१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

वनसमिति-कसरौल सडक जोखिमपूर्ण

शुक्लाफाँटा नगरपालिकाको नगर गौरवको योजना चक्रपथको उत्तरतर्फको सडक खण्ड अन्तर्गत पर्ने वनसमिति-कसरौल सडक जोखिमपूर्ण रहेको छ। सडकको दायाँबायाँ सुकेका साल  रअसनाका रुखका कारण जोखिम छ।

जुनसुकै बेला गुडिरहेका सवारीसाधन र पैदलयात्रुमाथि रुखका हाँगा र रुख नै खसेर दुर्घटना निम्तिन सक्ने खतरा छ। स्थानीय रतनलाल रानाका अनुसार सडकमा हिंड्दै गरेका स्थानीय ६० वर्षीय फिरुवा रानाको सुकेको रुखको हाँगाले लागेर केही वर्षअघि मृत्यु भएको थियो।

विद्यार्थी बोकेर जाँदै गरेको स्थानीय विद्यालयको बसमा सुकेको रुख खसेको थियो। बसमाथि रुख खसे पनि मानवीय क्षति भने नभएको उनी बताउँछन्। “स्थानीय रामदिन रानाको गाई, गोरु बाँधेको गोठमाथि नै रुख खस्यो”, उनले भने, “गोठमा क्षति पुग्यो तर वस्तुभाउ जोगिए, गत वर्ष मात्रै दानु रानाको घरको कुना तोड्दै रुख खस्यो, धन्न घर जोगियो घरभित्रै परिवारका सदस्य थिए, सबै जोगिए।”

सुकेका रुखहरूकै कारण दुर्घटना निम्तिन थालेपछि सडकमा हिंड्न डराउनुपर्ने अवस्था रहेको उनी बताउँछन्। पुराना सुकेका जीर्ण भएका रुख जुनसुकै बेला खस्न सक्ने भएकाले हटाउनुपर्ने पूर्व वडाध्यक्ष जगता रानाले बताए।

“विगतमा सुकेका रुखकै कारण मानवीय क्षति भइसकेको छ”, उनले भने, “हावाहुरी चलेका बेला, चट्याङ परेका बेला र वर्षातका बेला ज्यान हत्केलामा राखेर हिंड्नुपर्ने बाध्यता छ। यस क्षेत्र भएर जाने अर्को वैकल्पिक सडक छैन, जोखिमसँगै हिंड्नुपर्छ।”

उनका अनुसार सडकछेउ घर भएकाले रुख कुन बेला खस्ने हुन् पत्तै छैन। स्थानीय जहरसिंह रानाले भने, “गाडी चल्ने बेला रुख खसेर दुर्घटना हुने सम्भावना छ, पैदल यात्रुको टाउकामा कुन बेला रुखका हाँगा र रुख नै बजारिने हो पत्तो छैन, हावाहुरी चलेका बेला त्यस सडक भएर हिंड्नु भनेको ज्यान जोखिममा पार्नु हो। त्यही भएर वर्षात् र हावाहुरीका बेला त्यो सडक भएर हिंड्नै छाड्छौं।” सडकछेउका जीर्ण रुख व्यवस्थापन गरिदिने उनी माग राख्छन्।

वनसमितिदेखि कसरौलसम्मको डेढ किलोमिटर सडक कालोपत्रका लागि पूर्वाधार विकास कार्यालयले तीन करोडमा ठेक्का सम्झौता गरेको शुक्लाफाँटा नगरपालिकाका इञ्जिनियर दिपक धाँमीले बताए। “सुकेका जीर्ण रुख व्यवस्थापन नभई कार्य सञ्चालन गर्न कठिन छ”, उनले भने, “सडक स्तरोन्नतिदेखि कालोपत्रसम्मका लागि वातावरण अध्ययन र डिपिआर निर्माण भएको छ, सुकेका रुख काट्ने अनुमति अहिलेसम्म पाइएको छैन।”

अनुमतिका लागि नगरपालिकाले पहल गरिरहेको उनको भनाइ छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएकाले निकुञ्ज सम्बद्ध मन्त्रालयसँग कटानी आदेशका लागि पत्राचार गरिएको उनले बताए। वडाध्यक्ष दानसिंह ऐरका अनुसार वनसमिति–कसरौल सडक वडा नं. ६, ७ र ८ तर्फ जाने मुख्य सडकका रूपमा रहेको छ।

वडा कार्यालय, स्वास्थ्य चौकी र खानेपानी लगायत कार्यालय जाने मुख्य सडक त्यही नै रहेको छ। “सुकेका रुख व्यवस्थापनका लागि निकुञ्जसँग समन्वय गरेका छौं”, उनले भने, “वन मन्त्रालयको टोलीले त्यस क्षेत्रको स्थलगत अवलोकन गरिसकेको छ, समस्या लिएर मन्त्रालयसम्म पुगेका छौं।”

उनका अनुसार सडक छेउका १०५ रुख हटाउनुपर्ने देखिएको छ। त्यसका लागि प्रारम्भिक वातावरणीय परीक्षणका लागि निकुञ्ज कार्यालयले स्थलगत प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा पेस गरेको छ। स्थानीयले तत्काल असुरक्षित रुख काटेर हटाउनुपर्ने, सडक कालोपत्रसँगै चौडाइ बढाउन माग गरेका छन्।  

प्रकाशित: ३० श्रावण २०८२ १३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App