८ वैशाख २०८१ शनिबार
खेल

सुखद नतिजाको खोजीमा क्रोएसिया र मोरक्को

अभ्यासका दौरानमा क्रोएसियाका खेलाडी । तस्बिर: एपी

विश्वकपको उपाधि उचाल्ने लक्ष्य क्रोएसिया र मोरक्कोका लागि समाप्त भए पनि शनिबार यी दुई टोली तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दै छन्। दुबै टोली प्लेअफमा सुखद नतिजा निकाल्दै कतार विश्वकप २०२२ लाई बिट मार्ने लक्ष्यमा हुनेछन्।  

प्लेअफ खेल्न लागेको टोली क्रोएसियाका फरवार्ड आन्द्रेज क्रामारिचले खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुन लागेको प्लेअफ खेल अर्थहीन तरिकाले हेर्ने गरेको भन्ने भनाइलाई अस्वीकार गरे। उनले विश्वकप जस्तो प्रतियोगितामा कुनै पनि स्थानमा रहेर मेडल पहिरिनु अर्थपूर्ण हुने भन्दै प्लेअफ खेल अर्थहीन भन्ने विषयलाई अस्वीकार गरेका हुन। ‘प्लेअफ खेल अर्थहीन हो भनेर मोरक्कोका खेलाडीलाई सोध्ने हो भने पनि उनीहरू अस्वीकार गर्छन्। प्रतियोगितामा सहभागी भएर मेडल पहिरिनु पनि सफलता हो,’ बिहीबार आयोजना भएको पत्रकार सम्मेलनमा फरवार्ड क्रामारिचले भने, ‘फाइनल पुग्ने अवसर गुमाए पनि हामी तेस्रोका लागि प्रतिस्पर्धा गर्दै छौं। मोरक्कोले पनि तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ। विश्वकपको मेडल जितेको अवस्थामा जोकोही खेलाडीलाई देशले सम्मान गर्छ। खेलमा जीवन अर्पण गरेका खेलाडीका लागि त्योभन्दा खुसीको क्षण के हुन सक्छ। मेडल चाहे त्यो पहिलो, दोस्रो या तेस्रो होस्।’

कतार विश्वकप २०२२ को संस्करणअन्तर्गत उद्घाटन खेलमा प्रतिस्पर्धा गरेका टोली क्रोएसिया र मोरक्को फाइनलअघिको खेल खेल्न लागेका हुन्। पहिलो खेल गोलरहित बराबरीमा रोकिएका दुबै टोली शनिबार भने जितको खोजीमा हुनेछन्। दुबै अन्तिम खेल सुखद बनाउने रणनीतिका साथ मैदान उत्रनेछन्। क्रोएसिया अर्जेन्टिनासँग फाइनल प्रवेशबाट रोकिएको थियो भने मोरक्को साबिक विजेता फ्रान्ससँग पराजित भएको थियो। क्रोएसिया पेनाल्टी सुटआउटमा अर्जेन्टिनासँग पराजित भएको थियो भने विश्वकपको सेमिफाइनलमा स्थान बनाउने पहिलो अफ्रिकी राष्ट्र बनेको मोरक्कोले फ्रान्सलाई २–० को नतिजा सुम्पिएको थियो।  

मोरक्कोका प्रशिक्षक वालिद रिग्रेगीले कतार विश्वकप २०२२ मा आफ्नो यात्रा सेमिफाइनलमा सीमित भए पनि आफ्नो टोलीप्रति गर्व भएको भन्दै तेस्रो स्थानका लागि खेल्न तयार भएको बताएका छन्। रिग्रेगीले फ्रान्स रणनीतिक रूपमा बलियो भएको फाइदा उठाउँदै फाइनल प्रवेश गर्न सफल भएको र क्रोएसियासँग हुने प्लेअफमा फ्रान्सविरुद्ध भएका गल्ती सच्याउँदै प्रतिस्पर्धा गर्ने बताए।

‘हामीले सेमिफाइनलको यात्रा तय गर्ने पहिलो अफ्रिकी राष्ट्रको कीर्तिमान बनायांै। हामीले मोरक्कोलाई मात्र नभई अफ्रिका र अरबलाई नै खुसी बनाउन सक्यौं। यो नै हामीले बनाएको इतिहास हो,’ वालिद रिग्रेगीले भने, ‘हामीले विभिन्न राजनीतिक आस्था भएका राष्ट्रलाई पनि एकै ठाउँमा ल्याउन सफल भयांै बेल्जियम, स्पेन र पोर्चुगलजस्ता बलियो राष्ट्रलाई हराउनु हामीलाई मिलेको ठूलो उपलब्धि हो। हामी यो हारलाई भुल्दै थप बलियो भएर आउनुपर्छ। मोरक्कोको फुटबल भविष्य पनि उज्यालो छ।’

 

पहिलो खेल गोलरहित बराबरीमा रोकिएका दुबै टोली शनिबार भने जितको खोजीमा हुनेछन्। दुबै अन्तिम खेल सुखद बनाउने रणनीतिका साथ मैदान उत्रनेछन्।

प्रकाशित: २ पुस २०७९ ०२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App