१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

सीमामा घर, तस्करलाई के डर ?

तारतम्य मिलाउन नसक्ने समातिन्छन्, मिलाउनेको लाइन निर्बाध चल्छ

सिरहाको नवराजपुर गाउँपालिका–५ को सीमावर्ती देवनगरबाट टोलीले गौंडा थापेर समातेको तस्करीका सामानसहित ट्रक र मान्छे। तस्बिर : नागरिक

सीमावर्ती क्षेत्रमा चल्तीको भनाइ छ– बोर्डरमा घर केको डर। जनजिब्रोमा झुन्डिएको यो भनाइ पछिल्लो समय सीमावर्ती क्षेत्रका तस्करका लागि चरितार्थ भएको छ।  

पहिला सर्वसाधारण पारि पुगेर सस्तोमा गुणस्तरीय दैनिक उपभोग्य सामान किनेर सहजरूपमा घरव्यवहार चलाउँथे। वारि महँगाइ बढ्दा पनि उनीहरूका लागि पारिको बजारले दैनिकी सहज बनाएको थियो, तर पछिल्लो समय सरकारी नीतिमा कडाइ अपनाइँदा सर्वसाधारणको दैनिकी बिथोलिन पुगेको छ। तस्करलाई भने यो सरकारी नीतिले सजिलो बनाएको छ। जसकारण सर्वसाधारणको जनजिब्रोमा झुन्डिएको यो भनाइ तस्करका लागि सार्थक बनेको छ।

यसको एक दृष्टान्त हो–सिरहा। सिरहाका नाका क्षेत्र आवरणमा कडाइ देखिएपछि भित्र तस्करी मौलाएको पाइएको छ। यहाँका नाका क्षेत्रबाट चिनियाँ र नेपाली मालवस्तु भारत तस्करी हुने र पारिका मालवस्तु तस्करका माध्यमबाट वारि भित्रिने क्रम थोकमै हुन्छ।

शनिबार राति सशस्त्र प्रहरीको ७ नम्बर गण मुख्यालय सिरहाबाट सशस्त्र प्रहरी उपरीक्षकको कमान्डमा खटिएको टोलीले मिनीट्रकमा मालवस्तु भरेर भारततर्फ तस्करी गर्ने क्रममा दुईजनासहित सो ट्रक नियन्त्रणमा लिइएको छ। स १ ख ५३५ नम्बरको मालवस्तु भरिएको ट्रकसहित सशस्त्र प्रहरी गण सिरहाले नवराजपुर–५ का राजेशकुमार यादव र आनन्द यादवलाई पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाले जानकारी दिए। सो ट्रकमा ओखरसहित कस्मेरिक्सका सामान भरिएको थियो।

रातमा ट्रकको बत्ती बन्द गरेर खेत सम्याएर तयार पारिएको बाटो हुँदै भारततर्फ गइरहँदा सूचनाका आधारमा नवराजपुर गाउँपालिका–५ को सीमावर्ती गाउँ देवनगरबाट नियन्त्रणमा लिइएको थियो। बरामद मालवस्तुको ४० लाख मूल्यांकन गरिएको छ। मालवस्तु, ट्रक र पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइएको छ।

भन्सार कार्यालय माडरका प्रमुख प्रमोद दासका अनुसार सशस्त्र प्रहरीद्वारा बुझाइएका सामान, गाडी र दुईजना व्यक्तिको हकमा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। अनुसन्धान अधिकृत नै तोकेर अनुसन्धान भइरहेको उनले बताए।

जिल्ला न्यायाधिवक्ता कार्यालयको कानुनी परमर्शअनुसार व्यक्तिको हकमा कारबाही अघि बढ्ने भन्सार कार्यालय सिरहाले जनाएको छ। पक्राउ परेको दुईजनालाई अनुसन्धान प्रक्रिया चल्दासम्मका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको दासले बताए। दिनभरि बयानका लागि भन्सार कार्यालयमा राखेर राति प्रहरी हिरासतमा पठाउने गरिएको उनले बताए। अहिलेसम्म भन्सार ऐनको कुन दफाअन्तर्गत मुद्दा चलाउनेबारे टुंगो लागिनसकेको उनले बताए।

