१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

पुष्पलाल ब्याडमिन्टन प्रतियोगिता: पहिलो दिनमै प्रिन्सलाई दोहोरो सफलता

१२ औँ पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिताको उद्घाटनको दिनमा भएको खेलमा नेपाल पुलिसका प्रिन्स दाहाललाई दोहोरो सफलता मिलेको छ।

विराटनगरमा मङ्गलवार देखी सुरु भएको प्रतियोगितामा राष्ट्रिय च्याम्पियन एवं विश्व वरियतामा जुनियरतर्फ उच्च स्थानमा रहिसकेका प्रिन्स दाहालले पहिलो खेलमा कास्कीका विधान अधिकारीलाई २१–१७, २१–११ ले तथा अर्को खेलमा नेपाल पुलिसकै पूर्ण बोहराबाट वाकओभर प्राप्त गर्दै दोहोरो सफलता पाएका हुन्।

नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरियतामा रहेका खेलाडीहरूको पुरुष एकलतर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लका रुकेश महर्जनलाई दोहोरो सफलता मिलेको छ। महर्जनले पहिलो खेलमा कास्कीका भूगोल गुरुङबाट वाकओभर पाए भने दोस्रो खेलमा सशस्त्र प्रहरी बलको (एपिएफ) का रोशन साउदलाई २१–११, २१–१३ ले पराजित गरे। पुलिसका विष्णु कटुवालले पहिलो खेलमा एपिएफका रोशन साउदलाई २१–१३, २१–१४ ले तथा दोस्रो खेलमा कास्कीका भूगोल गुरुङबाट वाकओभर पाउँदै दोहोरो सफलता पाए।

त्यस्तै, एपिएफका देवराज रानाले पहिलो खेलमा एपिएफकै विजित थापा मगरलाई २१–१९, २२–२० ले पराजित गरे भने दोस्रो खेलमा पुलिसका दीपक बोहरालाई २१–९, २३–२१ ले पराजित गर्दै दोहोरो सफलता पाए। पुलिसका जीवन आचार्यले पहिलो खेलमा पुलिसकै पूर्णबहादुर थापाबाट वाकओभर पाए भने दोस्रो खेलमा कास्कीका विधान अधिकारीसँग १७–२१, १७–२१ ले पराजित भए।

एपिएफका क्षितिज खनालले पहिलो खेलमा पुलिसका दीपक बोहरालाई २१–१५, २१–१२ ले पराजित गरे भने दोस्रो खेलमा एपिएफकै विजित थापा मगरलाई २१–१२, २१–१० ले हराउँदै दोहोरो सफलता पाए। पुलिसका सुनिल जोशीले पहिलो खेलमा आर्मीका नरेन्द्र बमलाई २१–७, १४–२१, २१–१४ ले र दोस्रो खेलमा आर्मीकै अनिल मल्ललाई २२–२०, २१–९ हराए।

आर्मीका प्रफुल महर्जनले पहिलो खेलमा आफ्नै क्लबका अनिल मल्ललाई २१–६, २१–१० ले तथा दोस्रो खेलमा आर्मीकै नरेन्द्र बमलाई २१–८, २१–७ ले पराजित गर्दै दोहोरो जित निकाले। १६ वरियतामा रहेका खेलाडीहरूलाई ४ समूहमा विभाजन गरेर लिगका आधारमा खेल खेलाइएको छ।

प्रतियोगिताको शीर्ष १२ औँ वरियतामा रहेको महिला एकलतर्फ राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जनले कैलालीकी अनिला सुनारलाई २१–७, २१–७ को सोझो सेटमा हराइन्। आर्मीकै अमिता गिरीले कञ्चनपुरकी नीलम महराबाट रिटायर्डहर्टको आधारमा जितिन्। एपिएफकी जेशिका गुरुङले मोरङकी सीमा राजवंशीबाट वाकओभर पाइन्। महिलातर्फ १२ शीर्ष वरियतामा रहेको खेलाडीलाई ४ समूहमा विभाजन गरी लिगको आधारमा खेलाइएको छ।

जित निकालेर दोस्रो चरण प्रवेश गर्ने क्रममा काठमाडाैँ ब्याडमिन्टन एकेडेमीका बबिस थापाले पर्साका विशेष राईलाई २१–९, २१–२ ले हराए।

प्रकाशित: २ फाल्गुन २०७९ १४:५६ मंगलबार