१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

भैरवस्थान मन्दिरको आम्दानी तीन गुणा बढ्यो

बागलुङ नगरपालिका—१२ मा अवस्थित भैरवस्थान मन्दिर । तस्विरः संगम/नागरिक ।

बागलुङ नगरपालिका—१२ अमलाचौर स्थित भैरवस्थान मन्दिरको आम्दानी तीन गुणा वृद्धि भएको छ । भैरवस्थान मन्दिर व्यवस्थापन समितिले आफै पूजा सञ्चालन गरेपछि तीन गुणाले आम्दानी बढेको व्यवस्थापन समितिका कोषाध्यक्ष चन्द्रबहादुर केसीले बताए ।

‘हामीले गत आर्थिक वर्षबाट गुठी संस्थानको अनुमति लिएर आफै पूजा सञ्चालन गर्न थालेका छौँ,’कोषाध्यक्ष केसीले भने, ‘त्यसले गर्दा आम्दानी राम्रो भएको छ । पहिले पहिले ठेक्कामा लगाउँदा तीन चार लाखमा ठेक्का हुन्थ्यो । अघिल्लो पटक गरिएको ठेक्कामा ९ लाखमा ठेकेदारले जिम्मा लिएका थिए । गत आर्थिक वर्षबाट हामीले सञ्चालन गरेका छौँ । एक वर्षमा २७ लाख आम्दानी भएको छ ।’

२०७९ सालमा जेठ ३२ गतेबाट गुठी संस्थानले आफूहरूलाई व्यवस्थापन समितिमा नियुक्त गरेपछि मन्दिरको भौतिकसँगै पूजा व्यवस्थापनमा सुधार गरेको उनले जानकारी दिए । ‘२०७९ सालको असार ३२ गते हामीलाई व्यवस्थापन समितिको जिम्मा दिइयो, त्यति बेला मन्दिरको माइन्युट पनि थिएन, हामीले पुरानो माईन्युट समेत पाएनौँ,’उनी भन्छन्,‘हामी आएपछि सचिवालय व्यवस्थापनदेखि लिएर पूजाको व्यवस्थापन र भौतिक संरचनाको सुधारमा ध्यान दिएका छौँ ।’ भैरव स्थानमा विगतमा मंगलबार र शनिबार मात्रै पूजा हुने गरेकोमा अहिले सातै बार पूजा गर्ने व्यवस्था मिलाएको उनले बताए ।

‘हामीले मासिक १५ हजार तलब दिएर पुजारी राखेका छौँ, अहिले दैनिक पूजा हुन्छ,’उनले भने,‘अन्य व्यवस्थापनका लागि १० हजारमा एक जना कर्मचारी पनि राखेका छौँ। जसले गर्दा आम्दानीमा पनि वृद्धि भएको छ ।’ अघिल्लो समितिले नेपाल बैंकमा राखेको ७ लाख रुपैयाँ मात्रै आफूहरूले पाएको भन्दै केसीले अहिले ४० लाख रुपैयाँ विभिन्न बैङ्कको खातामा रहेको उल्लेख गरे । ‘हामीले भौतिक निर्माणका कामलाई अगाडि बढाएका छौँ, गेट निर्माण ग¥यौं, सचिवालय व्यवस्थापन ग¥यौं,’उनले भने,‘अहिले हामी बसिरहेको भवन पनि २७ लाख रुपैयाँको हो । यी संरचनाहरूमा हामीले नेपाल सरकारका विभिन्न निकाय, बागलुङ नगरपालिकासँगै मन्दिरको आम्दानी पनि प्रयोग गरेका छौँ । अबको ध्यान हाम्रो मुख्य मन्दिरको पुनः निर्माणको गर्नेमा केन्द्रित गर्दैछौं ।’

मन्दिर पुनः निर्माण गर्ने भनेर सञ्चालन गरिएको क्युआर मार्फत सहयोग अभियानमा ७ लाख बढी संकलन भएको उनले जानकारी दिए । अहिले मन्दिरको नाममा ११ रोपनी ५ आना २ दामको जग्गा रहेको र कुल भौतिक सम्पत्ति एक करोड चार लाख २५ हजार बराबरको रहेको उनले जानकारी दिए । ‘अहिले पनि यो मन्दिर सार्वजनिक जग्गामा छ, अब हामी यसलाई मन्दिरकै नाममा लालपुर्जा निकाल्ने प्रयासमा छौँ,’उनले भने ।  मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले आफुहरु व्यवस्थापन समितिमा आएपछि विभिन्न भौतिक संरचनाहरुको निर्माण गरेको बताए।

