७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

किन कतार जाँदैछन् चितवनका दुई हात्ती?

फाइल तस्बिर

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मिएका दुई हात्तीका छावालाई कतार पठाइने भएको छ। प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा लागिएका रुद्रकली र खगेन्द्र प्रसादलाई कतार पठाउन लागिएको हो।  

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता डा हरिभद्र आचार्यका अनुसार दुई महिनाभित्रमा हात्ती पठाउने गरी काम भइरहेको छ। उनले भने, ‘हात्ती राख्ने खोर निर्माणको प्रक्रिया अघि बढाइएको छ। खोर बनेपछि हात्ती पठाउँछौ।’ भैरहवा विमानस्थलबाट पठाइने भएकाले खोर निर्माणपछि दाउन्नेको बाटोको अवस्था हेरेर चार्टर कार्गो विमानमार्फत हात्ती पठाइने उनले बताए। कतारको चिडियाखानामा राख्नका लागि यी हात्ती पठाउन लागिएको हो। रुद्रकली ७ वर्ष र खगेन्द्र प्रसाद ६ वर्षका छावा हुन्। राष्ट्रिय प्रकृति संरक्षण कोषले खोर निर्माणको काम अघि बढाएको छ।  

कोषका वरिष्ठ संरक्षण अधिकृत अनिल प्रसाईंका अनुसार कोष र नेपालका लागि कतार राजदूतावासका बिचमा खोर निर्माण गरी भैरहवा विमानस्थल पुर्‍याएर जहाज चढाउनेसम्मको कामका लागि सम्झौता भइसकेको छ। उनका अनुसार ‘कोटेसन’ मार्फत खोर निर्माणका लागि प्रक्रिया अघि बढाइएको छ। उनले भने, ‘दसैँअघिसम्ममा खोर बनाउने गरी तयारी गरेका छौँ।’  

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले हात्तीको नाप गरी हात्ती राख्न खोर निर्माणको प्रक्रिया अघि बढाएको हो। खोरसहित ट्रकमा राखेर सौराहाबाट अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनी लगिनेछ। लुम्बिनीबाट कार्गो विमानमा राखी कतार लगिनेछ। खगेन्द्र र रुद्रको बाबु जङ्गली भाले हात्ती रोनाल्डो भएको हात्ती प्रजनन केन्द्रका प्रमुख मनिपुरण चौधरी बताउँछन्। खगेन्द्रको आमा कोशी कली हुन् भने रुद्रकी आमा पूजा कली हुन्। हात्ती प्रजनन केन्द्र खोरसोरमा रहेका पोथी हात्ती जङ्गली भाले हात्ती रोनाल्डो, ध्रुवे, गोविन्देजस्ता शक्तिशाली हात्तीसँगको सहवासमा गर्भवती हुने गर्दछन्।  

यसअघि नेपालले विभिन्न मित्रराष्ट्रलाई एक सिङ्गे गैँडा, हात्तीलगायत वन्यजन्तु उपहारस्वरूप प्रदान गर्दै आएको छ। दुई देशबिचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महत्त्व अन्तर्राष्ट्रिय स्तरमा परिचित गर्न वन्यजन्तु उपहार दिँदै आइएको छ।

विसं २०४४ सालमा भारतबाट १६, म्यानमार दुई र थाइल्यान्डबाट दुई गरी २० वटा हात्तीबाट स्थापना गरिएको हात्ती प्रजनन केन्द्रले अहिलेसम्म ६८ वटा हात्तीलाई जन्म दिएको छ। यहाँ ६१ वटालाई तालिम दिइएको केन्द्रले जनाएको छ। यहाँ जन्मिएकामध्ये ६ वटाको मृत्यु भएको छ। यहाँ जन्मिएका हात्ती उपहार दिन लागिएको यो पहिलो हो।  

यसअघि नेपालले सन् १९८५ देखि हालसम्म विभिन्न देशलाई २६ वटा गैँडा, १० वटा घडियाल गोही, एक ब्वाँसो र दुई चितुवा उपहार दिइसकेको तथ्याङ्क छ। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका क्रममा विसं २०७५ सालमा नेपालले कतारलाई हात्ती उपहार दिने प्रतिबद्धता जनाएको थियो। रासस

प्रकाशित: १६ भाद्र २०८२ १३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App