१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

सत्यवती एकेडेमी र लोटस आई सेमिफाइनलमा

डिफेन्डिङ च्याम्पियन सत्यवती एकेडेमी र लोटस आई स्कुल धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिगको सातौं संस्करणमा सेमिफाइनल पुग्न सफल भएका छन्।

फाप्ला मैदानमा आइतबार सम्पन्न दुई खेलमा सत्यवतीले भुवनेश्वरी विद्यामन्दिर कञ्चनपुरलाई तथा लोटस आईले सैनिक आवासीय महाविद्यालय तेघरीलाई हराउँदै सेमिफाइनलमा पुगेका हुन्। अत्तरियाका टोलीद्वय सत्यवती र लोटस आई समूह ‘बी’को शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुगेका छन्। पाँच टोली सम्मिलित समूहमा सत्यवतीले चारै खेलमा जित निकाल्दा लोटस आईले तीन जित र एक हार बेहो¥यो। दिनको पहिलो खेलमा सत्यवतीले भुवनेश्वरी विद्यामन्दिरलाई ३९ रनले हरायो। १३७ रनको लक्ष्य पछ्याएको भुवनेश्वरी १६.४ ओभरमा ९७ रनमै समेटियो।

भुवनेश्वरीका कुनै पनि ब्याटरले १४ रन पार गर्न सकेनन्। विपिन धामी र कैलाश ऐरको १४ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। सत्यवतीका बलर युवराज खत्रीले सर्वाधिक तीन विकेट लिँदा चार ओभरमा २३ रन मात्र खर्चिए। उनी प्लेयर अफ दी म्याच घोषित भए। जित साउद र सुजन गौतमले २÷२ तथा नीरज भट्टले एक विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवतीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १ सय ३६ रन बनायो। सत्यवतीका ब्याटर खगेन्द्र जोशीले सर्वाधिक ३७ रन बनाए।  

सुजन गौतमले २६, सोनु अन्सारीले १८ तथा जित साउदले अविजित १४ रन बनाए। भुवनेश्वरीका कैलाश ऐर, खगेन्द्र ठगुन्ना र राहुल चन्दले २÷२ विकेट लिए। दोस्रो खेलमा लोटस आई स्कुलले सैनिक आवासीय माविमाथि १ सय ५ रनको फराकिलो जित निकाल्यो। १ सय ७३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको सैनिकले निर्धारित २० ओभर नै खेले पनि आठ विकेट क्षतिमा ६७ रन मात्र जोडेपछि लोटस आईले समूहमा तेस्रो जित निकाल्यो। सैनिकको सन्दीप बिस्टले २४ तथा विशाल ऐरले १६ रन बनाए।  

लोटसका बलर सन्तोष बिजलेले सर्वाधिक तीन विकेट तथा आयुब चन्द र प्रेम शाहले २÷२ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको लोटस आईले २० ओभरमा चार विकेट गुमाएर १ सय ७२ रन बनायो। लोटस आईका योगेश भाटले सर्वाधिक ७८ रन जोड्दा १० चौका र तीन छक्का प्रहार गरे। आयुब चन्दले ६१ रन बनाए। अलराउन्ड प्रदर्शन गरेका आयुब प्लेयर अफ दी म्याचसमेत घोषित भए। सोमबार समूह ’ए’ का नव बालवाटिका र गुराँस एकेडेमी तथा होली कञ्चनपुर र वेस्टर्न क्रिस्टलबीच खेल हुनेछ।  

समूह ‘ए’ बाट लिटल फ्लावर स्कुलले सेमिफाइनलमा स्थान बनाइसकेको छ। बाँकी एक स्थानका लागि समूहका चारै टोलीको सेमिफाइनल सम्भावना छ। लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सको आयोजनामा फागुन ६ गतेसम्म हुने प्रतियोगिताको विजेताले दुई लाख ५१ हजार १ सय ११ र उपविजेताले १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन्। उदीयमान खेलाडीले नगद पाँच हजार रूपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। 

प्रकाशित: १ फाल्गुन २०७९ ००:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App