३ पुस २०८२ बिहीबार
image/svg+xml
समाज

जेनजी २.० र जेनजी युनाइटेड मुभमेन्ट फर परिवर्तनबिच एकता

जेनजी २.० र जेनजी युनाइटेड मुभमेन्ट फर परिवर्तन एक भएका छन्। मंगलबार रिपोर्टस् क्लव नेपालमा दुवै समूहले हस्ताक्षर गरी संयुक्त रूपमा एकता घोषणा गरेका छन्। हस्ताक्षर समारोहमार्फत दुवै समूहले जेनजी पुस्ताको आन्दोलनलाई एक ढिक्का बनाएर अघि बढाउने निर्णय सार्वजनिक गरेका हुन्।

एकता दस्तावेजमा जेनजी आन्दोलनले उठाएका मुद्दालाई दीर्घकालीन संस्थागत स्वरूप दिँदै अभियानलाई पारदर्शी, उत्तरदायी र जनमूलक बनाउने लक्ष्य राखिएको छ। दुवै पक्षले विगतमा छुट्टाछुट्टै रूपमा चल्दै आएको संरचनालाई एउटै प्लेटफर्ममा ल्याउन सहमत भएका छन्।

दुबै समूहले अबदेखि संयुक्त रूपमा 'जेनजी युनाइटेड मुभमेन्ट फर परिवर्तन (२.०)' नाम प्रयोग गर्ने निर्णय गरेका छन्। नेतृत्व संरचना, आन्तरिक संयोजन र अभियानको कार्ययोजना चरणबद्ध रूपमा सार्वजनिक गर्ने तयारी गरिएको छ।

एकता घोषणा कार्यक्रममा उपस्थित नेतृत्व र सदस्यहरूले सबै जेनजी युवालाई यस साझा अभियानमा जोडिन आह्वान गर्दै, परिवर्तनको यात्रालाई अझ सशक्त बनाउने प्रतिज्ञा गरे।

कार्यक्रममा जेनजी २.० का प्रवक्ता अबिन लिम्बूले अभियानमा संलग्न सबैलाई फाइदा लिनेका लागि नभई नयाँं पुस्ताले खोजिरहेको परिवर्तनका लागि जोडिएको बताए। उनले भने, 'हामी कसैले पनि व्यक्तिगत लाभ वा पदका लागि लागेको होइनौं। यो पुस्ताको साझा सपना हो। सबै सवै जेनजीलाई खुला रूपमा स्वागत गर्न चाहन्छौं।' उनले अभियानमा संलग्नता नीतिगत, पारदर्शी र निःस्वार्थ सेवा भावनामा आधारित रहने स्पष्ट गरे।

जेनजी २.० का सदस्य–सचिव कुन्दन कुसुवाका अनुसार एकतासँगै आन्दोलनले लिएको दिशा अझै संगठित र प्रभावकारी बन्नेछ। युनाइटेड मुभमेन्ट फर परिवर्तनका बरुण यादव र सदिच्छा राईले पनि सहमतिपत्रमा हस्ताक्षर गर्दै जेनजी पुस्ताको आवाजलाई एकीकृत रूपमा अघि बढाउनु वर्तमान आवश्यकता भएको बताए। उनीहरूले पूर्वाधार, शिक्षा, रोजगार र अवसरको सवालमा युवापुस्ताको आवाजलाई राज्यसम्म पुर्‍याउने मुख्य लक्ष्य साझा रहेको उल्लेख गरे।

एकता प्रक्रियामा सक्रिय समन्वयकर्ता गौरव देवकोटाले दुवै समूहलाई एउटै उद्देश्यले जोडिएको बताए। 'जेनजी आन्दोलन कसैको निजी स्वार्थ होइन, पुस्ताको भविष्यको प्रश्न हो भने। अब सबैकुरा एउटै मोडेलमा बसेर अघि बढ्छ,' उनले भने।

प्रकाशित: १६ मंसिर २०८२ १६:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App