२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

उदयपुर सिमेन्टको बिक्री सुचारु

बोरा अभावमा ३ महिनाभन्दा बढी समययता गोदाममा थन्किएको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेको गैँडा छाप सिमेन्ट बिक्री सुचारु भएको छ।

पूर्ण सरकारी स्वामित्वको उद्योगको उत्पादन सिमेन्ट बोरा व्यवस्थापन भएसँगै बिक्री सुचारु भएको हो।

प्याकिङ गरेर बेच्ने बोरा अभावमा सिमेन्ट बिक्री रोकिएको ३ महिनाभन्दा बढी भइसकेको थियो। गोदाममा थन्किएर रहेको झन्डै ७० हजार बोरा बराबरको क्लिंकर बोरा नहुँदा बेच्न नपाएको उद्योगले केही दिनअघि बोरा बन्दोबस्त गरेसँगै सिमेन्ट बिक्री सुरु भएको निमित्त महाप्रबन्धक (जिएम) वैद्यनाथ झाले बताए।

झाका अनुसार वैशाख तेस्रो सातातिर बोरा सकिएपछि बिक्री रोक्नुपर्दा करोडौँ मूल्य पर्ने सिमेन्टको क्लिंकर गोदाममै थन्किएको थियो। मौज्दात बोरा सकिए पनि नयाँ खरिद गर्न उद्योगसँग पैसा नभएका कारण क्लिंकर थन्किएको हो।

अघिल्लो निमित्त जिएम कोविद काफ्ले उमेर हदका कारण अनिवार्य अवकाशमा गएसँगै उद्योगको बोरा खरिद प्रक्रिया अवरुद्ध भएको थियो।

झाले निमित्त जिएमको जिम्मेवारी लिएपछि तत्काल बोरा व्यवस्थापन गर्ने प्रयास गर्दै हाललाई वैकल्पिक उपाय अपनाएर सिमेन्ट बिक्री सुचारु गरेका हुन्। तत्काललाई ५३ हजार १ सय ८७ थान बोरा खरिद गरेर सिमेन्ट बिक्री सुरुवात गरिएको हो।

प्रतिबोरा ७ सय २५ रुपैयाँ मूल्य कायम रहेको सिमेन्ट बुधबार बिहानसम्म ७ सय २० बोरा बिक्री गरेर उद्योगमा ५ लाख २२ हजार रुपैयाँ जम्मा भएको छ।  मध्यान्हदेखि भने वर्षा भएकाले बिक्री कार्यमा केही असर परे पनि दिउसोदेखि पुनः सुचारु भएको छ। खरिद गरिएको बोरा संख्याभन्दा बढी नै क्लिंकर गोदाममा मौज्दात रहेको बताइएको छ।

‘हामीसँग ७० हजार बोरा हाराहारी सिमेन्ट परिमाणको क्लिंकर गोदाममा मौज्दात छ’ निमित्त जिएम झाले भने ‘बोरा नभएर मात्र यतिका दिनसम्म बिक्री रोकिएको हो, बल्ल बोरा व्यवस्था गरेर बिक्री सुरु गरेका छौँ।’

झाका अनुसार यसअघिको व्यवस्थापनले उद्योगलाई प्राप्त बोरालगायत कच्चा पदार्थको भुक्तानी सप्लायर्सलाई गर्न बाँकी रहेकाले चाहिएको बेला बोरा उपलब्ध नभएको हो।

उद्योगले सप्लायर्स कम्पनी आशीर्वाद पोलिस्याक्स चितवनमार्फत बोरा आपूर्ति गर्दै आएको थियो। तर, सो सप्लायर्सले पाउनुपर्ने ३८ लाख रुपैयाँ लामो समयदेखि भुक्तानी नपाएको भन्दै उद्योगलाई बोरा दिन इनकार गरेको थियो।

निमित्त जिएम झाले सोही सप्लायर्ससँग समन्वय गरेर केही दिनभित्र भुक्तानी गर्ने सर्तमा बोरा मगाएपछि सिमेन्ट बिक्री सुचारु भएको हो।

मौज्दात क्लिंकर बराबरको सिमेन्ट सबै बिक्री गर्न सकेमा उद्योगलाई ५ करोड बढी आमदानी हुने प्रशासन महाशाखा प्रमुख गम्भीरजंग खत्री बताउँछन्।

उनका अनुसार सो रकमबाट सप्लायर्सहरुको बक्यौता भुक्तानी गरेर उद्योग सुचारु गर्नेतर्फ छलफल भइरहेको छ। उद्योग सुचारु गर्न सकेमा थप क्लिंकर उत्पादन भएर बिक्री नियमित बनाउन पाए थप आमदानी हुने ठहर उद्योग प्रशासनको छ।

लामो समयदेखि बन्द हुँदै सुचारु हुँदै आएको उद्योगमा कार्यरत कर्मचारीले विगत १६ महिनादेखि तलब भत्ता खान पाएका छैनन्। स्थायी कर्मचारीको नियमानुसार सञ्चित गर्नुपर्ने संचयकोष र नागरिक लगानीकोष वापतको रकम जम्मा गरिएको छैन।

त्यसैगरि अवकाश प्राप्त कर्मचारीको उपदानबापत दिनुपर्ने रकम बक्यौता अर्ब हाराहारी पुगिसकेको छ। विद्युत् महसुल पनि करोडौँ बक्यौता पुगिसकेको छ।

हाल उद्योगमा १ सय ७२ जना कर्मचारी, ५९ जना न्यूनतम पारिश्रमिकधारी सुरक्षाकर्मी कार्यरत रहेका छन्।

प्रकाशित: २७ श्रावण २०८३ १७:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App