कैलालीको गोदावरी नगरपालिका–७ जमुनानगरकी देवी पाठकको जन्म विसं २०६१ मङ्सिर २९ गते डोटीको आदर्श गाउँपालिकामा भएको हो। उनी जन्मजात न्यून दृष्टिविहीन हुन्। जन्म डोटीमा भए पनि घरको आर्थिक अवस्था कमजोर भएपछि परिवार बसाइँसराइ गरी कैलाली आएपछि उनको बाल्यकाल जमुनानगरमै बित्यो।
जन्मदेखि नै दृष्टिसम्बन्धी अपाङ्गता भएकी देवीको बाल्यकाल सहज थिएन। एकातिर आर्थिक अभाव, अर्कोतर्फ अपाङ्गता भएका व्यक्ति भनेर समाजमा अपहेलना सहनुपर्थ्यो। त्यसका बाबजुद उनले गाउँकै दुर्गा भवानी माध्यमिक विद्यालयबाट पढाइ सुरु गरिन्। कक्षामा सधैँ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीका रूपमा चिनिन्थिन्।
पढाइ रोक्न दबाब
पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि उनको रुचि थियो। कक्षा ८ को परीक्षा चलिरहँदा घरपरिवार र गाउँसमाजबाट पढाइ रोक्न दबाब आउन थाल्यो।
देवी भन्छिन्, “एकातिर घरको आर्थिक अवस्था कमजोर थियो, अर्कोतर्फ दृष्टिसम्बन्धी अपाङ्गता भएकी भएर होला, पढेर के हुन्छ र ? भन्ने प्रश्न उठाइन्थ्यो। आमाबुवाले पनि अब नपढ्ने निर्णय गरेपछि धेरै रोएँ। असल र सामाजिक व्यक्ति बन्ने सपना त्यहीँ रोकिने जस्तो लाग्यो। लामो समय रोएरै दिन बिताएँ।”
आर्थिक अभावकै कारण उनले पढाइ छोड्ने निर्णय गरिन्। त्यहीबीच कक्षा ८ को नतिजा सार्वजनिक भयो र उनी उत्कृष्ट नतिजासहित उत्तीर्ण भइन्। तर पास भए पनि पढाइ रोकिने अवस्थामा पुगिसकेको थियो।
सहयोगले निरन्तरता
आर्थिक अवस्था कमजोर र दृष्टिविहीनता दुबै कारण पढाइ रोक्न बाध्य भएकी देवीको जीवनमा परिलक्षित संस्थाको सहयोग निर्णायक बन्यो।
“समाजबाट पढेर के गर्न सक्छे र ? भन्ने प्रश्न आउँथ्यो। म पनि अब पढ्दिन भन्ने सोचमा पुगेकी थिएँ। एक दिन गाउँकै पुष्पा रोकाय दिदीसँग भेट भयो। उनले आर्थिक अवस्था कमजोर र अपाङ्गता भएका व्यक्तिलाई परिलक्षित संस्थाले छात्रवृत्ति दिन्छ भनेपछि म धेरै खुसी भएँ,” उनले स्मरण गरिन्।
आवेदन दिएपछि उनी छनोट भइन् र छात्रवृत्ति पाउन सफल भइन्। “रोकिन लागेको पढाइले फेरि निरन्तरता पायो। त्यो दिनको खुसी बयान गर्न सक्दिन। ९ कक्षामा भर्ना भएँ, झनै उत्साह बढ्यो। २०७५ सालमा एसइई पास गरेपछि आमाबुवा पनि खुसी भए,” उनले भनिन्।
परिलक्षित संस्थाले शैक्षिक सहयोग कार्यक्रमअन्तर्गत सबै खर्च व्यहोर्दै आएको छ। यस कार्यक्रमबाट आफूजस्ता धेरै विद्यार्थी लाभान्वित भएको उनले बताइन्।
देवीका आमा सरुदेवी पाठक र बुवा नवराज पाठकका अनुसार छोरीको सङ्घर्ष र मेहनतमा परिलक्षित संस्थाको सहयोग अवसरका रूपमा आयो। उनीहरूले हौसला र अवसर पाएमा अपाङ्गता भएका व्यक्ति पनि सफल बन्न सक्ने भन्दै घरपरिवार र समाजले उपेक्षा गर्न नहुने धारणा राखे।
काम गर्दै पढ्दै
एसइईपछि बैंकिङ क्षेत्रमा करिअर बनाउने लक्ष्यसहित उनले प्लस टुमा लेखा विषय रोजिन्। अहिले घरपरिवार र समाजबाट सहयोग र हौसला मिलिरहेको छ। पढाइसँगै अपाङ्गता अधिकारको क्षेत्रमा पैरवीसमेत गरिरहेकी छन्।
विभिन्न सङ्घसंस्थामा संलग्न हुँदै अनुभव बटुलिरहेकी देवी स्नातक तह पूरा गर्ने तयारीमा छन्। हाल अपाङ्गता एकता समाज कैलालीमा लेखापालका रूपमा कार्यरत छिन्। साथै, अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि निरन्तर पैरवी गरिरहेकी छन्।
नेपाल अपाङ्गता महिला सङ्घ कैलालीकी अध्यक्षका रूपमा पनि सक्रिय उनी सरकारी सेवामा प्रवेश गरी अपाङ्गता भएका व्यक्तिको अधिकार सुदृढ गर्ने लक्ष्यका साथ तयारीमा जुटेकी छन्।
प्रकाशित: १० फाल्गुन २०८२ १५:२३ आइतबार





