जडान गरिएका धारामा पानी नआएपछि ललितपुरका कतिपय स्थानीय गुनासो बोकेर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको ललितपुर शाखा कार्यालयमा पुग्ने गरेका छन्। स्थानीयले पटकपटक गुनासो गरे पनि समस्याको समाधान अझै हुन सकेको छैन।
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ललितपुर शाखा कार्यालयका अनुसार ललितपुर जिल्लामा करिब ५० हजार बढी धारा जडान गरिएको छ। ती धारामा मेलम्ची खानेपानी आयोजना अन्तर्गतको पानी तथा फर्पिङ स्टिम प्रणालीबाट पानी निरन्तर पठाउन सके ललितपुरमा खानेपानीको समस्या समाधान हुन सक्ने कार्यालयको भनाइ छ।
गत वर्ष असोज १२ गते आएको बाढीका कारण ललितपुरका विभिन्न ठाउँमा पाइप टुटफुट भएका थिए र हालसम्म ती समस्याको समाधान नभएकै कारण स्थानीयले पानीको समस्या भोग्नुपरेको उपत्यका खानेपानी लिमिटेड ललितपुर शाखाका कार्यालय प्रमुख विजय विश्वकर्माले बताए।
उनले भने, “गत वर्षको बाढीका कारण धेरै पाइपमा क्षति पुगेको छ। चापागाउँ र फर्पिङ स्टिमबाट पानी पर्याप्त मात्रामा आउन सकेको छैन। फर्पिङ स्टिमबाट प्रति दिन दुई करोड लिटर पानी ल्याउन सकिने भए पनि हाल पाइपमा आएको समस्याका कारण एक करोड २० लाख लिटर मात्र पानी ल्याएका छौं। मेलम्चीको पानी पनि बन्द भएको छ। स्थानीयलाई पानी पुगेको छैन र गुनासो आएको छ।”
ललितपुर महानगरपालिका–१३ कुसुन्तीका धनराज घिमिरेको घरमा हप्ताको एक घण्टा जति मात्र पानी आउँछ। पानी वितरण तालिका अनुसार पर्याप्त पानी नआएर सुकिहाल्ने गरेको उनी बताउँछन्।
“महिनामा दुई ट्याङ्कर पानी किन्छौं। पर्याप्त पानी प्रयोग गर्न नपाएर महसुल भने तिरिरहेका छौं। केही समयअघि हप्तामा तीन दिन पानी आउँथ्यो, अलि सहज हुन्थ्यो। अहिले त कहिलेकाहीँ हप्तामा एक पटक पनि पानी आउँदैन,” उनको भनाइ छ।
ललितपुर कुसन्तीका स्थानीयले जडान गरेका पुराना पाइपलाई गत वर्षको बाढीले क्षति पुर्याएपछि नयाँ पाइप जडान गर्नुपर्ने भएकाले कतिपय स्थानीयको घरमा केही समय पानी बन्द भएको ललितपुर महानगरपालिका–१३ का वडाध्यक्ष गणेश केसीले बताए।
उनले भने, “पुराना पाइप टुटफुट भएका छन्। नयाँ पाइप जडानको काम चलिरहेको छ। पाइप जडानको काम पूर्ण रूपमा भए धारामा पानी आउँछ।”
भैँसेपाटी क्षेत्रमा फर्पिङ स्टिम प्रणालीबाट पानी वितरण भए पनि अहिले पानीको चरम समस्या रहेको स्थानीयको गुनासो छ। मन्त्री आवासमा पानी आउने तर जनताको घरमा नआउने भन्दै उनीहरूले आक्रोश पोखेका छन्।
ललितपुर- १८ भैँसेपाटीका रामहरि थापाले ट्याङ्करको पानी प्रयोग गर्दै आएका छन्। उनी भन्छन्, “खानेपानीको तालिका अनुसार हप्तामा एक दिन पानी आउँछ तर त्यसको भर हुँदैन। कहिलेकाहीँ पानी कुर्दाकुर्दा पानी आउँदैन। अहिले त पानी कहिले आउँछ भन्ने थाहा नै हुँदैन तर पानीको महसुल भने तिरिरहेको छु।”
फर्पिङ स्टिमबाट दुई करोड लिटर पानी ल्याउन सकिएमा चक्रपथबाहिरका क्षेत्रमा हप्तामा दुई दिन पानी पठाउन सकिने उपत्यका खानेपानी लिमिटेड ललितपुर वितरण शाखाको भनाइ छ।
कार्यालय प्रमुख विजय विश्वकर्मा भन्छन्, “ललितपुरमा रहेका सबै मुहान व्यवस्थित गरेर स्थानीयलाई पानी वितरण गर्न सकिने हो भने ललितपुरवासीले पानीको समस्या खेप्नु पर्दैन। नल्लु खोला, वासुदु, गोदावरी नगरपालिकाको चारघरे मुहान लगायतका स्रोतलाई व्यवस्थित गर्न सकेपानीको समस्या हुँदैन। आगामी दिनमा समस्याको समाधान गर्न यतातिर पनि सोच्नुपर्छ।”
प्रकाशित: २२ श्रावण २०८२ १३:४० बिहीबार





