२० मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

जब सिंगो देशलाई गोली लाग्यो...

जान्ती ठकुरी, २१ वर्ष, कञ्चनपुर । अभिषेक भण्डारी, १७ वर्ष, बझाङ । आदित्य राजवंशी, २० वर्ष, वीरगन्ज । नवीन श्रेष्ठ, १९ वर्ष, संखुवासभा । अविक तण्डुकार, २२ वर्ष, काठमाडौं । हरि अधिकारी, १७ वर्ष, जुम्ला । 

यी हुन जेन–जी आन्दोलनमा राज्यले गोली चलाउँदा घाइते भई राष्ट्रिय ट्रमा सेन्टरमा उपचार गराउँदै गरेका ५० मध्येका ६ नाम । मुलुकका विभिन्न कुनाबाट अध्ययनका लागि राजधानी आएर बसेका विद्यार्थीहरू आफ्नो अधिकारको आन्दोलनमा उत्रँदा सयौं घाइते भएका छन् । आन्दोलनमा २० जनाको मृत्यु भएको खबर आएको छ, सयौं युवा घाइते भएका छन् । स्वास्थ्य मन्त्रालयले घाइतेहरूको उपचार नि:शुल्क गर्ने भनिरहेको छ ।

संघीय राजधानी काठमाडौंमा आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा यस्तो लाग्छ, सिंगो मुलुक घाइते भएको छ । त्यसैले सोमबारको दिन नेपाली जनताले कहिल्यै बिर्सन सक्दैनन् । यहाँ पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म युवाहरूको भविष्य एकै पटक रगतको रङमा मिसिएको छ । मुलुकलाई निकासको बाटो दिने संघीय संसद् भवनअगाडि युवाहरूलाई बर्बर दमन गरिएको थियो । ‘ससाना नानीबाबुहरूको रगत बगेको देखेर सिंगो देश रोएको छ,’ ट्रमा सेन्टरको सूचना बोर्डमा घाइतेको नाम नियाल्दै गरेको भिडमा भेटिएका सिन्धुपाल्चोक मेलम्चीका तेजनारायण श्रेष्ठ भन्छन्, ‘जहाँका नानीबाबुलाई चोट लागे पनि दुःख लाग्ने रहेछ ।’

आफन्तको छोरा घाइते भएपछि सँगै अस्पताल आएका उनी राज्यले देशभरका आमाबालाई एकै पटक रुवाएको सुनाए । ‘नानीहरूको नतिजा हेरेजस्तो गरी अभिभावकहरू सूचना बोर्डमा सन्तानको नाम नियाल्दै गरेको दृश्य साँच्चिकै दुःखदायी छ,’ उनले भने, ‘यो अहिलेसम्मको सबैभन्दा दुःखद घटना लागेको छ ।’ उनले भनेजस्तै मृतक र घाइतेहरूको सूची हेर्न अस्पताल पुगेका अभिभावकहरूको दृश्य देख्दा जोकोहीको आँखा रसाएको देखिन्थ्यो ।

जेन–जी नामले चिनिने युवापुस्ताले डिजिटल स्वतन्त्रता, पारदर्शिता र भविष्यका लागि उठाएको आन्दोलनका कारण सोमबार सहर रगताम्मे भयो । आन्दोलनमा सहभागी विद्यार्थीहरू विद्यालयको पोसाकमै किताब बोकेरै सडकमा पुगेका थिए । माइतीघर मण्डलबाट सुरु भएको प्रदर्शनलाई सरकारले सुरुदेखि नै नियन्त्रण गर्ने तयारी गरेको थियो । बिहानैदेखि सडक वरिपरि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो तर प्रहरीको उपस्थिति आन्दोलन रोक्न पर्याप्त भएन । समयसँगै विद्यार्थीको भिड थपिँदै गयो ।

उपचार गराइरहेका विद्यार्थीमध्ये कसैका हात भाँचिएका छन्, कसैका नाकमा गोली लागेको छ । कसैको टाउको फुटेको छ । कसैको ढाडमा गोली लागेको छ । कोही पीडाले छटपटाउँदै छन् । अस्पतालमा भर्ना भएका कोही बेहोस अवस्थामा भर्ना भएका छन् । कतिको अवस्था चिन्ताजनक छ । त्यहाँको दृश्यले आन्दोलनमा जीवन गुमाउने होस् या नगुमाउने, सबै बच्चाका आमाबुबाको मन रोइरहेको छ । ‘बिहान विद्यालय गएको छोरो साँझ घर नफर्कँदा अभिवाकलाई कस्तो पीडा भयो होला,’ कोटेश्वरका निमेष पराजुली भन्छन्, ‘यो सम्झँदा पनि आँखा भरिएर आउँछ ।’ अस्पतालले घाइतेको नाम सार्वजनिक गरे पनि मृतकको नाम सोमबार साँझसम्म सार्वजनिक गरेको छैन । त्यसैले पीडामा कतिपय अभिभावक अस्पताल, प्रहरी कार्यालय र रेडक्रसका सूचना केन्द्रवरिपरि भौँतारिरहेका छन् ।

सोमबारको यो घटना केवल काठमाडौंको मात्रै होइन, सिंगो देशको साझा पीडा बनेको छ । त्यसैले काठमाडौंमा विद्यार्थीको मृत्यु र घाइतेको खबरले मुलुकका अन्य भागमा पनि आक्रोश फैलिएको छ । मोफसलमा पनि गोली चलेको छ । त्यहाँ पनि मृत्यु भएको खबर आइरहेको छ । पोखरा, इटहरी, विराटनगर, भैरहवालगायत सहरमा आन्दोलन चर्किएको छ । 

अन्य विभिन्न सहरमा युवाहरू आन्दोलित भएका छन् । विपक्षी दलले सरकारको यस कार्यको आलोचना गर्दै राजीनामा मागेका छन् । नेपालको युवा पुस्ता अहिलेसम्मको सबैभन्दा ठुलो चुनौतीसँग जुधिरहेको छ । शिक्षा, रोजगारी, अवसरका सबै ढोका बन्द भइरहेका बेला उनीहरूले डिजिटल स्वतन्त्रता र पारदर्शिताको माग गरेका थिए । तर उनीहरूको आवाज दबाउने प्रयास भएको छ ।

प्रकाशित: २४ भाद्र २०८२ ०७:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App