३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

किन जान्छ सुख्खा पहिरो, तुइन खोलाको पहिरो रोक्न के गर्ने ?

बर्खायाममा आउने बाढी पहिरोले वर्षेनी धेरै क्षति गर्छ । त्यसको रोकथामका लागि सरकारले विपद्पूर्व तयारीका धेरै काम गरे पनि प्रभावकारी हुँदैन ।  

पानी पर्ने मौसममा हुने यस्ता विपतले धेरैलाई दु:ख दिने गरेको छ । त्यसमा पनि बेला बेला सुख्खा पहिरोको चर्चा हुन्छ । धेरैले सुख्खा पहिरो पनि जान्छ भन्दै आश्चर्यसहितको प्रश्न पनि गर्छन् । सुख्खा पहिरो जान्छ । पहाडी भूभागका अग्गा पहाड विभिन्न कालखण्डमा भएको क्षतिले कमजोर हुन्छन् र टुक्रिन्छन् यही नै सुख्खा पहिरो हो ।  

नेपालमा अध्ययन नगरी निर्माण गरिएका संरचनाले पनि सुख्खा पहिरो ल्याउने गरेको छ । अहिले चर्चामा रहेको मुग्लिन-नारायणघाट सडकखण्डमा पर्ने तुइन खोला नजिकैको पहिरो यसको उदाहरण हो ।  

पूर्वाधारविद् राजेन्द्र अधिकारी भन्छन्, 'वर्षाको समयमा भिजेका पहाडका माटोहरू घाम लागेसँगै चर्किने र फुट्ने गर्छन्, जसको कारण सुख्खा पहिरोको जोखिम बढेको हो।'

अग्ला पहाडहरू हेर्दा स्थिर र शान्त देखिए पनि बेलाबेलामा आउने भुइँचालो र अन्य प्राकृतिक प्रकोपका कारण कतिबेला चर्किने र फुट्ने गर्छन् र पहिरोको रुप लिन्छन् भन्ने बुझाइ पूर्वाधारविद अधिकारीको छ । त्यसैले सडकसहितका कुनै संरचना निर्माण गर्दा पूर्ण र उन्नत प्रविधिको प्रयोग गरी जमिनको अध्ययन गरिनुपर्ने सुझाव अधिकारीको छ ।  

अधिकारी भन्छन्, 'केही अग्ला पहाडहरू हेर्दा स्थिर र शान्त देखिए पनि बेलाबेलामा आउने भुइँचालो र अन्य प्राकृतिक प्रकोपको कारण कतिबेला चर्किने र फुट्ने हुन्छ भन्न सकिँदैन त्यसैले यस्ता पहाडी पहिरोको इन्जिनियरिङ अध्ययन गर्न आवश्यक छ।’  

लामो समयसम्म दुःख दिएको कृष्णभिरको पहिरोलाई पनि प्राविधिक अध्ययन गरेर ठीक पारेको भन्दै उनले अन्य प्रमुख राजमार्गको पहिरोलाई पनि इन्जिनियरिङको पाटोबाट अध्ययन गरी समाधान गर्नुपर्ने उनी बताउँछन्।  

‘प्रमुख राजमार्गमा आउने पहिरोलाई सम्बन्धित निकाय र मन्त्रालयले अध्ययन टोली बनाउनु पर्छ र समाधानका लागि विज्ञहरूसगँ छलफल गरी पूर्व तयारीमा ध्यान दिनुपर्छ,' उनले भने, 'सधैँ पहिरो गएपछि स्काभेटर जम्मा पारेर समाधान हुँदैन।’

नेपाल आफैँमा भूपरिवेष्ठित राष्ट्र भएको र यहाँका पहाडहरूमा भूकम्प गइरहने भएकाले पनि समस्या आउने गरेको उनको भनाइ छ। सडकमाथि भएका पहाड र पहिरोका गतिविधिलाई इन्जिनियरहरूले अध्ययन तथा अनुसन्धान गरेर अधिकारी बताउँछन्।

१७ प्रतिशत तराई भएको नेपालको ८३ प्रतिशत भूभाग हिमाली र पहाडी क्षेत्रमा छ । त्यसमा पनि ६८ प्रतिशत पहाडी क्षेत्र छ । यी पहाडी क्षेत्रमा बनेका सडक पूर्वाधार नै सुख्खा पहिरोको कारण बन्ने गरेका छन् । त्यसैले सडक पूर्वाधार निर्माण गर्दा ठूला मेसिनको प्रयोग कम गर्ने, गर्दा व्यवस्थित र सुरक्षित तवरले गर्ने जमिनको संरचना हलचल हुन नदिने गरी काम गर्न विज्ञले सुझाएका छन् ।  

साथै भूसर्वेक्षण र भूअध्ययन समय निर्धारण गरेर बेलाबेलामा गर्नुपर्ने र संरक्षण गर्न तत्कालीन तथा दीर्घकालीन योजना निर्माण गर्न आवश्यक देखिएको पूर्वाधारविद अधिकारीले बताए । तुइन खोला नजिकैको पहिरोको कारण पत्ता लगाउन वैज्ञानिक अध्यनन गरेरमा दीर्घकालीन योजना बनाउन सकिने उनको भनाइ छ।

प्रकाशित: ११ आश्विन २०८२ ०७:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App