२७ मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

काफिला किन लुटियो?

नेपाल बहुभाषिक देश हो – नेताहरूको भाषणले वा लेखक, स्तम्भकारहरूको कलमले सधैजसो भनिरहन्छ तर जनमानसमा त्यसको आभास भने छैन। नेपालमा बोलिने विभिन्न भाषामध्ये उर्दु करिब दुई प्रतिशत नेपालीको मातृभाषाको रूपमा रहेको सरकारी तथ्यांक छ। त्यस्तै उर्दु नेपाली मुस्लिमहरूको सांस्कृतिक पहिचानको भाषा पनि हो। उर्दुको चर्चा गर्नुको खास कारण के हो भने यसको समृद्ध साहित्य छ। उर्दुका नज्म र गजलको प्रभाव नेपाली समाजमा पनि व्याप्त छ र यसको भरपुर आनन्द उठाउने गरिएको छ। गजलका शेर आफैंमा पूर्ण हुन्छन् सयौं शब्दहरू खर्च गरेर व्यक्त गरिने विचार वा भावलाई दुई पंक्तिको एउटा राम्रो शेरले व्यक्त गरिदिन सक्छ। राजनीतिक कटाक्षलाई साहित्यिक ढंगले व्यक्त गरिएका उर्दुको पंक्तिहरूबाट आनन्दानुभूति बिना सङ्कोच लिन सकिन्छ। नेपालको राजनीतिक अवस्थालाई उर्दुका शेरमार्फत कोमल शब्दहरूद्वारा पनि कसरी गम्भीर कटाक्ष गर्न सकिन्छ त्यसको चर्चा यहाँ गरिएको छ।

संघीय संसद्मा पनि उर्दुका तरक्की पसंद (प्रगतिवादी) भारतीय सायर साहब जाफरीको एउटा शेर सुनियो। राम्रै मान्नुपर्छ संसद्मा ऊर्दु शेरले स्थान पाउँदा, उर्दु भाषी जनताको गौरव वा सम्मान हो, यो। सँगसँगै यो नेपालका ती उर्दु सायरहरूका लागि पनि ‘हौसला अफजाई’ हुने विषय हो, जसले उर्दु भाषामा आफ्ना नज्म वा गजल कापीमा लेखेर राख्ने गरेका छन्। के थाहा ? त्यसरी कापीमा लेखेर राख्ने सायरका पंक्तिहरू चट्ट टिपेर कुनै सांसद वा नेताले संसद्मा आफ्नो भाषण दिँदा मिठास भर्न प्रयोग गर्ने दिनहरू पनि आउन सक्छन् कि?

जाफरीले लेखेको वास्तविक शेर यस्तो छ...

तू इधर उधर की न बात कर ये बता कि काफिले क्यूँ लुटे

तेरी रहबरी का सवाल है हमें राहजन से गरज नहीं

यसलाई प्रसंगसहित विस्तृत रूपमा यसरी बुझ्न सकिन्छ– सुदूरपश्चिमका मानिसहरू कामको लागि भारत जाने प्रचलन निकै पुरानो हो। सुदूरपश्चिमको खास गरेर अछाम–बझाङ क्षेत्रबाट रोजगारीको लागि भारततिर जानेहरू समूह वा झुण्ड बनाएर आफ्नो गतव्यतिर लाग्ने प्रचलन अद्यापि कायम छ।

यस्तो यात्रीको समूहलाई उर्दुमा ‘काफिला’ भनिन्छ। काफिलामा कुनै निश्चित संख्या हुँदैन। यसरी आफ्नो गतव्यतिर लाग्नु अघि यस्तो समूहले आफू बीचबाट अनुभवी प्रमुख छनोट गर्छन्, जसलाई स्थानीय भाषामा ‘माउडे’ भनिन्छ।

पहिले गाडी गुड्ने सडकमार्ग नभएका बेला यात्री समूह पैदल यात्रा गरी भारतीय सीमा क्षेत्रमा प्रवेश गर्थे। यो समूहले यात्रा सुरु गरिसकेपछि राती कहाँ बास बस्ने ? कुन ठाउँमा खाना खाने ? कुन बस चढ्ने ? कुन नचढ्ने ? यो सबै माउडेको निर्देशनमा हुन्थ्यो/हुनेगर्छ। यो झुण्डलाई निरापद मार्गबाट सुरक्षित रूपमा गन्तव्यमा पुर्याउने जिम्मेवारी माउडेको काँधमा हुन्छ। सबैलाई जानकारी हुनेनै भयो– बाटोमा लुटेराहरूको विभिन्न रूप हुन सक्छ। अर्थात् ‘रिक्सावाला टाँगावाला, होटलवाला, बसवाला, समान बिक्रीकर्ता आदि अनेक। तसर्थ यात्री समूह वा कफिला कुनै अपरिचितसँग कुरा नगरी वा बेवास्ता गरी माउडेको पछिपछि उसैको इशारामा गन्तव्यतिर अघि बढ्छन्।

