२१ पुस २०८२ सोमबार
image/svg+xml
खेल

‘उपाधिपछि मेरो करियर पूरा भयो’

जब फुटबलकाे कुरो आउँछ, त्यहाँ पैसाले विश्व नै किन्न सकिन्छ। विश्वकपमा पनि किन्न सकिन्छ भने विश्वकै उत्कृष्ट खेलाडी पनि। त्यही पैसाको शक्ति कतारले आफ्नो सहर लुसेलमा देखाएको छ। अर्जेन्टिना आइतबार फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै तेस्रो पटक विश्व च्याम्पियन बन्यो।  

यो सफलताले मेसीलाई जीवनकै सबैभन्दा ठूलो सफलता दिलायो। ९२ वर्षे विश्वकप इतिहासमा सनसनीपूर्ण फाइनलको निर्धारित र अतिरिक्त समय ३–३ को बराबरीमा सकियो। जहाँ मेसीले दुई गोल गर्दा किलियन एम्बाप्पेले ह्याट्रिक पूरा गरे। ‘यो फाइनल अद्भुत रह्यो,’ अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले भने, ‘कसैका लागि यो एक फुटबल मात्र होला र त्योभन्दा बढी विश्वकप। तर, हाम्रा लागि यो फुटबल मात्र होइन, यो एक पर्व नै हो। त्यसैले हामी उत्साहपूर्वक मनाउँछौं।’ कतारले यो विश्वकपका लागि २०० बिलियन डलर खर्चको गरेको छ।  

कतारी स्वामित्वमा नै रहेको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पिएसजी० ले सयौं मिलियन डलर स्टार खेलाडी लियोनल मेसी र एम्बाप्पेका लागि खर्च गरिरहेको छ। तेल र ग्यासले धनी खाडी मुलुक कतारले विश्वकप ठूलो लगानी गर्दै सम्पन्न गरेको छ। कतारी राजा शेख तमिम बिन हमाद अल थानीले विश्वकप फाइनलको पुरस्कार वितरण समारोहमा मेसीलाई आफ्नो परम्परागत पहिरन लगाइदिएका थिए। मेसीले त्यही पहिरनमा विश्वकप ट्रफी नै उठाए। यो उपाधिसँगै मेसी आफूलाई सर्वाकालीन महान् खेलाडी डिएगो म्याराडोनासँगै उभ्याउन सफल भए।  

यता, फ्रान्स भने ब्राजिलको सन् १९५८ र ६२ मा जस्तै लगातार दुई विश्वकप उपाधि उचाल्न असफल रह्यो। समूहचरणको पहिलो खेलमा साउदी अरेबियासँग हारका बावजुद लयमा फर्किंदै अर्जेन्टिना च्याम्पियन बन्न सफल भयो। जुन, सन् २०१० मा स्पेनले सफलता पाएको थियो। स्पेनले पहिलो खेल हारे पनि लय समाउँदै पहिले पटक विश्वकप उचालेको थियो। यता, मोरक्को सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन राष्ट्र बन्न सफल भयो। फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कतार विश्वकप अहिलेसम्मकै उत्कृष्ट आयोजना भएको प्रतिक्रिया दिए।

कतारप्रति राम्रो धारणा राख्ने उनी मात्र होइनन्। सन् २०१८ र ०२२ को विश्वकप दाबेदारीका लागि इङ्ल्यान्डका अन्तर्राष्ट्रिय प्रमुख डेविड डिइनले पनि कतारले यो विश्वकपबाट धेरै साथीहरू कमाएको प्रतिक्रिया दिएका थिए। डेविडले करिब ५० भन्दा बढी विश्वकपका खेल हेरे र उनलाई यो आयोजनाले कतारलाई धेरै परिवर्तन गराउने विश्वास छ। अब कतार सर्वाकालीन स्टार मेसीसँग पनि जोडिएको छ। मेसीले आफ्नो करियरको अन्त्यमा अपुरो रहेको सफलता विश्वकप कतारमा नै जित्न सफल भए। ‘यसको लागि धेरै समय लाग्यो। तर, अन्ततः प्राप्त गरें,’ मेसीले भने, ‘अवश्य पनि यो उपाधिपछि मेरो करियर पूरा भएको छ। योभन्दा बढी मलाई केही चाहिँदैन।’

३५ वर्षे मेसीका लागि यो विश्वकप अन्तिम नै हुन सक्छ। त्यसैले यो विश्वकपमा उनको गोल, एसिस्ट र पासमा दर्शक धेरै रमाएका थिए। मेसीको यो सफलतामा पिएसजीका सहकर्मी एमबाप्पेले भने २३ वर्षमा दुई विश्वकप उपाधि जित्न सकेनन्। तर, मेसी र क्रिस्टियानो रोनाल्डोपश्चात् अब एमबाप्पे नै अबको स्टार रहने पक्का छ। विश्वकप इतिहासमा ५६ वर्षपछि फाइनलमा ह्याट्रिक दोहोरिँदा त्यो सफलता एम्बाप्पेको नाममा जोडिएको छ। सर्वाधिक आठ गोलसहित गोल्डेन बुट विजेता बने। कतारले पनि आफ्नो अत्यधिक लगानीको विश्वकपमा कुनै घटनाबिना सम्पन्न गर्‍यो। 

प्रकाशित: ५ पुस २०७९ ०२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App