भक्तपुरको प्राकृतिक रूपमा अत्यन्तै सुन्दर र पर्यटकीय सम्भावना बोकेको सूर्यविनायक नगरपालिका क्षेत्र यतिबेला फोहोरमैला व्यवस्थापनको संकटबाट गुज्रिरहेको छ।
हरियालीयुक्त पहाडी भूगोल र शान्त वातावरण रहेको सूर्यविनायक चोक र मन्दिर क्षेत्रमा जताततै थुप्रिने फोहोरले यसको मौलिक सौन्दर्यतालाई नै चुनौती दिएको छ।
भक्तपुर जिल्लाभरिबाट दैनिक संकलन हुने करिब २०० टन फोहोरमध्ये सबैभन्दा बढी सूर्यविनायक नगरपालिकाबाट मात्रै ५५ टन फोहोर उत्सर्जन हुने गरेको छ। जिल्लाका अन्य पालिकाहरू मध्यपुर थिमिबाट ५० टन, भक्तपुर नगरपालिकाबाट २५ र चाँगुनारायणबाट २५ टन फोहोर संकलन हुँदा सूर्यविनायक प्रदूषणको मुख्य चपेटामा परेको तथ्याङ्क छ।
नगरपालिकाले पालिकाभित्रको फोहोर व्यवस्थापनको जिम्मा निजी कम्पनी नेप्से म्याक सेवा प्रा.लि लाई सुम्पिएको छ। पालिकाभित्र रहेका ३५ हजार घरधुरीमध्ये करिब १६ हजार यसका सदस्य छन्। प्रतिपरिवार मासिक ३५० रुपैयाँ शुल्क बुझाउँछन्। तर, शुल्क बुझाए पनि कम्पनीले हप्तामा एक पटक मात्र फोहोर उठाउने गरेको र सेवा प्रभावकारी नभएको भन्दै सेवाग्राहीले आक्रोश व्यक्त गरेका छन्।
सूर्यविनायक नगरपालिकाका प्रवक्ता एवं वडा नं-७ का वडा अध्यक्ष रवीन्द्र सापकोटाले फोहोर व्यवस्थापन कार्य व्यवस्थित गर्न नसकिएको स्वीकार गरेका छन्। उनले कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्न नसकिएको र कम्पोष्ट मल बनाउनका लागि आवश्यक सार्वजनिक जग्गाको अभाव हुँदा सबै फोहोर सिधै नुवाकोटको बञ्चरेडाँडा पठाउनुपर्ने बाध्यता रहेको बताए।
नेप्से म्याक सेवा प्रा.लि.का निर्देशक बाबुराम चौलागाईले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन विश्वकै लागि चुनौती बनेको र यो समस्या सूर्यविनायकमा पनि देखिएको उल्लेख गरे। काठमाडौं उपत्यकाबाट दैनिक उत्सर्जन हुने १५ सय टन फोहोर विसर्जन गरिने बञ्चरेडाँडाको क्षमता ५० प्रतिशतभन्दा बढी भरिइसकेको बताउँदै उनले अबको ४-५ वर्षमा उक्त स्थान पूर्ण रूपमा भरिने भएकाले तत्कालै वैकल्पिक उपाय नखोजे गम्भीर संकट आउन।
नेपाल प्रेस सोसाइटी र भक्तपुर नागरिक समाजद्वारा आयोजित ‘फोहोरमैलाको वर्तमान अवस्था: चुनौती र अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा स्थानीयले फोहोर गर्नेलाई ५ हजार रुपैयाँ जरिवाना तिराउनुपर्ने माग गरेका छन्।
वडा नं. ८ का स्थानीय कुमार बस्नेतले सूर्यविनायक चोक र मुख्य सडकमै फोहोर थुप्रिँदा पर्यटकीय चोक कुरुप बनेको भन्दै कारबाहीको नीति ल्याउन माग गरे।
अर्का एक महिला सहभागीले सूर्यविनायक चोकदेखि प्रसिद्ध गणेश मन्दिर जाने मुख्य सडकमै जहिल्यै फोहोर तेर्सिने गरेको भन्दै आक्रोश व्यक्त गरिन्।
नगरपालिकाका वातावरण शाखाका प्रमुख माधव घिमिरेले नीतिगत र व्यावहारिक परिवर्तन बिना फोहोर व्यवस्थापन सम्भव नभएको औंल्याए। सहरी विकास मन्त्रालयको पत्राचार अनुसार फोहोर व्यवस्थापनका लागि जग्गा व्यवस्थापन गर्ने प्रस्ताव कार्यपालिकामा पेश भइसकेको जानकारी दिँदै उनले चुनौती समाधानका लागि निजी क्षेत्र र नागरिकसँग सहकार्य गर्न नगरपालिका तयार रहेको बताए।
कार्यक्रममा सहभागीहरूले खोलानालामा ढल र फोहोर मिसाउने कार्य तत्काल रोक्न र फोहोर विसर्जनमा पालिकाले कडा नियमन गर्नुपर्नेमा जोड दिएका थिए।
प्रकाशित: ३ श्रावण २०८३ २२:१४ आइतबार





