भोलि घटस्थापना। दसैँको औपचारिक सुरुवाती दिन। यस्तोमा धेरैको चासो हुन्छ यस पालाको दसैँमा मौसम कस्तो होला भन्ने। किनकि खुलेको मौसमको दसैँ धेरैलाई रमाइलो लाग्छ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको प्रारम्भिक अनुमानअनुसार दसैँ अघिका दिनमा देशका धेरैजसो भागमा मौसम सामान्यतया बदली रहने देखिएको छ। विभागका मौसमविद् गोविन्द झाका अनुसार हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ तर भारी वर्षा वा बाढीपहिरो जस्ता ठुला विपद्का जोखिम भने न्यून देखिन्छ।
तर, सेप्टेम्बर २५ पछि बङ्गालको खाडीमा विकसित हुने मौसमी प्रणालीले नेपालमा मनसुन ढिला बाहिरिने पूर्वानुमान गरिएको छ। यसले विशेष गरी नेपालको पूर्वी सिमानासम्म प्रभाव पार्न सक्ने आङ्कलन छ।
युरोपियन मौसम मोडेलले नेपालकै पूर्वी क्षेत्रमा ठुलो वर्षाको सम्भावना कम देखाएको भए पनि भारतको उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा हुने भारी वर्षाको केही असर नेपालमा पनि पर्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ।
दसैँका मुख्य दिनहरूमा मौसम कस्तो हुन्छ भन्नेबारे अहिले नै ठोकुवा गर्न कठिन भएको विभागको भनाइ छ। विभागले तीन दिनभन्दा लामो अवधिको आधिकारिक पूर्वानुमान नगर्ने परिपाटी भएकाले यथार्थ जानकारीका लागि अझै केही दिन कुर्नुपर्ने बताइएको छ।
समग्रमा यस साताभर मनसुनको प्रभाव कायम रहने देखिएकाले किसान, यात्रु र सर्वसाधारण सबैलाई मौसमको जानकारी लिएर सतर्क रहन मौसम विभागले आग्रह गरेको छ।
प्रकाशित: ५ आश्विन २०८२ ०९:१९ आइतबार





-600x400.jpg)