वरिष्ठ राजनीतिक विश्लेषक प्राध्यापक लोकराज बरालले आसन्न निर्वाचनमा नेपाली मतदाताहरू निकै परिपक्व र मौन देखिएको भन्दै चुनावको हारजित अन्तिम ४८ घण्टाको चलखेलले निर्धारण गर्ने विश्लेषण गरेका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै प्रा. बरालले विगतका चुनावहरूको तुलनामा यसपटक भड्किलो प्रचारप्रसार नदेखिए पनि भित्री रूपमा चलखेल जारी रहेको बताएका हुन्।
प्रा. बरालले अहिलेका मतदाता कसलाई भोट दिने भनेर खुल्न नचाहेको बताए। ‘मतदाताहरू अहिले मौन छन्, उनीहरूले आफ्नो पत्ता खोलेका छैनन्,’ उनले भने, ‘२०१५ सालदेखि यताका चुनावहरू हेर्दा नेपाली जनता निकै परिपक्व भइसकेका छन्। अब दलहरूले नारा, जुलुस र आश्वासन दिँदैमा जनताले पत्याइहाल्ने अवस्था छैन।’
उनले मतदातामा देखिएको यो मौनता दलहरूका लागि सबैभन्दा ठूलो चुनौती भएको स्पष्ट पारे।
विगतका चुनाव जस्तो यसपटक पर्चा, पम्प्लेट र भित्तेलेखन जस्ता भड्किला प्रचारप्रसार नदेखिएको र चुनाव कम खर्चिलो देखिएको भन्ने जिज्ञासामा प्रा. बरालले बाहिरी आवरण मात्र शान्त रहेको दाबी गरे।
‘निर्वाचन आयोगको कडाइ र जनताको चेतनाले गर्दा बाहिर होहल्ला र तडकभडक कम देखिएको पक्कै हो,’ प्रा. बरालले भने, ‘तर, चुनावमा पैसाको खोलो बग्दैन भन्न सकिन्न। जे जति खेल हुन्छ, पैसाको लेनदेन र प्रभाव पार्ने काम हुन्छ, त्यो सबै चुनावको अन्तिम ४८ घण्टामा हुन्छ।’
प्रा. बरालले छिमेकी मुलुक भारतका विभिन्न प्रान्तका चुनावहरूको उदाहरण दिँदै नेपालमा पनि क्राउड साइकोलोजीले ठूलो प्रभाव पार्ने बताए। यद्यपि, नेपालमा विद्युतीय मेसिन नभई मतपत्रमै भोट हालिने भएकाले प्राविधिक धाँधलीको सम्भावना भने नरहेको उनले प्रस्ट पारे।
‘पार्टीका कार्यकर्ताले समेत यसपटक क्रस भोटिङ गर्ने सम्भावना छ। मान्छेले विवेक प्रयोग गर्ने बेला आएको छ,’ उनले थपे।
प्रकाशित: १३ फाल्गुन २०८२ १९:४७ बुधबार