यस्तै एउटा समूह सुरक्षित ठानिएको गल्लीबाट अगाडि हिँड्दै गर्दा लुटेराहरूद्वारा लुटिए। आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको देखेपछि समूहका सदस्यहरू माउडेलाई प्रश्न गर्छन्, ‘यताउताका कुरा नगर पहिले हामीलाई भन काफिला किन र कसरी लुटियो ? यहाँ तिम्रो नेतृत्व र मार्गदर्शन (रहबरी) को विषयमा प्रश्न उठिरहेको छ, यो प्रश्नको लुटेराहरू (राहजन) सँग कुनै सम्बन्ध छैन। त्यसको चित्तबुझ्दो उत्तर चाहियो किनभने जिम्मेवारी त तिम्रो थियो। सबैलाई थाहा थियो– यात्रामा लुटेराहरू भेटिन सक्छन् भन्ने। अर्को प्रश्न के ती लुटेरासँग तिम्रो पनि कुनै साँठगाँठ त थिएन ?  

राष्ट्रपति आलंकारिक भएकाले देशको माउडेको भूमिकामा अहिले प्रधानमन्त्री केपी ओली छन्। डाँकु वा लुटेराको भूमिकामा बिचौलिया छन्। वामपन्थी भाषामा भन्ने हो भने दलाल पुँजीपति छन्। प्रस्तुत शेर ओलीको लागि गम्भीर प्रश्न बनेर तेर्सिएको छ। सम्पूर्ण देशको जिम्मेवारी उनकै काँधमा छ। दलाल पुँजीपतिकै हातमा देश कैद छ। उनीहरू आपूm उत्पादन र मेहनतको काम गर्दैनन् तर मुनाफा उनीहरूकै गोजीमा गइरहेको छ। ओलीले बेलाबेलामा देशलाई सुनाउने गरेका छन् ‘मैले किन र केका लागि भ्रष्टाचार गर्ने ? मैले जायजेथा त सरकारकालाई दिइसकें !’ यसलाई हामी ओलीले गरेका ‘इधर उधर’ अर्थात् यताउताका कुरा भन्न सक्छौं। किनभने ओली नेतृत्वको वर्तमान सरकारमा भ्रष्टाचार मौलाएको जगजाहेर छ। कसले ग¥यो कसले गरेन त्यो फरक विषय हो।

काफिला कसरी लुटियो भन्ने प्रश्नको जवाफ दिइएको एउटा शेर पनि भेटिन्छ। जसले स्पष्ट गर्ने प्रयास गरेको छ– नेतृत्वको मिलोमतो र इशारा बिना यस्तो लुटपाट सम्भव हुँदैन। निश्चितरूपमा सरकारी संलग्नताविना बिचौलियाहरूले मात्र देश लुट्न सम्भव  पनि हुँदैन।

ऐ काफिले वालों, तुम इतना भी नहीं समझे

लूटा है तुम्हे रहजन ने, रहबर के इशारे पर

देशमा व्याप्त बेथितिहरूलाई समाप्त गरेर देशलाई सही मार्गमा डो¥याउन नसक्ने हो भने पदमा बसिरहनुको औचित्य के हुन्छ ? प्रश्न गर्ने ठाउँ छ। काम नगर्ने पदलोलुप राजनीतिक व्यक्तिहरूलाई कटाक्ष गर्ने इरतिजा निशातको प्रसिद्ध पंक्तिले भन्छ -

कुर्सी है तुम्हारा ये जनाजा तो नहीं है

कुछ कर नहीं सकते तो उतर क्यों नहीं जाते

प्रस्तुत शेर सुशासन र समृद्धिको लागि भनेर जनताको मत प्राप्त गरेर सत्तामा पुग्ने राजनीतिक व्यक्तिहरूबाट उल्लेखनीय कामहरू गर्न नसकिरहेको अवस्थामा पदलोलुप भएर कुर्सीमा टाँसिइरहने प्रवृत्तिमाथि प्रहार गरिएको छ। यो तिम्रो कुर्सी हो जनाजा (शवपेटिक ) होइन, न कुर्सीमा बस्ने तिमी लास हौ जो कुर्सी छाडेर तल ओर्लन नसकोस्। जनताको काम गर्न नसक्ने हो भने कुर्सीमा टाँसिएर किन बस्ने ? आत्मबोध गरेर तल ओर्लिए हुन्छ।

जब सडकबाट कुनै व्यक्ति सत्तामा पुग्छ। उनीहरू आफूलाई भगवान् सम्झने गर्छन्। उनीहरूको अगाडि पछाडि कैयौं मानिसको झुण्ड देखिन्छन्, तसर्थ उनीहरूमा तानशाह बन्ने आभिमान पलाउँछ। यस्तै मानसिकताको कारण नेपालमा संसद्समेत विघटन गर्ने घटना भयो। यस्तो सर्वसत्तावाद विरोधी भावना बोकेको पाकिस्तानी क्रान्तिकारी सायर हबीब जलिबको लोकप्रिय शेर छ–

