पछिल्लो दुई सातादेखि उदयपुरमा जङ्गली हात्तीको समूहले आतंक मच्चाएको छ।
सदरमुकाम त्रियुगा नगरपालिका हुँदै अहिले पहाडी भेग उदयपुरगढी गाउँपालिकासम्म पुगेर हात्तीले घरटहरा भत्काउने र अन्नबाली नष्ट गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन्।
विगत १५ दिनदेखि जिल्लाका विभिन्न स्थानमा डुलिरहेको हात्तीको समूहले मंगलबार मात्रै उदयपुरगढी गाउँपालिका-७ नाङराँगेमा ठुलो क्षति पुर्याएको छ।
वडाध्यक्ष भुवन केप्छाकी मगरका अनुसार नजिकैको जङ्गलबाट आएका ४ वटा हात्तीले स्थानीय खसबहादुर मगरको घर र भान्सा कोठा भत्काउँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
यस्तै, सोही ठाउँका टेकबहादुर मगरको घर र खाद्यान्न नष्ट गर्दा ६१ हजार तथा नेत्र केप्छाकी मगरको २०० बोट केरा नष्ट गर्दा ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ।
वडाध्यक्ष मगरका अनुसार एकै रातमा चार परिवारको गरी करिब ३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।
यसअघि पुस ७ र ८ गते सोही हात्तीको समूहले सदरमुकाम त्रियुगा नगरपालिकाका वडा नं ५, ६ र ७ का विभिन्न बस्तीमा वितण्डा मच्चाएको थियो। त्रियुगाको बेलचौरी, जलजले, मोहनपुर र चक्कलघाट क्षेत्रमा गरी १२ घरपरिवारको घरटहरा हात्तीले भत्काएको थियो।
त्यतिबेला स्थानीय रेवती सदा, गणेश बुढाथोकी, रुद्र पोखरेल, विष्णु भुजेल लगायतको घरमा क्षति पुगेको थियो। स्थानीय बासिन्दा, नेपाल प्रहरी र डिभिजन वन कार्यालयको संयुक्त प्रयासमा त्रियुगाबाट लखेटिएका हात्ती नै अहिले उदयपुरगढी पुगेको अनुमान गरिएको छ।
डिभिजन वन कार्यालय गाईघाटका प्रमुख गजेन्द्र श्रेष्ठले चिसो र बाक्लो हुस्सुका कारण हात्ती लखेट्न कठिनाइ भइरहेको बताए।
‘अहिले हुस्सुले गर्दा टाढाबाट दृश्य देखिँदैन, नजिक पुग्दा एक्कासी जम्काभेट भएर ज्यानकै जोखिम हुने अवस्था छ,’ श्रेष्ठले भने, ‘निकै जोखिम मोलेरै भए पनि वन कर्मचारी र सुरक्षाकर्मीको टोलीले नागरिकको सुरक्षाका लागि काम गरिरहेको छ।’
श्रेष्ठका अनुसार यसपटक देखिएका हात्ती चितवन र कोशी टप्पुमा देखिनेभन्दा शारीरिक रूपमा निकै ठूला र फरक प्रकृतिका छन्। ५–७ वटाको समूहमा रहेका मध्ये २ वटा हात्ती विशाल कायका रहेको प्रत्यक्षदर्शीले बताएका छन्।
प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले हात्ती नियन्त्रण र नागरिकको सुरक्षाका लागि जिल्लाका सबै संयन्त्र परिचालन गरिएको जानकारी दिए।
उनले भने, ‘अहिलेसम्म करिब डेढ दर्जन स्थानीयको घर-टहरामा क्षति पुगे पनि मानवीय क्षति हुन दिएका छैनौं। वन कार्यालय, सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरेर हात्ती धपाउने प्रयास भइरहेको छ।’
प्रशासनले हात्ती प्रभावित क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन समेत आग्रह गरेको छ।
प्रकाशित: १७ पुस २०८२ १९:३० बिहीबार





