१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

विश्वकपले सुधार हुँदै कूटनीतिक सम्बन्ध

पहिलोपटक हुन लागेको कतार उडानका लागि तेल अभिभको एयरपोर्टमा बोर्डिङ गर्दै इजरायली नागरिक। तस्बिर: एजेन्सी

खराब सम्बन्धका बाबजुद विश्वकप फुटबल २०२२ का कारण इजरायलबाट कतार विश्वकपको टिकट बाहकलाई लक्षित गर्दै पहिलोपटक कतारका लागि हवाइ सेवा सुरु भएको छ।

फुटबलको प्रशासकीय निकाय फिफा अनुसार गत हप्ता मात्र कतारले साइप्रसको हवाइ एयरवेज टसबाट इजरायल र दोहाबीच पहिलो पटक व्यावसायिक हवाइ उडान सुरु हुने जनाएको थियो। कतार सरकारले स्वीकृति दिएसँगै आइतबारदेखि इजरायलबाट दोहाका लागि व्यावसायिक हवाइ उडान सुरु भएको हो।

इजरायलको परराष्ट्र मन्त्रालयका अधिकारी लिओर हाइयतले तेल अभिभनजिक बेन गुरिवन विमानस्थलबाट भएको हवाइ सेवा ऐतिहासिक भएको प्रतिक्रिया दिए। ‘उडानसँगै यो एउटा ऐतिहासिक क्षण बनेको छ। तेल अभिभ र दोहाबीच सीधा उडान भएको छ,’ती अधिकारीले भनेका छन्।

फिफाले नोभेम्बर १० मा सीधा उडान हुने भन्दै घोषणा गरेको थियो। त्यो घोषणासँगै प्यालेस्टाइनबाट टिकट काट्ने र सञ्चार माध्यमका प्रतिनिधि सीधै चार्टर हवाइबाट विनाबाधा कतार पुग्नेछन्। तर, टिकटबाहक बाहेकका लागि भने यो सुविधा लागू हुने छैन। कतार विश्वकपसँग जोडिएका अधिकारीका लागि मात्र सहज देखिएको छ। फिफाले इजरायलसँग जोडिएर सहज बनाउने प्रयास भए पनि सुरक्षाको विषयमा भने चासो राखेको छ। इजरायललाई सुरक्षा व्यवस्थापनमा राम्रो भूमिका निर्वाह गर्न फिफाले आग्रह गरिसकेको छ।

इजरायलका परराष्ट्र अधिकारी हाइयतले कतारमा रहँदा मर्यादाको विषयमा ध्यान दिन आफ्ना नागरिकलाई विशेष आग्रह पनि गरेका छन्। पहिलो बोर्डिङ पास बनाउँदै कतार भ्रमण गर्न लागेका इजरायलका ३५ वर्षे हादर सेगलले यात्रा विशेष र ऐतिहासिक भएको प्रतिक्रिया दिए। सो क्रममा उनले इङ्ल्यान्ड र इरानको खेल हेर्ने योजना बनाएका छन्।

इजरायल इरानको कट्टर विरोधी भए पनि हादरले इरानको पक्षमा समर्थन गर्ने बताए। यस्तै अर्जेन्टिना र साउदी अरेबिया बीचको प्रतिस्पर्धामा पनि उनको मन अरब राष्ट्रप्रति नै ढल्किनेछ। यद्यपि, इजरायल र साउदी अरबबीच सम्बन्ध चिसो छ। 

प्रकाशित: ५ मंसिर २०७९ ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App