२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

जसपा नेता यादवको पक्षमा मलंगवामा प्रदर्शन, जिल्लाभर यातायात ठप्प पार्ने चेतावनी

जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेश अध्यक्ष अशोक यादवको समर्थनमा सर्लाही सदरमुकाम मलंगवामा शुक्रबार प्रदर्शन गरिएको छ।

नेता यादवमाथि प्रहरीले लाएको झुठा मुद्दा खारेज गर्नुपर्ने र सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कामाथि कारबाही हुनुपर्ने माग गर्दै सदरमुकाम मलंगवामा शुक्रबार प्रदर्शन गरिएको हो। जसपा सर्लाहीका कार्यकर्ताहरूले सदरमुकाममा प्रदर्शन गर्दै यादवको पक्षमा तथा एसपी खड्काको विपक्षमा नारा लगाएका थिए।

जसपा नेता यादवविरुद्ध सर्लाही जिल्ला अदालतबाट प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ। गत हप्ता जिल्ला प्रहरी कार्यालय सर्लाहीले यादवलाई पक्राउ गर्न एक हजारभन्दा बढी प्रहरी जिल्लाभर तैनाथ गरिएको जनाएको थियो। अदालतबाट पक्राउ पुर्जी जारी भएको एक हप्ता बितिसक्दा पनि प्रहरीले यादवलाई पक्राउ गर्न सकेको छैन।

गत हप्ता सर्लाहीको मलंगवामा रहेको पूर्वाधार कार्यालयमा प्रहरीको निगरानीमा राति कमीसन दिनेलाई मात्र चेक बनाउने काम गरेको विषयमा यादव र एसपी खड्काबिच गालीगलौज भएको थियो। गालीगलौज लगत्तै सर्लाही प्रहरीको टोली राति नै जसपा नेता यादवलाई पक्राउ गर्न उनको घर पुग्दा प्रहरीको गाडीमाथि स्थानीयले तोडफोड गरेका थिए।

सरकारी काममा बाधा पुर्याएको तथा सरकारी सम्पत्ति गाडीमा क्षति पुर्याएको आरोप लगाउँदै सर्लाही प्रहरीले यादवलाई पक्राउ गर्न अदालतबाट पुर्जी जारी गरेको थियो तर एक हप्ताभन्दा बढी समय बितिसक्दा पनि प्रहरीले उनलाई नियन्त्रणमा लिन सकेको छैन।

घटनाको छानबिनको माग गर्दै सर्लाहीमा कार्यरत विभिन्न पाँच ओटा दलले संयुक्त विज्ञप्ति निकालेर आन्दोलनको चेतावनी पनि दिएका थिए।

मलंगवामा शुक्रबार भएको प्रदर्शनपछि जसपा सर्लाहीका सचिव सोहन झाले सर्लाही प्रहरीले यादवमाथि लगाएको झुठो आरोप तत्काल फिर्ता नलिए शनिबार बलंगवा बजार बन्द गर्ने र जिल्लाभरको यातायात ठप्प पार्ने चेतावनी दिएका छन्।

प्रकाशित: २८ असार २०८२ ०६:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App