कर्मचारीलाई बिना कारण बर्खास्त गरिएको र पालिकामा आर्थिक अनुशासन कायम गर्न नसकेको भन्दै नेपाली कांग्रेस मिक्वाखोला गाउँपालिका कार्य समितिको अगुवाइमा बुधवार पालिकाको प्रशासकीय भवनमा तालाबन्दी भएको छ।
नेपाली कांग्रेस मिक्वाखोला गाउँपालिका कार्य समिति उपसभापति दीपेन्द्र लिवाङले कोणसभामामार्फत पालिका नेतृत्वबाट जनता कुरा नसुन्ने प्रवृत्ति हाबी भएको, जलविद्युत परियोजनाको सामाजिक उत्तर दायित्व अन्तरगतको रकम पारदर्शी नभएको, बिना कारण कर्मचारी बर्खास्त गरिएको भन्दै उक्त कदम नसचिएसम्म तालाबन्दी कायम रहने बताए।
बुधवार कार्य समितिले प्रमुख प्रशासकीय अधिकृत विमल गौतमलाई पत्र लेख्दै तालाबन्दीको जानकारी गराएका थिए। कार्य समिति उपसभापति लिवाङका अनुसार गौतमलाई लेखिएको यो पत्र अगाडि पालिका अध्यक्ष भक्तबहादुर कार्की र उपाध्यक्ष डण्डु लामालाई ध्यानाकर्षण गराइ सकिएको छ। पत्रबारे पालिका पदाधिकारीबाट कुनै सुनुवाइ नभएकोले तालाबन्दीमा उत्रिनु परेको उनले बताए।
वार्ता र संवाद नगरी जबरजस्ती ताला फोडे थप चरणबद्ध र सशक्त आन्दोलन गर्ने लिवाङको दाबी रहेको छ। तालाबन्दी पछि कार्यालयको कामकाज ठप्प भएको प्रमुख प्रशासकीय अधिकृत गौतमले बताए। २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसको गठबन्धनबाट कार्की अध्यक्ष र लामा उपाध्यक्षमा निर्वाचित भएका हुन्।
प्रकाशित: २१ माघ २०८२ १४:१० बुधबार




-600x400.jpg)