सशस्त्र प्रहरी गण मुख्यालय सिरहाको टोलीले नियन्त्रणमा लिएको उक्त तस्करी हुन लागेको मालवस्तु प्रहरीको आँखै अगाडिबाट कसरी बोर्डरसम्म पुग्यो? नवराजपुरमै प्रहरी निरीक्षकको कमान्डमा सशस्त्र प्रहरीको क्याम्प छ। टाँसिएकै सईको कमान्डमा नेपाल प्रहरीको कार्यालय छ। बोर्डरसम्म दुइटै सुरक्षा निकायको गस्ती टोली खटिएको हुन्छ। यस क्षेत्रका लागि राष्ट्रिय अनुसन्धानको जिल्ला कार्यालयबाट पनि कर्मचारी खटाइएको छ।

तीनवटै सुरक्षा निकायको उपस्थिति भएको स्थानमा कसरी यतिका मालवस्तु भण्डारण भए अनि ट्रकमै लोड गरेर पारि तस्करी गर्ने आँट कसरी अयो? यी सबै पक्षलाई सूक्ष्मरूपमा अनुसन्धान भए तस्करीको संगठित सञ्जाल छताछुल्ल हुने एक स्थानीयले बताए। यो तस्करीमा बाहिर आएजस्तो भन्दा डरलाग्दो सञ्जाल रहेको ती स्थानीयले बताए।

पारि लगिरहेको सामान समातेर भन्सार बुझाइए पनि समान लोड भएको गोदामतिर छापा नहानिएकाले स्थानीय छक्क परेका छन्। यो पहिलो वा अन्तिम खेप थिएन ती स्थानीयका अनुसार यसअघि पनि गएकै हो। अर्को खेपका लागि पनि समान भण्डारण गरिएकै थियो। उनले भने, ‘खै के मिलेर वा नमिलेर यो घटना गिजोलियो।’

नवराजपुर गाउँपालिका–५ को सीमावर्ती कुसन्डी नाका भएर मदिराको तस्करी व्यापक रूपमा भइरहेको स्थानीय बताउँछन्। दिनभर सीमामा रहेको मदिरा पसलमा सहरबाट मदिराले भरिएको गाडीले मदिरा भण्डारण गर्छ। रातभर त्यो मदिरा भरियामार्फत पारि पु¥याइन्छ। यो क्रम निरन्तर चलिरहेको छ। पारिबाट दैनिक उपभोग्य वस्तु, हार्डवेयरका सामान तस्करमार्फत भित्रिएर सहरसम्म पुग्छ।

नवराजपुरपूर्व भगवान्पुर गाउँपालिकाको गम्हरियाबाट सिधै दक्षिणको बाटो हुँदै मदिरा तस्करी भइरहेको स्थानीय बताउँछन्। वारिबाट चिनियाँ मालवस्तु पारि तस्करी हुँदै आएको सीमावर्ती क्षेत्रका स्थानीय बताउँछन्।

सुरक्षा अधिकारीहरू तस्करीमा कडाइ गरिएको बताइरहँदा पारिबाट तस्करीका मालवस्तु सहरका पसल र गोदामसम्म आउने क्रम रोकिएको छैन। सहरका गोदामबाट मदिरा, अखरोट, चिनियाँ स्याउ र तेस्रो मुलुकका मालवस्तुको पारि तस्करी पनि ज्यूँका त्यूँ चलिरहँदा स्थानीय भन्छन्, ‘मिलाउन सक्नेको वारिपारि तस्करी चलिरहेको छ, तारतम्य मिलाउन नसक्नेको हो माल समातिने। सीमादेखि सहरसम्म लाइन मिलाउन सक्नेको माल सुरक्षित पुगिरहेको सीमावर्ती क्षेत्रका स्थानीय बताउँछन्। वारिपारिको तस्करीमा दुवैतिरका समूह सक्रिय छन्। सहर, सीमा र पारिका मानिसको संगठित सञ्जालमार्फत हुने तस्करीबारे सीमावर्ती क्षेत्रका सर्वसाधारण मुख खोल्न डराउँछन्।’

प्रकाशित: ५ जेष्ठ २०८३ ०७:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App