‘१० लाखको लागतमा पहिले त सचिवालय व्यवस्थापन ग¥यौं, चौरमा बस्नुपर्ने अवस्था थियो,’उनले भने,‘संघीय सरकारको सशर्त बजेटमा २७ लाख खर्च दुई तलाको भवन बनाएका छौँ । बागलुङ नगरपालिकाले हरेलो मेलामा बोलेको ५ लाख रकममध्ये ३ लाख ४८ हजार रुपैयाँ जोगाएर त्यसमा मन्दिरका पनि रकम थपेर गेट निर्माण गरेको छौँ।’ वन कार्यालयको २० लाखबाट ढुङ्गा बिछ्याउने र पोखरी निर्माण गर्ने कार्य सम्पन्न भएको उनले जानकारी दिए । अध्यक्ष ढकालका अनुसार सामाजिक विकास कार्यालय मार्फत १० लाखमा चारकोठ शौचालय निर्माण गरिएको छ भने दक्ष पौडेलले एक लाख ८० हजार खर्च गरेर खानेपानीको धारो निर्माण गरिदिएका छन् ।

भैरवस्थान मन्दिर परिसरमा स्थानीय एकबहादुर केसी संगमको परिवारले निर्माण गरेको गणेश मन्दिर अन्तिम चरणमा पुगेको छ । मन्दिरको आन्तरिक स्रोतबाट ११ वटा व्यापारिक सटर निर्माण गरिएको छ । त्यसबाट अहिले मासिक ३० हजार आम्दानी भइरहेको उनले जानकारी दिए । ‘चौरमा बसेर डोकोमा पूजा सामग्री विक्री गर्नुपर्ने बाध्यता थियो, दर्शनार्थीहरु मन्दिर दर्शन गरेपछि खाजा खाने ठाउँ पनि थिएन,’अध्यक्ष ढकाल भन्छन्,‘सटर निर्माण गरेपछि पूजा सामग्री विक्री गर्नेलाई पनि सजिलो भएको छ र दर्शनार्थीहरु खाजा खानका लागि पनि ठाउँ भएको छ ।’

पहिलो दुई वर्षे कार्यकालका लागि नियुक्त भएको व्यवस्थापन समितिको फेरी तीन वर्षे कार्यकालका लागि गुठी संस्थानले नियुक्ती गरेको उनले बताए । ‘अहिले फेरी गुठी संस्थानले हामीलाई नै थप तीन वर्षको जिम्मेवारी दिएको छ,’उनले भने,‘अब हाम्रो उद्देश्य भनेको मन्दिरको पुनः निर्माण नै हो ।’ मन्दिर पुनः निर्माणका लागि संघीय सरकारमा प्रस्ताव पेश गरिएकोमा तीन करोड भन्दा तलको योजनामा बजेट नराख्ने भनेर अहिले बजेट नपरेको उनले बताए । मन्दिरमा आउने दर्शनार्थी र मन्दिरको समेत सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर सिसी क्यामेरा समेत जडान गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव भीम पौडेलले जानकारी दिए ।

शनिबार मन्दिर व्यवस्थापन समितिले भैरवस्थान मन्दिर परिसरमै पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी मन्दिरको हालसम्मको गतिविधि र आगामी योजनाबारेमा जानकारी गराएको हो । बागलुङ नगर उपप्रमुख राजु खड्काले भैरवस्थान बिस्तारै बागलुङ नगर क्षेत्रभित्रको प्रमुख धार्मिक एवं पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गइरहेको बताए । ‘बिस्तारै प्रचार प्रसार यहाँको भौतिक विकास हुँदै गएपछि अहिले राम्रो गन्तव्यको रुपमा स्थापित हुँदैछ,’उनले भने,‘बागलुङ कालिका दर्शन गर्न आउनेहरूलाई यहाँ पनि आउनुपर्छ भनेर जोड्न सकियो भने अझ यहाँको थप विकास हुनेछ ।’

भैरवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भीम पौडेलले गरेका थिए । 

प्रकाशित: ११ श्रावण २०८२ १७:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App