२९ माघ २०८२ बिहीबार
image/svg+xml
समाज

चितवन निकुञ्ज आउन थाले जङ्गली हात्ती

चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको समूह आउन थालेको छ। पूर्वी नेपाल, चुरे क्षेत्र हुँदै समूहमा हात्तीहरु आउन थालेका हुन्।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार अघिल्ला वर्षमा कात्तिकको अन्तिम सातामा आउने गरेको भए पनि यस वर्ष केही छिटो जङ्गली हात्तीका समूह निकुञ्ज प्रवेश गरेका हुन्।

उनले भने, ‘चितवन राष्ट्रिय निकुञ्जमा अहिले तीन/चार वटा समूह आएको पाइएको छ।’

आठ/दश वटाको समूहमा हात्ती आउने गरेका उनले बताए। निकुञ्जमा जङ्गली हात्ती विभिन्न क्षेत्रबाट आएकाले निकुञ्ज आसपास बसोबास गर्ने जनतालाई सतर्कता अपनाउन सूचना अधिकारी थापामगरले आग्रह गरे।

यसरी समूहमा आएका हात्तीले धानबाली नष्ट गर्ने, घर टहरा भत्काउनेजस्ता कार्य गर्ने भएकाले रातको समयमा एक्लै नहिँड्न उनले आग्रह गरे।

रातको समयमा सकेसम्म बाहिर नहिँड्न र हिँड्नै परे समूहमा टाढासम्म उज्यालोमा हिँड्न उनले आग्रह गरे। जङ्गली हात्ती आएमा नजिकको सुरक्षा निकाय वा निकुञ्जमा खबर गर्न सूचना अधिकारी थापामगरले आग्रह गरे।

जङ्गली हात्तीलाई तर्साउन खोज्दा धनजनको क्षति हुनसक्ने उनको भनाइ थियो। निकुञ्जले हात्तीले दुर्घटना निम्त्याउन सक्ने भन्दै नेपाली सेनासहितको द्रुत प्रतिकार्य समूह (रेपिड रेस्पोन्स टिम) तयार गरेको छ।

मानवीय क्षति हुनसक्ने अवस्था आएमा हवाई फायरसम्म गर्नसक्ने गरी टोली तयार गरिएको उनले जानकारी दिए।

प्रकाशित: २३ आश्विन २०८२ २०:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App