१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

शिक्षा अधिकृतको शरीरमा मोबिल छर्किने वडा सदस्य पक्राउ

घोराहीस्थित पद्मोदय पब्लिक नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति निर्वाचनका क्रममा निर्वाचन अधिकृत एवं शिक्षा अधिकृत अजय बोहोरामाथि अमानवीय रूपमा मोबिल छ्यापेर फरार रहेका वडा सदस्य पक्राउ परेका छन्।

घोराही उपमहानगरपालिका–१५ का ४२ वर्षीय वडा सदस्य उत्तम बुढाथोकी (लेखनाथ) लाई प्रहरीले सोमबार घोराहीबाट पक्राउ गरेको हो।

निर्वाचन बिथोल्ने उद्देश्यले वडा सदस्य बुढाथोकीले असार २७ गते बिहान घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका ४८ वर्षीय शिक्षा अधिकृत बोहोरामाथि मोबिल प्रहार गरेका थिए ।

अधिकृत बोहोराले चलाएको रा.१ ब १०४२ नम्बरको मोटरसाइकल बाटोमा रोकी बुढाथोकीले उनको शरीरमा मोबिल छ्यापेर फरार भएका थिए। विद्यालय व्यवस्थापन समितिको निर्वाचन प्रक्रिया गैरकानुनी ढंगबाट अघि बढाइएको आरोप लगाउँदै असन्तुष्ट बुढाथोकीले सो अमानवीय व्यवहार गरेका हुन्।

घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै यसको चौतर्फी विरोध भएको थियो। घटनालगत्तै जिल्ला प्रहरी कार्यालय दाङले यस सम्बन्धमा गम्भीरतापूर्वक अनुसन्धान सुरु गरेको थियो।

पीडित पक्षका तर्फबाट ‘अपमानजनक तथा अमानवीय व्यवहार सम्बन्धी कसुर’ अन्तर्गत आइतबार गते मुद्दा दर्ता गरिएको थियो। दाङ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएलगत्तै प्रहरीले खोजी कार्य तीव्र पारेको थियो।

फरार रहेका बुढाथोकीलाई सोमबार  घोराही उपमहानगरपालिका–१५ मा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका बुढाथोकीमाथि हिरासतमा राखेर थप कानुनी अनुसन्धान भइरहेको छ।

प्रकाशित: २९ असार २०८३ १५:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App