७ वैशाख २०८१ शुक्रबार
खेल

महिला भलिबल शनिबारदेखि

फाइल तस्वीर

छैटौं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ। शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितामा साबिक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश भलिबल संघ र एभरेस्ट भलिबल क्लब गरी ६ टोलीको सहभागिता रहनेछ। नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेल सञ्चालन गरिने भएछ।

माघ २४ गतेसम्म आयोजना हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ। प्रतियोगिताका विजेता टोलीले नगद तीन लाख रूपैयाँ पुरस्कार पाउनेछन्। यस्तै उपविजेताले एक लाख ५० हजार र तेस्रो हुने टोलीले ७५ हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजारसँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए।

यस्तै विधागततर्फका उत्कृष्ट हुनेलाई जनही १५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १० हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। एक उदीयमान खेलाडीलाई नगद १५ हजारसहित इमर्जिङ प्लेयर अवार्डबाट सम्मानित गरिने खड्काले जानकारी दिए। यसै गरी छैटौं संस्करणको उद्घाटनका अवसरमा एक जना राष्ट्रिय खेलाडीलाई नगद ५० हजार रूपैयाँसहित स्पेसल अवार्डबाट सम्मानित पनि गरिने भएको छ।

बहुराष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकको मुख्य प्रायोजनमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब ४० लाख रूपैयाँ खर्च लाग्ने अध्यक्ष खड्काले जानकारी दिए। उनले महिला भलिबल खेलाडीको सशक्तीकरण र क्षमता अभिवृद्धि गर्ने उद्देश्य अनुरूप प्रतिष्ठानले भलिबल प्रतियोगिता आयोजना गर्दै आएको बताए। केएनपी नेरोलेकसँग सम्झौता शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले बहुर्राष्ट्रिय पेन्ट कम्पनी केएनपी नेरोलेकसँग मुख्य प्रायोजनको सम्झौता गरेको छ।

केएनपी नेरोलेकका कन्ट्री हेड मनोज मिश्र र प्रतिष्ठानकी संरक्षक गमली खड्काले सम्झौतामा हस्ताक्षर गरे। केएनपी नेरोलेकका कन्ट्री हेड मिश्रले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रतिष्ठानसँग सहकार्य गर्दै आएको बताए। उनले प्रतिष्ठानका कार्यक्रमका लागि आगामी दिनमा पनि निरन्तर सहकार्य गर्न तत्पर रहेको बताए।  

प्रकाशित: १९ माघ २०७९ ००:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App