जिल्ला प्रहरी कार्यालयले कालीगण्डकी नदीबाट अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने सवारीसाधन नियन्त्रणमा लिएको छ। प्रहरीले नदी आसपास र विभिन्न सडकखण्डमा चाँच गर्दा पाँच वटा सवारीसाधन नियन्त्रणमा लिएको हो।
अवैध रूपमा बालुवा उत्खनन गरी ढुवानी गर्दै गरेको अवस्थामा प्रहरीले दुई वटा टिप्पर र तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए। उनका अनुसार ती सवारीसाधन बागलुङ नगरपालिका-१ मालढुङ्गाबाट नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएका सवारीसाधनलाई कारबाहीका लागि बागलुङ नगरपालिकामा पठाएको प्रहरी नायब उपरीक्षक त्वातीले जानकारी दिए। उनले भने, 'सवारी चेकजाँचका क्रममा अवैध रूपमा उत्खनन गरी ओसारपसार गरिरहेका सवारीसाधनलाई नियन्त्रणमा लिएका छौँ। ती सवारीलाई नगरपालिकाले जरिवाना गर्नेछ। प्रहरीले ठाउँठाउँमा पाँच गर्दै आएको छ, अवैध भएको थाहा पाउनासाथ नियन्त्रण लिन्छौँ।' रासस
प्रकाशित: ३० जेष्ठ २०८३ २१:२० शनिबार