तुम से पहले ओ जो इक शख्स यहाँ तख्त–नशीं था

उस को भी अपने खुदा होने पे इतना ही यकीं था

अर्थात् हिजोको सत्तारुढ तानाशाह जो आफूलाई भगवान् सम्झन्थ्यो उसलाई जनताले सडकमा फालेका थिए। तिम्रो पनि त्यही अवस्था हुन् सक्छ। तसर्थ आफूलाई भगवान् नसोच।

निश्चित रूपमा प्रतिपक्षको पनि कुरा गर्नु उचित हुन्छ, कलम एकपक्षीय हुँदैन। आज नयाँ र युवा मानिस देशलाई चाहियो भन्ने राजनीतिक भाष्य निर्माण गरिएको छ। अर्काथरी भन्छन्, जो अहिले सतहमा देखिएका छन्, ती नयाँ त हुन् तर देशले खोजेको वैकल्पिक चाहिँ होइनन्। सत्य केहो भने अहिलेका पुरानाहरू युवावस्था छँदै सत्ता र शक्तिमा पुगेका हुन्। मुद्दा उमेरको होइन नयाँ विचार, दूरदृष्टि र इमान्दारीको हो।

 तराई मधेसमा एउटा उखान प्रचलित छ, ‘आसमान से गिरे खजूर पे अट्के’ आर्थात् आकाशबाट झरेर खजुरको रूखमा अड्कियो भने त्यसबाट कुनै नयाँ कुरा हासिल हुँदैन। जब नयाँहरूलाई यस्ता विभिन्न प्रश्न गरिन्छ, सडकमा हुन् वा सामाजिक सञ्जालमा उनीहरूका कार्यकर्ता आक्रामक रूपमा प्रस्तुत हुन्छन्। राहत ईंदोरीको एउटा अर्को पंक्ति छ–

जवाब दे ना सका, और बन गया दुश्मन,

सवाल था, के तेरे घर में आईना भी है..?

निश्चित रूपमा नयाँहरूले पुराना माथि आरोप लगाउँदा पहिले ऐनामा आफ्नो अनुहार हेर्न आवश्यक छ। अर्थात् उठेका प्रश्नको चित्त बुझ्दो जवाफ दिनैपर्छ।

राहत ईंदोरीकै अर्को यो शेरले भने जनमानसमा केही आशा जगाउँछ। यसलाई मनन गरेर सबैले जिम्मेवारी बोध गर्दा ०८४ सालमा केही परिवर्तन देख्न सकिन्छ कि ?  

जो आज साहिबे मसनद हैं कल नहीं होंगे

किराएदार हैं जाती मकान थोडी है

जो आज सत्ता वा गद्दीमा बसिरहेको (साहिबे मसनद) छ, र जो सत्तामा बसेर मोजमस्ती गरिरहेका छन् उनीहरू भोलि हुने छैनन्। सत्ता र सरकारमा बस्नु भनेको भाडामा बसे जस्तै हो, त्यो कसैको निजी घर होइन। हो, सत्ताको खास मालिक आममतदाता र जनता हुन्। उनीहरूले चाहेभने भाडाको घर तुरून्त खाली हुनसक्छ। यो पंक्तिले जनताको शक्तिको पनि अनुभूति गराउँछ।

नेपालको संसद् अमर्यादित हुँदैगयो भन्ने गुनासो सुन्न थालिएको छ। आरोप प्रत्यारोप गाली गलौजका भाषाहरू सुनिन थालेका छन्। संसद् हुलहुज्जत गर्ने टेबुल ठटाएर गालीको भाषा प्रयोग गर्ने थलो होइन। यो तर्कसंगत कुरा राख्ने र मर्यादित भाषा पक्ष–विपक्षको आलोचना गर्ने ठाउँ हो। आफ्नो भाषा गालिबको शेरले भने जस्तो पनि बनाउन सकिन्छः

कितने शीरीं हैं तेरे लब कि रकीब

गालियाँ खा के बे–मजा न हुआ

अर्थात् गालिब आफ्नो प्रतिद्वन्द्वी (रकीब) लाई भन्दैछन् तेरो अधर कति कोमल (शीरीं) छ, त्यहाँ बाट निस्कएको शब्द यति मधुर छन्, गाली सुनेर पनि नमज्जा भएन। संसद् देशका मर्यादित व्यक्तिहरू पुग्नुपर्ने ठाउँ हो। निश्चित रूपमा लोकतन्त्रको सही उपयोग गरेर मर्यादित, सभ्य, मृदुभाषी र बौद्धिक एवं स्वभिमानीहरू त्यहाँ सम्म पु¥याउन सके जनताको भलो हुनेछ।  

प्रकाशित: २७ असार २०८२ ०९:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App