१ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

स्मिथ र मार्शको अर्धशतक

कोलम्बो- कप्तान स्टेभन स्थिम र सान मार्शले अर्धशतक बनाएपछि श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टेस्टको पहिलो इनिङमा अस्ट्रेलियामाथिको दबाब कम भएको छ। त्यसअघि दिनेश चन्डिमालको शतकीय इनिङमा घरेलु टोलीले अस्ट्रेलियामाथि दबाब बनाएको थियो।

डेभिड वार्नरलाई सस्तैमा गुमाएको अस्ट्रेलियाले १ विकेटको क्षतिमा १ सय ४१ रन बनाउँदा दोस्रो दिन आइतबारको खेल सकिएको छ। अस्ट्रेलिया पहिलो इनिङमा अझै २ सय १४ रनले पछाडी छ। श्रीलंकाले पहिलो इनिङमा सबै विकेट गुमाई ३ सय ५५ रन बनाएको थियो।

टेस्ट क्रिकेटमा पहिलो पटक शतक बनाएका श्रीलंकाका धनन्जय डी सिल्भाले वार्नर (११) को महत्वपूर्ण विकेट लिएका थिए। तर दिनको खेल सकिदाँ कप्तान स्मिथ ६१ र मार्श ६४ रनमा अविजित छन्। स्थिम र मार्शको जोडीले दोस्रो विकेटका लागि १ सय २० रनको साझेदारी गरिसकेका छन्।

१ सय ८ बल खेलेका स्थिमले ५ चौका र १ छक्का प्रहार गरेका छन्। मार्शले १ सय ४१ बल खेल्ने क्रममा १० चौका प्रहार गरेका छन्।

डी सिल्भा १३ रन थप्दै १ सय २९ रनमा आउट भएका थिए। ५ विकेटको क्षतिमा २६ रनमात्र जोडेको श्रीलंका लागि चन्डिमाल र डी सिल्भाको जोडीले उकासेको थियो। टेस्टमा सातौं शतक पूरा गरेका चन्डिमालले रंगना हेराथसँग अर्को महत्वपूर्ण ७३ रनको साझेदारी गरेका थिए। रिटायर्ड हर्ट हुनुअघि हेराथले ३३ रन बनाएका थिए। चन्डिमाल र हेराथले सहजतापूर्वक ब्याटिङ गर्दै अस्ट्रेलियाका बलरलाई हैरान पारेको खेल वर्षाले केही समय अवरुद्ध पारेको थियो। श्रीलंकालाई केही राहत अस्ट्रेलियन खेलाडीले पनि दिए। चन्डिमाल र हेराथको दुवै क्याच स्मिथले ड्रप गरेका थिए। पहिलो दिन सान मार्शले पनि डी सिल्भा १ सय ४ रनमा हुँदा क्यान ड्रप गरेका थिए। तीब्र गतिका अस्ट्रेलियन बलर मिचेल स्टार्कले ६३ रन दिएर ५ विकेट लिएका थिए। स्टार्कलाई नाथन लियोनले राम्रो साथ दिएपछि सुरुमा श्रीलंका दबाबमा परेको थियो। लियोनले ३ विकेट लिएका थिए।

प्रकाशित: ३१ श्रावण २०७३ ०३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App