घर लिप्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर जुम्लामा एक महिलाको मृत्यु भएको छ भने अर्की एक जना घाइते भएकी छन्।
जुम्लाको चन्दननाथ नगरपालिका–९ मा बिहीबार बिहान करिब ११ बजेतिर माटो खनिरहेका दुई महिलालाई अचानक खसेको माटोको ठूलो ढिस्कोले पुरेको थियो।
ढिस्कोमा परी ४७ वर्षीया कृष्णमाया तिमिल्सेनाले ज्यान गुमाएकी छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी शालिकराम खनालका अनुसार घर पोत्ने माटो खन्ने क्रममा एक्कासि माथिबाट ढिस्को खस्दा उनीहरू पुरिएका थिए।
‘ढिस्कोले पुरिएलगत्तै दुवै जनालाई तत्काल उद्धार गरेर अस्पताल लगिएको थियो,’ खनालले भने।
गम्भीर अवस्थामा उद्धार गरिएकी तिमिल्सेनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो। तर, अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भयो।
उनीसँगै पुरिएकी अन्दाजी ४० वर्षीया तारा धर्ती भने सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किसकेकी छन्।
प्रकाशित: ५ चैत्र २०८२ २०:५५ बिहीबार





