनाएको छ। 

प्रकाशित: ६ फाल्गुन २०७९ ०७:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App