नेपाली राजनीतिमा सन्त नेताको रुपमा परिचित पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको स्मृतिमा इटहरीमा ‘तेस्रो संस्करणको अन्तर्राष्ट्रिय गोल्डकप फुटबल’ आगामी फागुन २ गतेदेखि हुने भएको छ । फुटबल प्रतियोगिता फागुन ९ गतेसम्म चल्नेछ ।
आयोजक द योङ ब्रदर्श क्लब इटहरीले शनिबार पत्रकार सम्मेलन गरि यसअघिको पहिलो र दोस्रो संस्करण कोशी प्रदेशस्तरीय भएतापनि यसपटकदेखि भने अन्तर्राष्ट्रिय स्तरको गर्ने जनाइयो । क्लबका संरक्षक विकास केसीका अनुसार अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा रुपान्तरण भएसँगै विजेता टीमलाई चार लाख चार हजार रुपैयाँ नगद प्रदान गरिने भएको छ । यस्तै, उपविजेता टीमलाई दुई लाख दुई हजार दुई सय प्रदान गरिनेछ ।
खासगरेर पछिल्लो समय इटहरीमा फुटबल खेलाडीको अभाव भएको महसुस गरि त्यसलाई पूर्ति गर्न प्रतियोगिता गर्नुको मुख्य उद्देश्य रहेको केसीले बताए । ‘इटहरीबाट फुटबल खेलाउँदा पछिल्लो समय अरुतिरबाट खेलाडी बटुलेर ल्याउनुपर्ने बाध्यता छ, यस्तो बाध्यतालाई हटाउनका लागि खेलकुद गतिविधी निरन्तर रुपमा गर्न लागिएको हो,’ उनले भने, ‘यही प्रतियोगितामा पनि इटहरीका खेलाडीलाई मात्रै सहभागी गराएर खेल खेलिनेछ ।’ उनले खेलमा जित तथा हार एउटा प्रक्रिया भएतापनि निरन्तर रुपमा खेलाडीलाई प्रोत्साहन गरेकोमा खण्डमा इटहरीबाट अब्बल खेलाडी उत्पादन हुने निश्चित भएको बताए ।
खेलमा भारतसहित नेपालका नाम चलेका आठवटाको टीमको सहभागिता रहनेछ । केही टिमसँग नाम फाइनल गर्न बाँकी रहेको जानकारी दिइयो । खेलमा प्रत्येक दिनको म्यान अफ दि म्याचलाई जनही सात हजार रुपैयाँ प्रदान गरिनेछ । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ । खेलमा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्तालाई जनही १३÷१३ हजार रुपैयाँ प्रदान गरिनेछ । खेलकुदका लागि तीस लाखभन्दा बढी खर्च हुनेछ यस प्रतिस्पर्धाका लागि इटहरी उपमहानगरपालिकाको संयोजन र कोशी प्रदेश खेलकुद विकास बोर्ड संरक्षक रहनेछ । पत्रकार सम्मेलनकै अवसरमा खेलाडीहरुलाई जर्सी समेत वितरण गरियो ।
प्रकाशित: २७ मंसिर २०८२ १७:४७ शनिबार





